रोल्पा जिल्लाको नाम सुन्ने बित्तिकै मानिसले जनयुद्धको उद्गमस्थल भनेर चिन्छन् । यो कुरा बढि सत्यताको नजिक पनि छ । तर अहिले यो प्राविधिक शिक्षाको प्रयोगको थलो बन्दै गएको छ । बिकट भौगोलिक बनावट भएपनि कृषि उत्पादनका हिसाबले यहाँ केही सहजता छ । भौगोलिक बिकटताको धनी रोल्पा जिल्लाको पश्चिमी क्षेत्र झन बिकट छ ।
यो भूगोलमा जन्मिएको साबिक दुईखोली गाउँ विकास समिति स्थानीय सरकार निर्माणसँगै केही साबिक गाबिसमा बिस्तार भएर परिवर्तन गाउँपालिका बनेको छ । यस गाउँपालिकाको वडा नम्बर ५ मौलाबोटमा नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय रहेको छ । पछि नमूना बनाइएको यो मा.वि. को स्थापनाकालको नाम श्री नेपाल राष्ट्रिय प्रा.वि. रहेको पाइन्छ ।
त्यतिबेलाको समयमा राष्ट्र र राष्ट्रियताको पक्षमा एक प्रकारको उभार नै आएको थियो । समय थियो- पञ्चायती कालको । शिक्षाको ज्योति बल्दै थियो । गाउँघरका पाखापखेरीमा गीत नै गाइन्थे- ‘झुल्यो रे रेलिमाइ धानको बाला झुल्यो, पढौं रे रेलिमाइ गाउँमा स्कूल खुल्यो ।’
हरेक विद्यालयका नामका अगाडि या त ‘राष्ट्रिय’ शब्दावली प्रयोग गरिन्थ्यो, या त देशभक्तको नाम राखिन्थ्यो । राष्ट्रियता झल्कने खालका शब्द निकै प्रिय थिए । मौलाबोटमा रहेको विद्यालय पनि यो फ्लेवर, रंग र सोचबाट अछुतो रहन सक्दैनथ्यो । उक्त विद्यालयको न्वारान गरियो- श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय । भवन निर्माणपछि उक्त विद्यालयले २०२० सालमा पढाइ सुरु गर्ने अनुमति पायो ।
पढाइ चल्दै गयो । विद्यालयले गति लिँदै गयो । पछि समय पनि परिवर्तन हुँदै गयो । २०५२ सालमा जनयुद्ध सुरु भयो । युद्ध कालमा सो विद्यालय तोडफोड भयो । माओवादीभन्दा पनि सरकार पक्षबाट केही बढि क्षति पुर्याइयो । तोडफोडका क्रममा विद्यालयका महत्पूर्ण अभिलेख नष्ट भए ।
स्थापना कालमा प्रा.वि. तहको पढाइ हुने सो विद्यालय २०३६ देखि निम्न माध्यमिक विद्यालय बनेको र कक्षा ७ सम्म पढाइ हुने गरेको पाइन्छ । कारण राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू भएसँगै २०२८-२०३२ ले १-३ प्रावि ४-७ निमावि ८-१० मावि सञ्चालन गर्ने गरी शिक्षा क्षेत्रमा सुधार ल्याएको थियो । श्री नेरानिमावि २०४४-२०४५ ले ६-७ को कक्षा पनि सुरु गरेको २०४७-२०४८ तिर २ वटा निमाविको दरबन्दी पाएको देखिन्छ ।
आन्तरिक तयारी नपुगेर हो वा ढिलाइका कारणले हो तात्कालीन विद्यालय प्रशासनिक समितिले निमावि तहको दरबन्दी लिन जान नसक्दा कक्षा ६–७ को पढाइ रद्द गरिएको देखिन्छ । त्यहाँबाट त्यो दरबन्दी छिमेकी गाउँ मिरुलस्थित हिमाली फूलबारी निमाविमा गएको देखिन्छ । तर यो विद्यालयले पनि सो दरबन्दी लिएको देखिदैन ।
यसै क्रममा २०५२ फागुनदेखि देशमा जनयुद्ध सुरु भयो । विद्यालय बचाउनै कठिन भयो । विद्यालय प्राविमै सिमित रहिरहे । जब शान्तिप्रक्रिया सुरु भयो र देशमा केही शान्तिपूर्ण चहलपहल सुरु भए, तब मौलावनको प्रावि २०६७ मा निम्न माध्यमिकस्तर अर्थात् कक्षा ६-८ मा उन्नति गरियो । यसलगत्तै २०६७-२०७१ प्रथम पञ्चवर्षीय योजना बन्यो । सो विद्यालयले २०६८ मा माविको यात्रा तय गर्यो ।
