• आश्विन ५ २०८१, शनिबार

मजदुरी गर्दै सफल व्यवयासी बनेका भिमकुमार

माघ ४ २०७७, आईतवार
जिन्दगीमा उचारचढाव आइनै रहन्छ तर जब मानिसको आत्मबल उच्च हुन्छ अनि मानिस धैर्यवान, सहनशील भई आफ्नो कर्मलाई निरन्तरता दिइरहन्छ । र त्यही कर्मले एक दिन मानिसलाई सफल बनाउँछ । हो यही कर्मले सफलताको शिखरमा पुग्न सफल भएका छन् नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं. ८ लामागाउँका ५८ वर्षीय भिमकुमार तामाङ । बाबा लालबहादुर तामाङ र आमा सानुमाया तामाङका साँइला छोरा हुन् भिम । विगतमा दुईचार पैसाको लागि अरुसँग हात फैलाउनु पर्ने अवस्थालाई बदल्दै उनी आफ्नै कडा मेहनतले आज करोडौंको सम्पत्ति आर्जन गर्न सफल भएका छन् ।
सम्पत्ति मात्र होइन उनले विगतका दिनमा अरुकोमा काम गर्दा जुन हेपाई खानु परेको थियो, आज उनले आफ्नै मेहनतका कारण इज्जत र मानसम्मान पनि पाएका छन् । हिजो उनले अरुर्ला नमस्ते गर्ने भने आज उनलाई नमस्ते फर्काउनेको घुईंचो छ । जसले गर्दा आज भिमकुमारलाई आफ्नो पेशाप्रति निकै नै गर्व महशुस भएको छ । काठमाडौँमा अटो वर्कशप त धेरै छन् तर बसुन्धारा स्थित भिमकुमारको सगरमाथा अटो वर्कशपको पहिचान बेग्लै छ । किन कि उनले आफ्नो अटो वर्कशपको पहिचान बेग्लै बनाई सकेका छन् । उनले ग्राहकको मन जितिसकेका छन् जसले गर्दा आज उनको अटो वर्कशपमा नेपालीहरु मात्र नभएर विदेशीहरु समेत उनको ग्यारेजमा गाडी बनाउन आउँछन् । उनी परिवार सहित २० वर्षदेखि बसुन्धारामा बस्दै आएका छन् ।
२०५७ सालमा उनले सगरमाथा अटो वर्कशप खोले । हुन त यो भन्दा पहिला उनले माछापोखरी, त्रिवि अस्पताल नजिकपनि ग्यारजेको काम नगरेका होइनन् तर काम गर्दै गर्दा उनलाई सुरुमा कठिन भएपनि पछि उनको मेहनत र धैर्यताले आज उनी सफल व्यवसायी भएका छन् । १६, १७ वर्षको उमेरमै भिमकुमारले गाडी चलाउन थालेको बताउँछन् । जब उनले गाडि चालउन थाले तबदेखि उनलाई यो पेशा मन पर्यो । प्रायः जसो जनजातिहरु लाहुरे हुने सपना बोकेर विदेशतिर छिर्ने गर्दछन् । भिमकुमारको पनि लाहुरे हुने रहर त नभएको होइन तर उनलाई रहर भएपनि र काठमाडौँको छेउमै घर भएरपनि निकै पिछडिएको गाउँ भएकोले विदेश जान नसकेको उनको भनाई छ । बाध्यता र विवशताका कारण उनी कामको सिलसिलामा काठमाडौं छिरे ।
उनले आफ्नो ठूलो बुवा सुर्यबहादुर तामाङबाट टेम्पो चलाउन सिकेका हुन् । टेप्पो चलाउन सिकेपछि उनले ट्याक्सी चलाउन थाले । विस्तारै बस चलाउँदै उनले ६ महिनासम्म ट्रक पनि चलाए । गाडि चलाउने क्रममै उनले गाडी बनाउन पनि सिके । २०४६ सालतिर भारतले नाकाबन्दी गरेका कारण उनले गाडी चलाउन पाएनन् तर पनि उनले अन्य कामहरु र घर बनाउने काम भने सिके । त्यसपछि कामको खोजीमा उनले ट्याक्सी चलाउन छाडेपछि सिआरएस भन्ने अमेरिकन काम गर्न थाले । त्यहाँ उनले दुई वर्ष काम गरे । उनको जागीर ६ महिनामा स्थायी पनि भयो । उनले त्यो अमेरिकन कम्पनीमा इमान्दारीताका साथ काम गर्दागर्दै पनि नमज्जाले हेपाई खानु पर्यो । त्यो भने उनका लागि तितो घटना घटना बनेर आयो ।
