(मध्यपश्चिमाञ्चलको सल्यान जिल्ला फलाबाङ गाविस-२ पिमखोलामा सामान्य किसान परिवारमा जन्मिएर पनि आफ्नो प्रतिभाशाली लोकगीत गायन तथा कुशल वाद्यवादकका रुपमा आफूलाई स्थापित गराउन सफल कलाकार हुन् खर्कबहादुर बुढामगर । २०४२ देखि लोकगीत क्षेत्रमा लागेका र हालसम्म २०० बढि मध्यपश्चिम क्षेत्रका लोकगीत रेकर्ड गराइसकेका उनी हाल सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा अधिकृत तहमा मादल बादक तथा संगीत प्रशिक्षकको रुपमा काम गरिरहेका छन् । प्रस्तुत छ, उनै खर्कबहादुर बुढामगरसँग गोलमिडिया खबरका संवाददाताले गरेको साङ्गितिक कुराकानी) सम्पादक:
संगीत क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ?
गाउँघरमा सानैदेखि नाच्ने गाउने गरियो । दिनभरि काम गर्यो, साँझपख छोट्टी बस्न (केटीको घरमा जाने) जाने चलन हुन्थ्यो । खासगरी मगर समुदायमा केटाहरु युवती (तरुनी केटी) को घरमा जाने बस्ने, नाच्ने ‘दोहरा गाउने’ चलन हुन्थ्यो । गाउँका बूढाबूढी लगायत तरुनी-तन्नेरी गाउँको बीचमा जम्मा हुने गर्थे । ‘जानु पर्छ रमाइलो गर्नु पर्छ’ भन्ने हुन्थ्यो । खानपिन गर्दा रातको ९-१० बज्थ्यो । तर रमाइलो गर्ने भनेपछि सुत्न लागेका भएपनि उठेर गाउने नाच्ने गरिन्थ्यो । विशेषगरी चाडपर्वमा मेला लाग्ने गर्छ त्यहीँ नाच्ने गाउने गर्दा नै संगीत क्षेत्रमा लागियो । यसैबिच पहिलो पटक २०४२ सालमा जिल्लास्तरीय दोहोरी गीत प्रतियोगिता भयो । मलाई सल्यानका खेलकुद सचिवले बोलाएका थिए । विद्यालयदेखि नै गाउँदै गर्दा जिल्ला सदरमुकामसम्म प्रभाव परेका कारण मलाई बोलाएका हुन् । जिल्लाबाट छानिएर प्रतियोगितामा भाग लिन जान चाहने प्रतियोगी धेरै थिए । तर सल्यान जिल्लाबाट म मात्र छनौट भएँ । त्यसपछि अञ्चलस्तरीय दोहोरी गीत प्रतियोगिता प्यूठानमा भयो । शरदचन्द्र शाह खेलकुद सचिव हुनेबेला २०४३ सालमै दोलखाको जिरीमा तेस्रो दोहोरी गीत प्रतियोगिता भयो । जहाँ राप्तीबाट म, दाङका नारायण पाण्डे, रोल्पाकी पवित्रा घर्ती, दाङका गोविन्द आचार्य लगायत ८-९ जनाको टोली सहभागी भइ प्रथम भइयो । त्यसपछि सोही अवसरमा रेडियो नेपालको अवलोकन गरियो । २०४४ सालमा लोकगीत प्रतियोगितामा भाग लिन काठमाडौं आइयो । यसरी क्रमशः स्थानीयस्तरबाट सुरु भएर राष्ट्रिय स्तरसम्म आइपुग्नका लागि मेरो संगीत यात्रा सुुरु भएको थियो ।
पहिलो पटक रेडियो नेपालमा कुन गीत गाउनु भएको थियो ?
“हुन्छ भने सोल्टिना लैजाँउला तानी, हुन्न भने सोल्टिना मोहनी लगाउँला नि” यो गीत टपटेन (उत्कृष्ट १०) भित्र परेको थियो । यो गीत बमबहादुर कार्की र दामोदर घिमिरेले रेडियो नेपालबाट चलाउने “प्रतिभा साँझ” कार्यक्रममा रेकर्ड पनि भयो । त्यतिबेला रेडियो नेपालबाट अत्यधिक बज्ने गीतमध्ये त्यो गीत पनि पथ्र्यो । त्यही गीतले मलाई धेरै श्रोतासामु पनि चिनायो । तर दुःखको कुरा त्यो गीत अहिले कतै छैन, हरायो । त्यतिबेला देखि मलाई काठमाडौंमा बसेर गीतसंगीतमा लाग्ने मौका मिलेको हो ।
औपचारिक शिक्षा कतिसम्म लिने अवसर मिल्यो ?
