योगभूमि नेपालमा विगत ६ वर्ष यतादेखि मात्र औपचारिक भनौँ राष्ट्रिय रुपमा योग दिवस मनाउन थालिएको छ । माघ १ गतेलाई योग दिवसका रुपमा हेर्ने परम्पराको थालनीसँगै यो वर्ष भच्र्युयल रुपमा राष्ट्रिय योग दिवस सञ्चालन गरिने समाचार बाहिरिएको छ । योग र ध्यानले व्यक्तिलाई सदाचारी बनाउन प्रयत्न गर्छ । मानव शरीरले सर्दी, गर्मीसँग लड्ने क्षमता योग र ध्यानबाट प्राप्त गर्न सक्छ । ध्यानले सिद्धि प्राप्त हुन्छ र सत्वगुणको चिन्तन गराउँछ । यसले शरीरलाई शुद्ध बनाउन प्रयास गर्छ । अनेकौं आशक्तिबाट छुट्कारा मिल्छ । ध्यानले दृष्टिकोणलाई फराकिलो बनाउँछ । ध्यान एक त्यस्तो अवस्था हो जसले ईश्वर वा अल्लाहसम्म सम्पर्क गर्न सहयोग गर्छ । योग साधनाका विभिन्न अवस्था र चरणहरु छन् । शारिरीक तन्दुरुस्ती र मानसिक भनौं आत्मबल ध्यानबाटै प्राप्त हुन्छ । शरीरमा पुनउर्जा पनि मिल्छ । विश्वका हरेक कुनामा यसले आफ्नो अस्तित्व देखाउँदैै आएको छ ।
उत्पादन र उत्पादकत्व वृद्धिमा स्वच्छ मन हुनु पर्छ । दूषित खानाले विचारलाई पनि प्रदूषित गराउँछ । मान्छेलाई अस्थिर बनाउने तत्व मन नै हो । मन र बुद्धिकै कारण मानव जीवन सफल, सार्थक र उपयोगी बन्ने हो । विज्ञानलाई सही, सदुपयोग गर्दै संसारमा हाँसीहाँसी जीवन बिताउन सक्ने खुबी प्रदान गर्ने योग एवं ध्यान साधना गरेरै आज नेतृत्वले ठूला र गम्भीर संकटबाट पनि मुक्ति दिलाएका कैयन उदाहरण छन्, हाम्रा सामु । हतियार सही रुपमा सञ्चालन गर्ने प्रहरी, सेना, औद्योगिक कल, कारखानामा काम गर्ने मजदूर र व्यवस्थापक, बजार सञ्चालन गर्ने व्यापारीदेखि उच्च प्रशासक मात्रै होइन, देश हाँँक्ने नेतृत्वलाई ध्यान र योेगले सही मार्ग निर्देश गरेको हुन्छ ।
संसारमा आज योग गुरुहरुले गरेको चमत्कार हेर्न लायक देखिन्छ । नियमित ध्यानमा बस्ने, योगाभ्यास गर्ने व्यक्तिमा रोग निरोध शक्ति त बढि हुन्छ नै । क्षणिक आवेग, तनाव, क्रोधबाट पनि मुक्ति पाउने हुँँदा सकल जीवनमा यसले सार्थकता ल्याउँछ । तनावरहित जीवनले गरेका निर्णयहरु पछिसम्म दीगो हुन्छन् । हतास मनस्थिति र दबावबाट भए गरेका निर्णयहरु तत्काल राम्रो देखिए पनि परिणाम लामो समयसम्म टिकाउ हुन्न । आजको हाम्रो राजनीतिक किचलो हतास मनस्थितिको परिणाम हो । आन्दोलनबाट आएको सत्ता संसारमै दीगो भएको छैन ।
दबाव, आयातित र स्वार्थबस बनेका ठूला कानुन भनौँ हाम्रा संविधानले स्थिर रुपमा काम गरेको छैन । ७० वर्षमा धेरै धेरै खर्च गरिएर ७ वटा संविधान बनिसके, तैपनि जनता निराश छन् । बेलायतमा अलिखित संविधान छ । अमेरिका, भारतमा एउटै संविधानले काम गरेको कति वर्ष भैसक्यो । गरिब देशमा दर्जनौँ संविधान बनाउँदै गर्ने आफै च्यात्दै जाने बडा नौलो बानीको विकास भएको छ हामीकहाँ । १३ सालदेखि आवधिक योजनाको थालनी भयो, अहिलेसम्म विकासको प्रतिफल आशालाग्दो छैन । देशको आर्थिक दूर्गति मात्रै होइन, आर्थिक वृद्धि शून्य प्रतिशत झरेको छ । विदेशमा ध्यान, योगस्थल छुट्याई कल कारखाना, कार्यालयमै निश्चित समय तोकी श्रमिक लगायत अन्य जनशक्तिलाई यसमा समाहित गरिएको हुन्छ ।
ध्यान योगमा समाहित भएको व्यक्ति हत्तपत्त आत्महत्याको प्रयास गर्दैन ।
हिजोआज हामीकहाँ विभिन्न परवेशले मानिस आत्महत्यातिर लम्केको देखिन्छ, यसको संख्या पनि बढेको छ । योगमा निपुण व्यक्ति आपराधिक हुँदैन, राज्यमा आपराधिक मनोवृत्तिमा कमी आयो भने शान्ति सुरक्षाका लागि गरिने अधिक खर्च हातहतियारमा भन्दा विकास, समाज सेवामा लगाउन सक्छ राज्यले ।
देशमा सँधै लुटपाट, आगजनी, तोडफोड, हत्या, हिँसा हड्ताल हुँदैन । सौम्य र शान्त नेता अनि तिनका समर्थक जनताबाट भएको विकास दीगो हुन्छ र हामीले तय गरेको विकासको रोडम्यापको पनि सार्थकता रहन्छ । हिजोआज विज्ञानले पोल्टामा हालेको आयुर्वेदको मूल विषयवस्तु नै हो योग र ध्यान ।
अहिले कोरोनाले विज्ञानलाई चुनौती दिएको छ । १८ लाख मान्छे एकैचोटी निल्यो यसले, खै त औषधि र विश्व स्वास्थ्य संगठन, के उसको काम कोरोनाको बोधार्थ मात्रै हो ? योगले शरीरमा एन्टीबडी निर्माण गर्छ र रोगसँग लड्ने क्षमताको विकास गर्छ । कहाँ गयो हाम्रो आयुर्वेद संयन्त्रको लगानी ? कोर्स सिलेवसमा राखेर मात्रै हुन्छ ? मानव जीवन स्वस्थ र तन्दुरुस्त भए मात्र अन्य विषयले काम गर्ने हुन् । मान्छे नभए के को लागि विकास ? खै हाम्रो सरकारले सोचेको ? योग र ध्यानमा एकाग्रता जरुरी छ, निश्चल हुनुपर्छ । यन्त्र, उपकरण, साजसज्जा, ध्वनी, संगीत, संचारका साधन ध्यान गर्दा साथमा नहुनु राम्रो हो । इन्द्रीयका विषयवस्तुलाई एकतृत गरेर कुनै एक स्थानमा राखी मनलाई एकाग्र गराइनु ध्यान हो । यसो गर्दा इन्द्रीयसहित मन स्थिर हुन जान्छ, चित्त चञ्चल हुँदैन । बादलमा चम्कने विजुली झैं बारम्बार विषयप्रति मन चम्कन पाउँदैन । जसरी वनस्पतिका पातमा परेका पानीको थोपा पातमा खेलिरहन्छ ठीक त्यस्तै ध्यान मार्गमा केन्द्रित मन साधकको अन्तर हृदयमा मात्र खेलिरहन्छ, बाहिर भड्किँदैन । आलस्य त्यागेर योगमा भनौ वा ध्यानमा निरन्तर लाग्नु वेश हुन्छ ।