उनले त्यहाँ हाकिमलाई ढोका खोलिदिनु पर्ने र आफू भन्दा अगाडीको ड्राइभरले भनेको मान्नु पथ्र्यो । इमान्दार भएर काम गर्दागर्दै पनि अपहेरित हुनु परेको घटनाले उनलाई साह्रै चित्त दुख्यो । हुँदाहुँदा उनलाई त्यहाँका केही कर्मचारीहरु मिलेर स्थायी जागीरबाट समेत निकाली दिए । त्यसपछि उनले सोचे कि अब यो ठाउँमा जागिर खानु भन्दा म पनि आफै केही गरेर आफ्नो पहिचान बनाउँछु । मलाई आज हेप्ने र अपमान गर्नेहरुलाई एक दिन म पनि केही बनेर देखाउँछु भन्ने सोचले उनले ग्यारेज खोल्ने आँट गरे । भिमकुमार भन्छन्, ‘ग्यारेज खोल्ने सोच त बनाए तर आर्थिक अभावको कारण एक्लै भन्दा एकजना साथीसँग मिलेर काम गर्न खोजियो तर भनेजस्तो साथ र सहयोग पाउन सकिएन । झन नराम्रोसँग फसें ।’ त्यसपछि एक्लै भएपनि ग्यारेज खोल्नुपर्छ भनेर अघि बढेको उनी बताउँछन् ।
त्यो बेला उनीसँग भने जति पैसा पनि थिएन । त बाबुआमा र परिवारले नै उनलाई सहयोग गरे । मौकाले उनले एउटा नचलेको ग्यारेज भेटाए । उनले त्यस ग्यारेजलाई व्यवस्थित बनाउँदै एक्लै भए पनि व्यवसाय गर्ने हिम्मत गरे । भिमकुमारले आफूसँग भएको १०, १५ हजार लगानी लगाएर ग्यारेजको काम थालनी गरे । उनले काठमाडौँमा ग्यारेज खोलेको कहानी त सुनाए तर सुरुका दिनहरु सम्झेर उनका आँखाहरु रसाए । बोल्दैगर्दा एकछिनसम्म उनको बोली पनि रोखियो, वक्य फुटेन । किन कि विगतमा उनले कामको सिलसिलामा पाएको हेपाई उनको मनमा ताजै थियो । घटना र दुःखहरुलाई सम्झेर उनी निकै नै भावुक भए । भिमकुमारले ग्यारेज खोलेपनि सुरुका दिनमा टेक्सी चलाउने व्यक्तिले कसरी गाडी बनाउन सक्छ ? भनेर उनलाई विश्वास नै गर्दैन थिए ।
जसले गर्दा चिनजानका व्यक्ति बाहेक अरु गाडी बनाउन उनको ग्यारेजमा आउँदैन थिए । तर पनि हिम्मतका साथ उनले आफ्नो काममा कटिबद्ध भएर नै लागि रहे । सुरु सुरुमा ग्यारेज खोले पनि गाडी बनाउनको लागि मानिसहरु नआउँदा उनलाई लाग्दथ्यो कि यो पेशालाई निरन्तरता दिन सक्छु कि सक्दैन । तर विस्तारै विस्तारै उनको ग्यारेजमा गाडी बनाउन मानिसहरु आउन थाले । भिमकुमारले ग्यारेज खोलेपछि सुरुमा ६ जना कर्मचारी राखेका थिए तर ग्यारेजमा गाडी बनाउन मानिसहरु नआएपछि राखेका कर्मचारीलाई सुरुमा खाजा खुवाउन र तलब दिनपनि धौधौ परेको त्यो दिनहरुको सम्झना आज पनि उनको मानसपटल ताजै छ ।