अहिले जोड दुई पास गरें । २०४३ सालमा एसएलसी दिएको थिएँ । काठमाडौंको राष्ट्रिय नाचघरमा जागीर गर्नुपर्ने भएकाले एकैचोटी सबै विषय कटाउन सकिएन र बिस्तारै २०५१ सालमा एसएलसी कटाएँ । एसएलसीपछि कार्यक्रमकै सिलसिलामा विदेश जानु परेकाले पनि पढ्ने मौका मिलेन । मलाई चन्द्रकला शाहको पहलमा गणेश रसिकले राष्ट्रिय नाचघरमा जागीर मिलाइदिनु भएको हो । क्षमता, लगनशीलता र इमान्दारिताको कारण मैले जागीर पाएको हुँ । रु ७०० तलवबाट सुरु भएको जागीरे जीन्दगी हाल अधिकृत तहमा कार्यरत छु ।
५० को दशकमा क्यासेटमा रेकर्ड गरेर गीत बजाउने चलन थियो जतिबेला खर्क बुढामगर र लिलावती बुढामगर जनतामा धेरै छाउनु भयो तर अहिले कता-कता हराउनु भएजस्तो हुनु भएको छ नि ?
यसमा आर्थिक समस्या प्रमुख कारण बनेर आएको छ । अर्को कुरा, म गाउनभन्दा बाद्यबादनमा व्यस्त रहनुपर्ने भएकाले पनि गाउने, भिजुअल गर्ने र सम्पत्तिको संरक्षण गर्ने कार्यमा पछि परेको छु । यसमा मलाई नै पछुतो छ । मैले मादलमा दख्खल राख्ने भएकाले मलाई गीत रेकर्ड र कार्यक्रममा मादल बजाउने कामले अरु काम गर्ने फुर्सद नै छैन । फेरि रेकर्ड गर्न र भिजुअल गर्न धेरै पैसा लाग्ने भएकाले पनि नसकिएको हो । यति हुँदाहुँदै पनि विदेशमा थुप्रै साथीले हाम्रा गीत लैजानु भएको छ । थुप्रै मिडियामा पनि अन्तरवार्ता दिएको छु ।
यो क्षेत्रमा लाग्दा विदेश भ्रमणको अवसर कत्तिको मिल्यो ?
गीत-संगीत प्रस्तुत गर्ने सिलसिलामा ११ वटा देश घुम्ने अवसर पाएको छु । जापान लगायतका देशमा नेपाली कला र संस्कृति प्रदर्शन गर्न गएको छु । विशेष गरी पर्वहरुमा जाने मौका मिल्ने हुनाले नेपाली लोकबाजा र टिप्पिकल चिजहरु प्रदर्शन गर्न जाने गर्दछु । ८-१० वर्षजति भयो विदेशमा नेपालीले बोलाउने गरिरहेका छन् ।
तपाईंहरुले जस्तै अहिलेको पुस्ताले लोकगीतको संकलन, रेकर्ड, विकास गर्न सकेन नि ?
हो, यो पुस्ताले त्यसो गर्न सकेन । हामीले पैसाका लागि गीत रेकर्ड गरेका थिएनौं । आफ्नो गाउँ-ठाउँको सम्पत्ति बचाएर यसको विकास गर्न लागेका हौं । तर अहिले गीतसंगीत व्यापारीकरण भयो । अन्यत्र जताततैका गीतहरु रेडियो नेपालबाट प्रसारण भएको सुन्दा हाम्रो क्षेत्रको लोकगीत पनि बजाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यसकारण हामीले हाम्रा गाउँ-ठाउँमा छरिएर रहेका लोकगीतका भाकालाई प्रसारण गरी संरक्षण र विकास गरेका हौं । अहिलेका भाइबहिनीले त्यसो गरेका छैनन् या कम गरेका छन् । किनकि गीत रेकर्ड र म्युजिक भिडियो बनाउन लगानी चाहिन्छ । लगानी गरेपछि मान्छेले नाफा खोज्छ, जुन स्वभाविक पनि हो । नाफा नआउने भएपछि लगानी गर्न नसकिने भयो नै । हाम्रो पालामा राज्यले नै गीत रेकर्ड गर्ने भएकाले पैसा लाग्दैनथ्यो । राज्यले नै पुराना चीजलाई मान्यता दिएको थियो । नयाँलाई खासै मान्यता दिएको थिएन । तर अहिले गीत रेकर्ड गर्न आफै लगानी गर्नुपर्छ । अहिले गीतहरु सीआरबीटी र युट्यूबमा खोज्ने गरिन्छ । आधुनिकीकरण गर्ने काम त भएको छ, तर पुराना भाकालाई खोजेर रेकर्ड गर्ने काम भएको छैन वा कम भएको छ ।
पुरानो गीत र भाकालाई संरक्षण गर्ने काममा यहाँहरु जस्तो लामो अनुभव संगालिसकेका श्रष्टाहरुको भूमिका त झन् बढि हुनुपर्ने होइन र ?
