काठमाडौँ। माघ १५ देखि श्रीस्वस्थानी ब्रत कथा सुरु भएसँगै नेपालका राजनीतिक दलहरुले राजाको खोजी गरिरहेको कुरा व्यक्त रुपमा सार्वजनिक हुन थालेका छन् । श्री स्वस्थानी कथामा लावण्य देशमा हात्तीलाई माला दिएर राजाको खोजी गर्न पठाएको र नवराज राजा फेला परेपछि उनकै जीवनको वरिपरि फेरो मार्दै श्रीस्वस्थानीको ब्रत कथा टुंगिएको पाइन्छ ।
पहिले अव्यक्त रुपमा सत्तामा ‘भ्याकुम’ सिर्जना भएको कुरा गर्दै आएका राजनीतिक दलहरु अहिले त्यो भ्याकुम उनीहरु आफैले फालेको राजसंस्थाको अनुपस्थितिले निम्त्याएको हो भन्ने अर्थलाग्ने गरी लाज नमानिकन व्यक्त गर्न थालेका छन् । यो नेपाली राजनीतिमा एक बिडम्बनाको कुरा हो ।
गणतन्त्र स्थापना पछिको पहिलो निर्वाचित सरकारले नै आफूले टेकेको संसद विघटन गर्ने वातावरण बन्नु आफैमा यसको दुःखद उद्घाटन हो । यस घटनासँगै देश हाँकिरहेका प्रम ओलीदेखि राजाफाल्ने युद्ध र आन्दोलनको नेतृत्व गरेका तात्कालीन विद्रोही नेता प्रचण्डसमेत एक-अर्कामा उछिनपाछिन गर्दै हानथाप गरिरहनु अर्को विडम्बना हो ।
श्रीस्वस्थानीको कथामा वर्णित पात्र र घटनाक्रमलाई सापटी लिने हो भने अहिले बहुमतप्राप्त हात्तीपार्टी नै सूँढमा माला लिएर कतै ‘राजाको खोजी’मा निस्किएको त होइन भन्ने आशंका जनस्तरसम्म पुगिसकेको छ । यो कुरा सत्य ‘हो’ वा ‘होइन’ भनेर नेकपाले मुखले भनेर सुख पाउने स्थिति पनि देखिदैन । व्यवहारतः त्यसलाई ‘हो’ वा ‘होइन’ भनी सिद्ध गर्नुपर्ने छ ।
प्रकट रुपमा राजंस्था पुनस्र्थापनाको कुरा नउठाइए पनि यो इष्यु चर्चामा भने आएकै देखिन्छ । राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले सहज र स्पष्ट भाषामा सबै राजनीतिक दलहरु मिलेर राजसंस्था पुनस्र्थापना गर्छौं भनी दिएको अभिव्यक्तिले भूसको आगो झैं सल्किएको सत्ता रिक्तताको अवस्थालाई उजागर गरेको देखिन्छ ।
भारतीय जासुसी संस्था रअका प्रमुख सामन्त गोयल र प्रम ओली बीचको भेटघाटबारे मुख खोल्ने क्रममा ओलीले मोदीलाई इंगित गरी ‘दुत पठाउँछु भन्थे, सामन्त पो पठाएछन्’ भनी दिएको अभिव्यक्तिको पनि संकेत राजसंस्था पुनस्र्थापनाको इष्युतिरै सोझिन्छ । त्यसो त प्रचण्डले पनि ‘हामी राजा बोक्न तयार छैनौ’ भनी बारबार अभिव्यक्ति दिने गरिरहेका छन् ।
नेपाली राजनीतिमा एउटा विडम्बना के रहिआएको छ भने नेताहरुले जे गर्दैनौ भनेका हुन्छन्, त्यही गरिरहेका हुन्छन् र जे गर्छौं भनिरहेका हुन्छन्, त्यो गरिरहेका हुँदैनन् । त्यसैले श्रीस्वस्थानीको कथा सुरु भएसँगै राजाको खोजीको कुरा नेताहरुकै मुखारविन्दबाट सुनिनु संयोग मात्र हो या योजना र सेटिङमा ? हेर्न भने बाँकी छ ।