काठमाडौं । नेपाललाई भारत सरकारले कोभिड–१९ विरुद्धको १० लाख मात्राको खोप सहयोग गरेको छ । उक्त खोप सम्भवतः बिहीबार नेपाल आइपुग्ने छ । भारतले अनुदानका रुपमा खोप दिन लागेको हो । उसले नेपालसहित भुटान, बंगलादेश, माल्दिभ्स, म्यान्मार र सेसेल्सलाई पनि खोप अनुदान सहायतास्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । नेपालले कुल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउन उपयुक्त जनसङ्ख्याका रुपमा तय गरिसकेको छ ।
बुधबार मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलनमार्फत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ह्रदयेश त्रिपाठीले र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालेछिट्टै खोप आइपुग्ने जानकारी दिए । मन्त्री त्रिपाठीले भारत सरकारले प्रतिकूलावस्थामा पनि औषधिलगायत आपूर्ति जारी राखेकामा सराहना व्यक्त गर्दै खोप अनुदान सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिए ।
सीमित देशका सीमित क्षेत्रमा मात्रै खोप उत्पादन हुँदै आएको जानकारी दिँदै उनले भारतले दिन लागेको खोप नेपाली परिवेशअनुसारको भण्डारण र ढुवानी गर्न सक्ने रहेको बताए । खोप उपलब्ध हुनुलाई नेपाल–भारतका बीचको मित्रताको अनुपम उदाहरणका रुपमा लिँदै उनले भारत नेपाल र छिमेकीका विषयमा उपयुक्त निर्णय गरी अघि बढेकामा धन्यवाद दिए । आगामी दिनमा पनि खोपको खरिदमा भारत सरकारको सहयोग महत्वपूर्ण हुने उनको भनाइ थियो । उनले अहिले उपलब्ध खोप पर्याप्त नभएकाले बाँकी पारदर्शी रुपमा खरिद प्रक्रिया अघि बढाइने बताए ।
भारतीय राजदूत क्वात्राले भारतमा खोप बनेको एक हप्ताभित्रै खोप पाउने केही मुलुकमध्ये नेपाल एक रहेको जानकारी गराए ।“खोप आउनु भनेको यहाँका जनता पहिलो प्राथमिकतामा पर्नु, दुई देशको मित्रता प्राथमिकतामा पर्नु हो र छिमेकीलाई पहिलो प्राथमिकतामा राख्नु हो”, राजदूत क्वात्राले भने, “यसको प्रभावकारिता ७० प्रतिशत हुने अति महत्वपूर्ण कुरा हो ।” उनले नेपालमा पनि खोपको सफल उत्पादनको आशा व्यक्त गरे । उनले विश्वमा सफल खोपमध्ये दुई भारतमा बनेको जानकारी दिए ।