• फाल्गुन २७ २०८१, मंगलवार

हामी नेपाली जनता सिंह हौं : दाहाल

माघ ६ २०७७, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा विघटनविरुद्ध जनतामा जाने बताएका छन् । प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने ,‘हामी नेपाली जनता सिंह हौं कुनै आवस्थामा गर्जन पर्छ, देशलाई हिंसामा धकेल्नेलाई खबरदारी गर्ने दायित्व नेपाली जनताको हो, जनताले आफ्नो फैसला दिन ढिला गर्न हुँदैन, यसले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई पनि सजिलो होला ।’

सर्वोच्च अदालतमा चलिरहेको मुद्दा कानुन व्यवसायीले लड्ने भएकाले जनताको बीचमा पुगेर प्रतिनिधि सभा विघटनविरुद्ध सङ्घर्षको आँधी सिर्जना गर्न पार्टी नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे । पुस ५ को सरकारको कदम प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति प्रकृयालाई भंग गर्ने र देशलाई दुर्घटनातिर लैजाने दुश्कर्मको सुरुवात भएको पनि बताए । उनले हेर्दाहेर्दै आफ्नै पार्टीको प्रधानमन्त्रीले आफैले जन्माएको संविधानको (बच्चा)को हत्या गर्न लागेकाले त्यो रोक्न लागि संघर्ष गर्नुपरेको बताए ।

अध्यक्ष दाहालले प्रतिगमन र प्रतिक्रान्तिको प्रयास रोक्न पत्रकारहरुको भेला सफल हुनेमा विश्वास व्यक्त गर्दै संविधान र गणतन्त्रको रक्षा गर्नु सबैको दायित्व भएकोमा जोड दिए । त्यसक्रममा दाहालले प्रधानमन्त्री ओलीले पटकपटक नेकपा फुटाउन प्रयास गरेको भन्दै बैठक चलिरहेका बेला नेकपा एमाले दर्ता गर्न लगाएर प्रतिगमनको सुरुवात गरेको बताए ।
उनले ओलीको हातमा अब केही पनि नरहेको र ओलीले हारिसकेको दावी गरे । दाहालले हिटलर र गोर्भाचोभसँग तुलना गर्दै ‘अब केपीको हातमा केही पनि छैन, प्रष्ट बुझ्नुहोला, जुन दिन केपीले संसद विघटन गर्नुभयो त्यो दिनदेखि केपीको हात सकियो । अन्तै छ चिजहरु ।’ उनले अन्ततः फैसला गर्ने निर्वाचन आयोगलाई आफूले केही नभने पनि सही फैसला हुन्छ भन्नेमा विश्वस्त रहेको बताए ।