काठमाडौं । मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलोपटक मकाउमा उडान गर्ने भएको छ ।
नयाँ गन्तव्यको रुपमा मकाउमा पहिलोपटक चार्टर्ड उडान गर्न लागिएको निगमले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उडान हुन लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् । निगमको ‘न्यारोबडी ए ३२०’ जहाजले चार्टर्ड उडान भर्नेछ ।
कोभिड–१९ का कारण मकाउमा रोजगारी गुमाएर अलपत्र परेका नेपालीलाई घर फर्काउन निगमको जहाजले चार्टर्ड उडान गर्न लागेको हो । निगमका अनुसार आज राति ११ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मकाउका लागि जहाज उड्ने र बुधबार बिहान १०ः५० बजे काठमाडौँ अवतरण गर्नेछ ।