भीम भन्छन्, निरन्तर आफ्नो पेशामा धैर्यताका साथ लागेपछि मेरो ग्यारेजमा दिनदिनै थुप्रै गाडीहरु मर्मतका लागि आउन थाले । मेरो गाडी बनाउने सिपलाई देखेर टाढा टाढाबाट पनि गाडी बनाउन मानिसहरु आउन थाले, जसले गर्दा मेरो व्यवसाय फस्टाउन थाल्यो ।, भिमले धेरै पढ्न सकेनन् तर उनले आज आफ्नो पेशामा पाएको सफलताले गर्दा गर्व महशुस गर्दछन् । ‘हिजो मान्छेहरुले हेपाईको दृष्टिले हेर्ने गर्दथे तर आज मैले गरेको कामले गर्दा मलाई सम्मान गरेका छन् ।’ उनी भन्छन् । आज भिमले आफ्नो इच्छा अनुसारको काम गरेर घर परिवारदेखि समाजमा आफ्नो बेग्लै स्थान बनाएका छन् ।
उनी भन्छन्, ‘काम सानो वा ठूलो हुँदैन जुन पनि कामलाई निरन्तरता र धैर्यता एवंम् इमान्दार भएर अघि बढाउन सक्यो भने अवश्य सफल हुन्छ, ठूलो कामले सफल भइने वा सानो कामले असफल भइकने होइन ।’
हुन त काठमाडौँमा थुप्रै ग्यारेजहरु छन् तर भिम कुमारको ग्यारेजमा एकपटक गाडी बनाएर गएपछि फेरि फेरि फर्किएर उनकै ग्यारेजमा बनाउन आउँछन् । आज उनको ग्यारेजमा विभिन्न ठाउँबाट मानिसहरु जापानी, चिनियाँ, कोरियन र इण्डियन गाडीहरु बनाउन आउँछन् । उनको ग्यारेजमा मानिसहरु जति पनि गाडी बनाउन आउँछन् त्यो उनको इमान्दारिता र कामप्रतिको लगावको कारण हो ।
उनी भन्छन्, ‘मान्छेमा मानवीय व्यवहार हुनुपर्छ मैले त्यही व्यवहार गर्दै आएको छु त्यसकारण ग्राहकहरु हाम्रोमा आउनुहुन्छ ।’ प्रायः अरुको ग्यारेज शनिबार बन्द हुने गर्दछ तर उनको ग्यारेज कहिल्यै बन्द हुँदैन किन कि उनले हाल १४,१५ जना कर्मचारी जतिबेला पनि सेवा दिनेगरि राखेका छन् । जतिबेला पनि गाडी बनाउन आएपछि उनीहरुलाई सेवा दिने गरेको उनले बताए । आफूले दिनुपर्ने सेवा र सुविधा दिएको हुनाले उनको ग्यारेजमा गाडी बनाउन मान्छेहरु आउन गरेको बताउँछन् भिमकुमार ।
भिम कुमारको पारिवारमा श्रीमति, ५ छोरी र १ छोरा छन् । आज उनले यही ग्यारेजबाट कमाएको कमाइबाट उनका छोराछोरीको लालनपालन, खानपान, शिक्षा स्वास्थ्यमा खर्च गरिरहेका छन् । ४ सन्तानले काठमाडौँमा रहेर विभिन्न विषयमा स्नातक गरिसकेका छन् भने २ सन्तान पनि राम्रो विद्यालयमा पढ्दैछन् । ‘हिजो केही पुगेन भनेर अरुसँग हात थाप्नु पर्दथ्यो तर आज मानिसहरु म कहाँ सहयोग आउँछन्, भिमकुमारले सुनाए ।’ यति मात्र होइन भिम कुमारले यही व्यवसायबाट उनले हिजो विगतमा देखेको सपनाको घर पनि बनाई सकेका छन् । नुवाकोटमा उनले करोडौंको लगानी गरेर सुन्दर घर पनि बनाएका छन् । घर मात्र होइन जग्गा समेत किन्न सफल भएका छन् उनी । स्वदेशमा श्रम गर्न सके विदेशी भूमिका रगत पसिना बगाउनु पर्दैन भन्ने उनको बुझाइ रहेको छ ।
