२०७२ सालमा आएको भूकम्प र त्यसपछि निरन्तर आइरहेका पराकम्पको बीचमा नेपालमा पुनर्निर्माणको कार्य सुरु भयो । गोरखाको बारपाक भूकम्पको पनि केन्द्र विन्दु र निर्माण कार्यको पनि केन्द्र विन्दुका रुपमा रह्यो । काम केही भयो वा गरियो भन्न लायकको बस्ती त्यही नै बन्यो ।
अन्य बस्तीहरु यसको तुलनामा कमै पुनर्निर्माण भए । कतिपय त निर्माणाधीन अवस्थामै छन् । कुनै कुनै बस्तीमा भने पुनर्निर्माणको अभियानले छोएन । यसको सिधा अर्थ हो, अझै पनि धेरै काम गर्न बाँकी छ ।
यसले एउटा यक्ष प्रश्न हामीमाझ छोडेको छ– त्यो हो, बस्ती हल्लाउने भूकम्पले हाम्रो मन हल्लाएको छैन कि ? किनकि, भूकम्प प्रतिरोधी भवन निर्माणमा न त सरकारको न त घर धनीकै चासो र चिन्ता रहेको पाइएको छ । निर्माण कार्य पनि मन फुकाएर गरिएको छैन ।
इन्जिनियर नै अनभिज्ञ छन् भवन मोडलका बारेमा
२०७२ सालको भूकम्पसँगै थोरै विशेषज्ञको बसाइ र भवन निर्माण संहिता पारित गरियो । त्यो संहिताका बारेमा अरुको रायसम्म पनि संकलन गरिएन । भवन निर्माण र राहत वितरणको चटारो देखाइयो । भावनात्मक र कारुणिक पक्षलाई बढि मात्रामा उजागर गरी देश विदेशबाट राहत संकलनको कामलाई अघि बढाइयो ।
तर भूकम्प प्रतिरोधी घर निर्माणको प्रेरणा र कर्म यही विन्दुबाट सुरु गरेर मोडल नै बनाउन सकिने कुरालाई बिर्सियो । यसलाई नेपालीपनको सांस्कृतिक तथा वास्तुकलासँगै अघि बढाउन सकिन्थ्यो पनि । तर त्यसो गरिएन । भूकम्प प्रतिरोधी घर निर्माणका पाँच वर्षसम्म पनि भवन निर्माण संहिताबारेमा इन्जिनियरिङ विषयका विद्यार्थीलाई जानकारी नै दिइएको छैन ।
भवन निर्माणको काममा खटेका इन्जिनियर पनि भवन संहिताका बारेमा एकमत छैनन् । त्यसलाई कार्यान्वयन गर्ने जनता त झन्् अझैसम्म पनि अलमलमा नै रहेका छन् ।
नेपालको आफ्नो भूगर्भ र यसको भौगर्भिक बनोट
नेपालको आफ्नै भौगर्भिक बनोट रहेको छ । यसको भौगर्भिक बनोट छिमेकी देश चीन र भारतको जस्तो छैन । चीन र भारतका आआफ्नै भौगर्भिक ठूला प्लेटहरु छन् । तर नेपाल भने खण्डखण्डमा रहेका चट्टानी गर्भका आधारमा टिकेको छ ।
नेपाल आफैमा टेथिस सागर उठेर बनेको देश हो । पूर्वमा म्यानमारदेखि पश्चिममा अफगानिस्तानसम्म उठेको हिमाली श्रृंखला संसारको सबैभन्दा कान्छो पहाडको श्रृंखला हो । यसैमाथि हिउँ पर्न थालेपछि यो हिमालय पर्वत बन्न गएको हो । यसैका कारण पनि ससाना भौगर्भिक हलचल र धक्काले नेपालमा ठूलो बिनास निम्त्याउन सक्छ ।
बस्ती निर्माणको पुरानै मोडल
नेपालमा रहेका बस्तीहरु पुराना मोडलमा आधारित छन् । पछिल्लो चेतनाका आधारमा निर्माण हुन सकेका छैनन् । यसले अबका दिनमा आउन सक्ने भूकम्पीय जोखिमलाई पर्खेर बसेको देखिन्छ । एकपटक आएको भूकम्पले गर्दा केही तयारी रहने तर पछि त्यसलाई बिर्सने बानी हामीमा छ । त्यसपछि त ‘देखा जाएगा’मा परिणत हुने गरेको छ ।
अबका दिनमा गाउँघरमा निर्माण भैरहेका घरहरुमा भूकम्प प्रतिरोधी डिजाइन, सामग्री तथा तरिकाहरुको प्रयोग गरिनु जरुरी छ । यसो गर्नेलाई प्रेरणा र बढावा दिनु पर्छ ।
भूकम्प प्रतिरोधी घरलाई अनुदान
बस्तीहरुमा निर्माण हुने भूकम्प प्रतिरोधी घरहरुमा आवश्यक अनुदान दिए यसले अरुहरुलाई प्रेरणा प्रदान गर्ने छ । घर निर्माण, नयाँ निर्माण वा पुनर्निर्माण जेसुकै होस् ती भूकम्प प्रतिरोधी बन्नु जरुरी छ ।
मौलिकताको खाँचो
पछिल्लो समयमा नेपालमा आर्थिक अनुदान भित्रन थालेसँगै उनीहरुकै डिजाइन र चाहनामा वास्तुकलाको निर्माणलाई जोड दिइएको देखिन्छ । यसले नेपालको मौलिकतालाई खाइदिने संभावना बढेर गएको छ । यसबाट सबैभन्दा बढी खतरा नेपालका पुरातात्विक सम्पदाहरूको संरक्षणमा परिरहेको छ । भूकम्पले भत्काएर पुनर्निर्माण गरिदै गरिएका होऊन् वा नयाँ निर्माण तिनमा मौलिकताको खाँचो छ । बरु बजेट नपाइए पनि केही समयपछि निर्माणका लागि धैर्यताको खाँचो छ । तर सम्पदाको मौलिकता हराउनु हुँदैन ।
बस्तीभन्दा बढि मन हल्लिनु जरुरी
भूकम्पपछि पनि हामीले सिक्न छुटाएका कुराहरु धेरै छन् । भूकम्प आउँछ, बस्ती हल्लाउँछ, तर त्यसले मन हल्लाएको कमै देखिएको छ । नेपालको आफ्नो भौगर्भिक विशेषता र वास्तुकलालाई चिन्न सकेमा जनचाहना अनुसार संभावित भूकम्प प्रतिरोधी भवन आचार संहिता निर्माण गरी नेपाली भावना जोगाउन सकिने देखिन्छ ।