काठमाडौं । प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको सम्झनामा माघ ५ गते प्रदेश दुईमा बलिदानी दिवस मनाउने गरिएको छ ।
मधेश केन्द्रित दलले माघ ५ गतेलाई बलिदानी दिवसको अवसरमा औपचारिक कार्यक्रम समेत आयोजना गरेको छ । सोही अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस आन्दोलनको १४ वर्ष पूरा भएको छ ।
मधेशी सहिद परिवारले प्रदेश २ सरकारले आफूहरुको माग पुरा नगरेको भन्दै आन्दोलनमा जाने तयारी गरेका छन् । उनीहरुले मधेशी सहिद परिवार तथा घाइते हकहित संघर्ष समिति गठन गरेर प्रदेश २ सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
समितिका अध्यक्ष नरेश यादवले मधेशका युवाको बलिदानका कारण देशमा संघीयता आएको र मधेश सरकार गठन भएको हो भन्दै आज त्यही सहिद परिवारलाई त्यहाँको सरकारले अपमान गरिरहेको बताए ।
उनले मधेश आन्दोलनमा सहादत दिएका परिवारका सदस्यहरुको अवस्था दयनीय छ रहेको जनाउँदै मधेश सरकारले कुनै मतलब नराखेकोप्रती गुनासो व्यक्त गरे । प्रत्येक सहिद परिवारका एकजनालाई जागिर दिने, घाइतेलाई उपचार गरिदिने, बालबच्चालाई निःशुल्क पढाइ दिने जस्तो प्रतिबद्धता गरेको सरकारले हालसम्म केही नगरेको जनाउँदै अब प्रदेश २ सरकारविरुद्ध आन्दोलन नै गर्नुपर्छ भन्दै समिति गठन गरेको जानकारी दिए । अब चाँडै नै आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनले बताए ।