तर फेरि पनि असफलता हात लाग्यो । तथापि प्रयास निरन्तर जारी रहिरह्यो । २०६९ मा कक्षा ९ को पनि अध्यापन सुरु भयो । २०७० मा १० कक्षाको पनि सुरु भयो । एसएसआरपी योजनामा पुग्न प्रक्रियामा छ । २०६९ व्यावसायिक विद्यालयको काम सुरु भयो । २०७० कक्षा ९ मै प्राविधिक धारा बाली विज्ञान रोल्पाकै पहिलो प्राविधिक तथा व्यावसायिक विद्यालय सुरु भयो । २०७२ मा आईएससी बाली विज्ञान विषयको पढाइ सुरु भयो । २०७४ मा नमुना विद्यालय बन्यो । २०७४ मा टीएस्एसई १८ महिने भेटेरीनरी कक्षा सुरु भयो । २०७५ मा तीन वर्षिय पशु विज्ञान र वन विज्ञान सुरु भयो । समयको रफ्तारसँगै परिवर्तित हुँदै यो विद्यालय अघि बढ्यो ।
यस विद्यालयको शिक्षक परिवार, समाज र व्यवस्थापन समितिबीचमा सौहाद्र्रपूर्ण सहकार्य हुँदै आएकाले विद्यालयले प्रगतिमा चाँडै नै फड्को मार्दै अघि बढ्यो । घरायसी वातावरण भएको रमाइलो प्रयोगात्मक कुरालाई केन्द्रित गरेर पढाउने एक मात्र विद्यालयका रुपमा यो स्थापित हुँदै गयो । हाल विद्यालयको आफ्नै एउटा गाडी छ । यसले साना विद्यार्थीलाई विद्यालय ल्याउने र घर पुर्याउने काम गरिरहेको छ । सोही गाडीबाट शैक्षिक भ्रमणमा लैजान पनि सजिलो भएको छ ।
यस विद्यालयका प्रधानाध्यापक गोपालबहादुर केसी रात दिन नभनी विद्यालयको काममा खटिरहनु हुन्छ । नेपाल सरकारले ४२२ विद्यालयलाई नमूना घोषणा गरेको छ । तर अहिले २२२ विद्यालय मात्र नमुना मानिएका छन् । केसी नमूना विद्यालयको सबैभन्दा कान्छो प्राध्यापक पनि हुनुहुन्छ । विद्यार्थीलाई ब्रोइलर कुखुरा होइन, लोकल कुखुराजस्तो बनाउनु पर्छ भन्ने उहाँको भनाइ रहेको छ । विद्यार्थी जागीरेभन्दा पनि उद्यमी बनु पर्छ भन्ने सल्लाह उहाँको रहेको छ ।
केसी प्राध्यापक मात्र नभई एक कुशल अभिभावक पनि हुनु हुन्छ । उहाँ विद्यार्थीको लागि शिक्षक र समाज परिवर्तन चाहने एक कुशल नेतृत्व पनि हुनुन्छ । उहाँ आफैमा लक्ष्य बनाएर लक्ष्यसँगै दौडिन सक्ने एक सफल प्राध्यापक पनि हो ।
यहाँ बाल विकास कक्षा, नर्सरी, केजीसहित कक्षा १ देखि ८ सम्म साधारण पढाइ हुन्छ । कक्षा ९ र १० व्यावसायिक धारको कृषि शिक्षा थपिएको छ । कक्षा ११ र १२ विज्ञान तथा कोर्सका सबै विषयको पढाइ हुन्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) का तर्फबाट टीएस्ईई इन भेटेरीनरी, आईएससी बालीविज्ञान, पशुविज्ञान, र आईएससी वनविज्ञान सञ्चालन हुादै आएको छ । यसै विद्यालयका पूर्व वि.व्य.स. हाल परिवर्तन गाउँपालिका वडा नं ५ का अध्यक्ष सुकबहादुर बुढा ‘थमन’ हुनुहुन्छ । उहाँले विद्यार्थीलाई कहिले पनि गलत बाटोमा नलाग्न, देश र जनताको सेवा गर्न, सफल व्यक्ति बन्न र समाज परिवर्तन चाहना राख्न सुझाव दिनु हुन्छ ।
सोच विचारको र एउटा लक्ष्य बनाएर अगाडि लाग्ने कुशल नेता पनि हो । हालका वि.व्य.स. दिलबहादर ओली ‘प्रगति’ले विद्यार्थीलाई भविष्यको सम्भावना भन्दै सामाजिक संभावनाका पक्षहरु पहिल्याउन र आगामी बाटो तय गरी अघि बढ्न सुझाव दिनु हुन्छ ।
त्यहाँ कार्यरत सबै शिक्षक र शिक्षिका आआफ्नो काम र जिम्मेवारी बहन गर्न कत्ति पनि पछि पर्नुहुन्न । विद्यालयले विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने भन्ने एक कार्यक्रमको सुरुआत पनि गरेको छ, २०७२ सालबाट । गरीब, जेहेन्दार विद्यार्थीका लागि ठूलो अवसर दिलाएको छ । जसको घरपरिवारमा आर्थिक विपन्नता छ, उनका छोराछोरीको पढाइ अघि बढाउन विद्यालयले उनीहरुलाई रोजगारीको अवसर दिने, रोजगार लगाउने र उद्यमी बन्न सिकाउने अवसर दिएको छ ।
यस विद्यालयमा लाग्ने सबै शुल्क पनि अरुभन्दा सस्तो र सहुलियतपूर्ण रहेको छ । विद्यालयको वातावरण पनि शान्त र रमाइलो छ । अहिले नमुना स्कूलको हो भोलिका दिनमा विशिष्ट विद्यालय बनाउने सोचमा रहेको छ- विद्यालय परिवार । सफलताको शुभकामना !