काठमाडौं । सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ । होटल तथा पर्यटन व्यवसायका प्रतिनिधिहरुसहित मंगलबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा बोल्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अति प्रभावित पर्यटन क्षेत्र जस्ता व्यवसायिक क्षेत्रहरुलाई नै उत्थान गर्ने गरि सरकारले आर्थिक राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रमहरु ल्याएको जनाएका हुन् । अर्थमन्त्री पौडेलले कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा सरकारले तिब्रतर जोड दिने उनले व्यवसायीहरुसँग प्रतिवद्धता जाहेर गरे ।
अर्थमन्त्री पौडेलले बजेट, मौद्रिक नीति लगायतमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या समाधानका लागि अग्रसरता लिएर अघि बढ्ने भन्दै परिस्थितिलाई ध्यान दिइ अघि बढन् र कठिनाइ परे सरकारले सहजीकरण र सहयोग गर्न समेत पछि नपर्ने जनाए ।
अर्थमन्त्री पौडेलले कोभिड–१९ को भ्याक्सिन आइसकेपछि स्थिति सहज हुने विश्वास व्यक्त गर्दै भने, ‘पर्यटन र होटल क्षेत्रमा परेको अप्ठायाराप्रति हामी निकै संवेदनशील छौं । तपाईँहरु अघि बढ्नुहोस्, सरकार तपाईहरुको साथमा छ ।’ उनले पर्यटन व्यवसायको क्षेत्रमा विद्युत डिमाण्ड शुल्क छुटका लागि भएको मागका सम्बन्धमा थप छलफल गरिने बताए ।