धनकुटा । गृहमन्त्री रामबहादुर थापाले राजावादीका कारण नेकपा फुटेको आरोप लगाएका छन् । उनले राजावादीले नेकपाभित्रका असन्तुष्ट पक्षलाई उक्साएर पार्टी विभाजन गराएको आरोप लगाए ।
नेकपा केपी ओली पक्षले शनिबार धनकुटामा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै थापाले पार्टी विभाजन हुँनुमा राजावादीको मूख्य भूमिका रहेको आरोप लगाएका हुन् ।
राजावादीहरुकै षड्यन्त्रका कारण नेकपाभित्र विवाद निम्तिएको थापाको दावी छ । ‘जब हामीले देशमा राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गर्यौं, त्यही बेलादेखि प्रतिगामी शक्तिहरुले कसरी आफ्नो गुमेको सत्ता र शासनलाई पुनःस्थापित गर्ने भनेर षड्यन्त्र थालेका थिए ।’
थापाले भने-‘नेकपा एकतावद्ध भएर मुलुक समृद्धिको दिसातर्फ अघि बढ्न थालेपछि उनीहरुले नेकपालाई विभाजन नगराई आफ्नो शासन सत्ता नफर्कने देखेर पार्टीभित्रका कमजोरीलाई केलाउन थाले ।
नेकपाभित्रका असन्तुष्ट समूहलाई उत्तेजित बनाएर उनीहरुले पार्टी विभाजन गराउन सफल भए ।’ राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन नपाएर असन्तुष्ट रहेका अवसरवादीहरुलाई उचालेर राजावादीले चलखेल गरेको उनको तर्क छ ।
राजावादीको योजना अनुसार नै १९ पेजको आरोप पत्र आएको दावी गर्दै उनले प्रतिगामी र अवसरवादीसँग आत्मासमर्पण गरेर प्रधानमन्त्री पद त्याग्नुभन्दा संसद विघटन गुर्न उत्तम भएकाले प्रधानमन्त्री ओलीले नयाँ जनादेश रोजेको बताए ।
नेकपा विभाजन हुँदा मुलुकमा अस्थिरता आउने भएकाले सहपाठीदेखि सवै जनता विभाजनप्रति असन्तुष्ट रहेको भएपनि राजतन्त्र फर्काउने षडयन्त्र गरिरहेका प्रतिगामी शक्तिहरुले खुशीयाली मनाइरहेको थापाले बताए । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ ।