नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओलीका खास मान्छेले अदालत, आयोगलगायतका संवैधानिक निकायमा सेटिङ भएको भनी प्रचार गरिरहेकाले सडक आन्दोलनलाई अझैं कडा बनाएर लैजानु पर्ने कुरामा जोड दिएका छन् । अनेरास्ववियूले आइतबार काठमाडौंमा आयोजना गरेको वाग्मती प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले सेटिङमै सबै काम भैरहेको खुल्न आएकाले यो सेटिङविरुद्ध जोडदार संघर्ष नगरी परिस्थिति नसुध्रने बताएका हुन् ।
हालसम्म गरिएको आन्दोलन केवल ‘साकाहारी’ भएकाले अबको आन्दोलन त्योभन्दा उच्च रुपमा लैजानु पर्ने आशय व्यक्त गर्दै उपस्थित युवा–विद्यार्थीलाई निर्देशित र प्रशिक्षित गरेका थिए । उपस्थित विद्यार्थीका माझ माघको जाडो हटाउने गरी तातो र न्यानो राजनीतिक वातावरण निर्माण गर्दै प्रचण्डले आन्दोलन थप आक्रामक बनाउन सुझाएका थिए ।
उनले देशमा प्रतिगमन अस्वीकार्य भएको भन्दै यसविरुद्ध आफू टाउको फुटाउन पनि तयार रहेको बताए । प्रतिक्रान्तिकारी कदमविरूद्ध लड्दा टाउको जोगाउन खोजियो भने त्यसले सोचेको प्रतिफल हासिल नहुने उनको आशय थियो ।
आन्दोलन थप सशक्त बनाउन संकेत गर्दै उनले सबैलाई यसमा साथ र सहयोग पुर्याउन अपिलसमेत गरे । हिउँदको समय आन्दोलनका लागि अति उर्वर रहेको भन्दै उनले प्रतिगमनविरुद्ध लड्दा कुनै कसर पनि बाँकी नराखेर अघि बढ्न आफू साथमा रहेको पनि उद्घोष गरे ।