• फाल्गुन २७ २०८१, मंगलवार

संसद विघटन विरुद्ध जनमोर्चाले संघर्ष चलाउने

माघ ३ २०७७, शनिबार

राष्ट्रिय जनमोर्चा दाङले माघ महिनाभरि संगठनात्मक र संघर्षको अभियान संचालन गर्ने भएको छ । सो पार्टीको बैठकले गरेको निर्णय अनुसार ‘वडावडामा सभा, टोलटोलमा समिति’ भन्ने नाराका साथ संगठनात्मक र संघर्षको अभियान संचालन गर्ने भएको हो । अभियानको सिलसिलामा जिल्लाका प्रत्यक वडामा प्रतिनिधिसभा विघटनका विरुद्ध विरोध सभा गर्ने र टोलटोलमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन गरिने छ ।

प्रतिनिधि सभा विघटनको विरोध गर्नुका साथै गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा तथा संघीयता खोरजी र भ्रष्टाचारको विरोध गर्ने पनि अभियानको मुख्य विषय हुनेछ । जिल्ला स्तरीय कार्यकर्ताको भेलागरि उक्त कार्यक्रमको तर्जुमा गरिएको हो । जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले ओली सरकारको असंवैधानिक कदमका विरुद्ध शसक्त आन्दोलन उठाउनु पर्ने र लोकतन्त्रको रक्षाको लागि संसद पुनस्थापित हुनु पर्ने कुरामा जोड दिए ।

नेपालीले सरकारको गैरजिम्मेवार कदमका विरुद्ध जनतालाई बुझाउनु पर्ने र पार्टी संगठनलाई पनि मजबुत पार्नु पर्ने कुरामा जोड दिए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्वकेन्द्रीय सल्लाहकार सुरेश थापा, केन्द्रीय सदस्य कमला जिसी, अखिल नेपाल युवक संघका पूर्वकेन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेलले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, जिल्ला अध्यक्ष ऋषिराम पौडेल, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष चित्र एमसी, जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष टीका विक, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रामबहादुर जिएम, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य लालबहादुर भण्डारी, जिल्ला अध्यक्ष भानु जिएम, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य केसवराज खनाल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका जिल्ला अध्यक्ष जगत पोख्रेल, अखिल नेपाल ट्रेड युनियन महासंघ ‘अन्टुक’ का जिल्ला सचिव तुलसीराम पन्थी, अखिल नेपाल महिला संघका जिल्ला सचिब सारदा थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार तथा सहिद परिवारका ङनुकान्त आचार्य लगायतको आतिथ्यता रहेको थियोे ।