हाम्रो भूमिका त कम हुँदैन तर स्थानीय संस्कृतिको संरक्षणमा खासगरी स्थानीय नै लाग्नु पर्छ । यसता चीजको संरक्षण र विकास गर्नु राज्यको दायित्य हो भनिन्छ । तर नेतालाई खासै चासो हुँदैन । राज्यलाई थाह हुँदैन । मानौं, सल्यानको पिमखोला, रावलखोला, टोड्केमा के चीज छ भन्ने त त्यहाँको स्थानीयलाई थाह हुन्छ । काठमाडौंमा बस्ने मन्त्रीलाई थाह हुँदैन । त्यसकारण त्यहिँको मान्छेले संरक्षण गर्नुपर्छ । आजकलका धेरै युवा तास खेल्ने, रक्सी खाएर हल्लिएर समय बर्बाद गर्छन् । पुरानो संस्कृतिको संरक्षणमा लाग्नु पर्यो नि । नेपाली संस्कृति, चाड र पर्वमा प्रदर्शन गर्ने खालको छ । तलसम्म विधागत प्रशिक्षण छैन । त्यो गर्नुपर्छ । नेवार, गुरुङ, मगर जति पनि समुदाय छन् ती सबैले त्यसो गर्नुपर्छ ।
गीत-संगीतको संरक्षणका लागि तपाईं आवद्ध रहेको सांस्कृतिक संस्थानको तर्फबाट नीति निर्माण भएको छ ?
केही नीति निर्माण त भएको छ, तर केहीले त्यसलाई कार्यान्वयनको पक्षमा ध्यान दिन्नन् । कला र संगीतलाई गहनाको रुपमा मात्र लिने चलन छ, जुन ठीक होइन । साँच्चै गीत–संगीतको संरक्षण र विकास गर्ने हो भने राज्यको माथिल्लो निकायबाट नै कार्यक्रम बनाई बजेटको व्यवस्था गर्नुपर्छ । एकपटक दाङका भरतराज शर्माले सांस्कृतिक संस्थानको शाखा दाङमा खोल्छु भनेर लाग्नु भएको थियो । घर जग्गा म आफै दिन्छु समेत भन्नु भएको थियो । कागजपत्रको फाइल नै बोकेर हिंड्नु भयो । तर त्यो त्यसै हरायो । यहाँ (सांस्कृतिक संस्थान) को जीएम हरिहर शर्मा भएका बेला पनि त्यो अवधारणा आएको थियो । शाखा खोलिएन, बरु नाट्य एकेडेमी बनाइयो । तर अब बन्ने राज्यको नयाँ संरचनामा सांस्कृतिक संस्थानको शाखा तलसम्म खोलिएला भन्ने आशा गरेको छु ।
तपाईं मध्यपश्चिमको मान्छे, त्यहाँ अहिले पनि थुपै भाकाहरु छन् । तिनको संरक्षणका लागि अहिलेको पुस्ताले के गर्नुपर्ला ?
