विराटनगर । ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ प्रमुख नाराका साथ २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज यहाँ सम्पन्न भएको छ ।
गत वर्षमा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दीगो सुख र समृद्धिको आधार’ प्रमुख नारा रहेको थियो । जिल्ला विपद् व्यवस्थापन समिति एवं जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आयोजित सो कार्यक्रममा प्रशासकीय अधिकृत दुर्गा न्यौपानेले भूकम्पबाट सुरक्षित रहन अवलम्बन गर्नु पर्ने उपायका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भूकम्पले भन्दा पनि मानिसले बनाएका संरचनाबाट नै मानिसको ज्यान जोखिममा पर्ने भएकोले आफूले निर्माण गर्ने संरचना भूकम्प प्रतिरोधात्मक हुनु पर्ने बताए । उनले आफ्नै कारणले जनधनको क्षति हुनु पर्ने अवस्थाबाट जोगिन कुनै पनि निर्माणका कार्य गर्दा चनाखो हुनु पर्ने धारणा राखेका थिए ।
विसं १९९० मा आएको महाभूकम्पले धेरै जनधनको क्षति गरेको र २०७२ साल वैशाख १२ गते ७.८ म्याग्नुचुडको आएको विनाशकारी भूकम्पले नेपालमा नौ हजार मानिसको ज्यान गएको, २२ हजार मानिस घाइते भएको, आठ लाख घरहरु ध्वस्त भएको, पाँंच हजार विद्यालयहरुमा क्षति पुगेको र करिब १० बिलियन अमेरिकी डलर बराबरको धनसम्पति क्षति भएको थियो ।
आगलागी, हावाहुरी, बतास, भूकम्प, बाढी, पहिरो, चट्याङ जस्ता विपद्बाट मानिसको ज्यान र सम्पति नष्ट हुने भएकोले अव निर्माण गरिने भवनहरु भवन आचार संहितानुसार बन्नु पर्ने प्राविधिकहरुको भनाइ छ । उनीहरुले बलियो संरचनाबाट नै मानिसको ज्यान बचाउन सकिने भएकाले यसतर्फ सबैको ध्यान जानु पर्नेमा जोड दिए । उनीहरुले भूकम्प आफैँमा विनाशकारी नभएर मानिसले बनाएको संरचनाबाट विनाश हुने भएकाले आफू सुरक्षित हुन बलियो संरचना बन्नु आवश्यक रहेको बताए ।
कार्यक्रम पछि सशस्त्र प्रहरीका एक टोलीले जिल्ला प्रशासन कार्यालयको परिसरमा भूकम्पको समयमा गरिने उद्धारकोे प्रस्तुती गरेको थियो ।