विदेशमा कमाउन नसकेको पैसा यही कमाउन सकिन्छ र त्यसको लागि धैर्यता, मेहनत, लगनशीलता र आफूभित्र काम गर्न सक्ने इच्छाशक्ति हुनुपर्छ भन्छन्, भिमकुमार । विगतमा ६ जना कर्मचारीलाई खाजा समेत दिन समस्या परिरहेको बेला विस्तारै ग्यारेजको काम सफल भएपछि हाल भिम कुमारले १४,१५ जना कर्मचारीलाई महिनामा १५ देखि ३५ हजारसम्म तबल दिई विहानको खाजा दिउँसो बेलुकीको खाना समेत खुवाइ रहेका छन् । उनले ग्यारेजमा काम गर्न थालेको ३०,३५ वर्ष भई सकेको छ । उनले खोलेको सगरमाथा अटो वर्कशप २० वर्षको यात्रा पार गरिसकेको छ । र वर्कशपको काम फस्टाउँदै गइरहेको छ । भिमकुमार बिहान ४,५ बजे उठेर राती अबेरसम्म आफ्नै ग्यारेजको काममा व्यस्त हुन्छन् ।
हुन त उनले अब काम नगरेपनि हुन्छ किनकि उनले नै राखेका कर्मचारीहरु १४,१५ जना छन् तर पनि उनले आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् ।
गाडी बनाउन आउने ग्राहकलाई राम्रो सुविधा दिएकोले उनको वर्कशपलाई अनलाइनमा खोजबिन गरेर पनि गाडी बनाउन आउनेको कमि छैन अहिले । उनको घर परिवारले नै नगरेको काम उनले गरे । ‘हुन त समाजमा तामाङ समुदायलाई भारी बोग्नेको उपनाम दिन्छन् तर मैले आँट गरें र आज काठमाडौँमा ग्यारेज खोलेर काम पनि गरे सफल पनि भएँ, उनको अनुभव छ । ‘आज मेरो घरपरिवार गाउँघर छरछिमेक सबैले राम्रो काम गरेको भनेर इज्जत र सम्मान गर्दा खुशी लाग्छ’ उनले भने । विगतको ती दिनहरु सम्झेर निकै नै पीडा हुन्छ तर मेहनत, धैर्यता र हिम्मतले आज म सफल भएँ, उनले थपे ।
उनी यो पेशालाई निरन्तरता दिन चाहन्छन् । उनले आफ्ना ६ सन्तानलाई पनि यो पेशा सिकाइरहेका छन् । भिमकुमारको कतै भाडामा जग्गा पाए अझ व्यवस्थित गरेर यो व्यवसायलाई निरन्तरता दिने उनको चाहना छ । त्यसकोलागि उनी भाडामा जग्गा दिने असल मानिसको खोजिमा छन् । सुरुमा उनले मासिक ३ हजार भाडाबाट काम सुरु गरेका थिए । हाल जुन ठाउँमा उनले ग्यारेज खोलेका छन् ती जग्गाधनिलाई उनले प्रत्येक महिना एक लाख १७ हजार तिर्दै आएका छन् । यदि उनलाई त्यो जग्गा ५, १०, १५ वर्षकोलागि भाडामा पाए उनले यसलाई निकै नै व्यवस्थित बनाउने उनको ठूलो धोको थियो ।
धेरै बेरोजगार युवाहरुलाई सिप सिकाउने उनको धोको छ । उनले कुराकानीको अन्तिममा भने, ‘मलाई अझ धेरै यो व्यवसायमा काम गर्न इच्छा छ, यदि कोही मनकारी जग्गाधनिले भाडामा १०, १५ वर्षकोलागि आफ्नो जग्गा उपलब्ध गराउँछन् भने ।’ सायद समाजमा भिमकुमारको सपनालाई पुरा गर्न र स्वेदशमै युवावर्गहरुलाई सिप सिकाउने थलो बनाउनको लागि त्यस्ता जग्गाधनिहरु पनि यो समाजमा हुन सक्छन् जसका जग्गाहरु त्यतिकै खाली परेका पनि होलान् ।
यदि त्यस्ता मनकारी जग्गाधनिहरु छन् भने भिम कुमारलाई पक्कै पनि सहयोग गर्नेछन् । या त सरकारले समेत उनको आवाजलाई सुन्न सक्यो भने उनले जीवन भर दुःख, मेहनत र परिश्रम गरेर सिकेको सिपलाई नेपालमा व्यवसायिकरण गर्न सकिनेछ । यस विषयमा सम्बन्धित निकायको ध्यानार्कषण होस् । ताकि हाम्रा युवा वर्गहरुले क्षमता अनुसारको सिप सिकेर आफ्नै देशमा स्वरोगार हुन सकुन् ।