विशेषगरी त्यहिँको समुदायसँग त्यहिँ भिज्नु पर्छ । जुन ठाउँको चीज (कला र संस्कृति) हो त्यसलाई ल्याउन त्यहिँको जनसमुदायसँग भिज्नु पर्छ । त्यहाँको हावापानीसँग घुल्नु पर्छ । दाङको मान्छेले सल्यानको सोरठी गाउँछु भनेर हुँदैन । किनकि, त्यहाँको मान्छेमा नै त्यहाँको कलाको रङ आउँछ । गाउँमा बसेर त्यो सिक्नु पर्छ । कलाकारिता गर्न काठमाडौंका कोठामा बसेर हुँदैन । मानौं, मैले स्यानी माया, ठाडी भाका, लामस्वरे भाका संकलन गरेर ल्याएँ । त्यहाँको लवज अन्यत्रको मान्छेले गाएर हुँदैन । त्यसकारण त्यहिँको समुदायमा बस्नु पर्यो र पुस्ता हस्तान्तरण हुनु पर्यो । तालिमको व्यवस्था हुनु पर्यो । व्यक्ति र समुदाय मिलेर राज्यलाई घच्घच्याउनु पर्यो । जनसमुदायमा यस्ता गीतहरु छन्, जुन टिप्पिकल गाउन सक्नेले गाएर रेकर्ड गरेकै छैन । त्यसलाई सही तरिकाले मिलाउन सक्ने तरिका छ । कसैले ३ दिन ३ रातसम्म लगातार गाउन सक्छ । रेकर्ड गर्न सकिन्छ । कृष्ण चरित्रको ५२ चरण छ । पैंसेरुको २२ चरणमा नाचिन्छ । सारङ्गी नाचको २२ हाता हानिन्छ । ७ दिन ७ रात गाए पनि भागभाग गरेर रेकर्ड गरिन्छ । त्यो हामी पनि गर्न सक्छौं । ग्रन्थका रुपमा प्रकाशन गर्न पनि सकिन्छ । भिजुअल गर्न पनि सकिन्छ । तर “बूढा मरे भाका सरे” भनेजस्तो भएको छ । अहिलेका सञ्चार माध्यमले टिप्पिकल भन्दा ‘ढिकचिक’ र आधुनिक गीत बढि बजाउँछन् । तर हामी र हाम्रो गीत-संगीतलाई जनतामा लैजाने र चिनाउने पनि मिडिया नै हो । सञ्चार माध्यमले त्यस्ता चीजलाई खोजेर जनताममा लैजानु पर्छ । पस्किने मान्छेले जस्तो दियो, उस्तै खानु पर्ने बाध्यता भने जस्तो मिडियाले जस्तो प्रकाशन, प्रसारण गर्यो, जनताले त्यस्तै पढ्नु र सुन्नु परेको छ । त्यसकारण कला र संगीत दिनेले पुरानो कलाको संरक्षण हुनेगरी बनाउने र मिडियाले बजाउने गर्नुपर्छ ।
तपाईंका पालामा रेकर्ड भएका भाका र गीतहरु अहिले पनि गाउँमा पाउन सकिन्छ, यो पुस्ताले पनि त्यसैलाई रेकर्ड गर्दा औचित्य कति हुन्छ ?
ठीक हो, तर जुन समुदायको मान्छेले गाएको छ, त्यही समुदायको मान्छेले गाउँदा त्यसको रङ आउँछ वा जस्ताको तस्तै लिन र गाउन सक्छ । जस्तो, दाङको मघौटा थारुगीत त्यहिँको मान्छेले गाउँदा राम्रो हुन्छ । जसरी धेरै फूल एकै ठाउँमा राख्दा बासना मिश्रित बन्न जान्छ । त्यसकारण जुन ठाउँको जस्तो संस्कृति हो त्यहिँको मान्छेले प्रस्तुत गर्दा त्यहिँको बासना आउँछ र त्यो राम्रो हुन्छ । हिमालको शेर्पागीत त्यहीँको शेर्पाले नगाएर अर्कैले गायो भने त्यहाँको टिप्पिकल वा आफ्नोपन, लवज र रङ हराउँछ । बरु रिमिक्स होइन, रिमेक गरेर लान सकिन्छ ।
कुराकानीको अन्त्यमा थप केही भन्नु छ त ?
गीत गाएपछि विदेश घुम्न पाइन्छ भन्ने नाममा स्थानीय संस्कृति ओझेलमा पार्ने र आधुनिकतातिर लागिएको छ । त्यसो गर्नु हुँदैन । त्यसैले गीत-संगीतमा लाग्ने भाइ-बहिनीलाई आफ्नो क्षेत्र र समुदायको पहिचान र चिनारी सहितको संरक्षण र विकासमा लाग्न आग्रह गर्दछु । जो जहाँ बसे पनि आफ्नो गाउँ–ठाउँको कला र संस्कृतिलाई आफ्नो कर्तव्य ठानेर न्याय गर्न सिकौं, यही भन्न चाहन्छु ।