सुरुमा ध्यानमा केही बाधा आउँछन् । मनमा क्लेश, वितर्क पैदा हुन सक्छ तर आत्मकल्याणको पूर्वआधार मानेर स्थितचित्त हुनु उत्तम हुन्छ । मन र इन्द्रीय ध्यानस्थ भएपछि आफूभित्र आफैंमा शान्ति प्राप्ति हुन्छ । शान्ति बजारमा किन्ने विषय होइन, आफैले बनाउने हो । योगबाट कसैप्रति द्वेष, छिद्रान्वेषण, याचना वृत्ति, पर निन्दा सबै हटेर जान्छ । मूलतः क्रोधमाथि विजयी बन्छ । क्रोध, आवेग, तनावबाट पैदा हुने मनको जलन र शारीरिक रोगहरु विस्तारै हटेर जान्छन् । रक्तचाप जस्तो डरलाग्दो रोग र मधुमेह जस्तो रोगलाई योगमा बस्नेहरुले र नित्य व्यायाम गर्नेहरुले विजय प्राप्त गरेका छन् । आहार, बुद्धि, विचार शुद्धि निरन्तर शारीरिक व्यायाम एवं समय मिलाई ध्यानमा, योगमा, रहँदा शरीरका दुर्वलताहरु स्वतः हटेर जान्छन् ।
विषयबाट मनलाई हटाएर मुलाधार चक्रबाट कुम्डलिनी शक्ति उठाएर सर्वप्रथम प्राण, अपान, उदान, समान र व्यान पाँच वायुलाई हृदयमा स्थापित गर्नेको नाम योग हो । अनाहत चक्रमा पाँच वायुलाई स्थापित गर्दा अर्थात मनलाई प्राण र अपान वायुका साथ प्रविष्ठ गर्दा नाकको अग्रभागमा दृष्टि पर्न जाँदा त्यो भागमा स्वरुप देख्दा दुवै आँखीभौंकाबिच आज्ञाचक्रमा आफूलाई स्थापित गर्दा योगको प्रक्रियागत अवस्थामा पुगिन्छ । प्राणवायु सहित मनलाई शिर भागमा स्थापित गरेपछि जीव समाधिमा स्थित हुन्छ । यतिबेला शरीर हल्लिँदैन, चेष्टाबिहीन अवस्थामा पुग्छ ।
समाधिस्थल यसरी अघि बढेका योगीजनहरु ब्रह्मरन्ध्रलाई भेदन गरी ज्योतिर्मय प्रकाश निकाली सिधा ब्रह्मको गन्तव्यतिर पुग्छन् ।
योगभाव २ प्रकारको हुन्छ । एक सकाम र अर्को निस्काम । मनले बन्धन तोड्ने भनेको निस्काम हो, योगको उच्चतम प्रयोग हो । मनबाट फलको इच्छा त्यागको नाम मोक्ष हो । जसलाई मोहको क्षय भनिन्छ । रात बितेर, अन्धकार हटेपछि स्वतः प्रकाश प्राप्त भएझैं मनको अज्ञानता हटेपछि स्वतः खालि ठाउँ भर्ने काम दिव्य ज्योतिबाटै हुन्छ । अन्धकारको आवरण हटाएपछि ज्योतिले प्रवेश पाउँछ । ‘तमसो माँ ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय’ भनेकोे पनि यही हो ।
रुप, रस, गन्ध स्पर्श भन्दा ईश्वर पृथक हुन्छ । यो मन र वुद्धि भन्दा फरक छ । गोचर भएर अगोचर र अगोचर भएर गोचरको रुपमा प्रतिविम्वित हुन्छ । साकार प्रतिविम्वत उसको संसार हो भने निराकारमा ऊ सबै जीवको चित्त हो । परा र अपरा अर्थात् चित्त एवं जड सत्ता संचालन गर्दै ऊ सबैप्रति एकाकार भैरहन्छ । चित्त शक्ति अनाशक्त र निर्गुण छ । बर्फी उसको साकार रुप हो भनौं स्वाद उसको निराकार । आफू निराकार भएर पनि सगुण साकारको संसार रचना उसले गरेको छ । ऊ स्त्री होइन, न ऊ पुरुष नैे, ऊ नपुंसक होइन, न उभयरुप नै, असत होइन, ऊ सत हो, चित्त हो र आनन्द पनि ।
आनन्दको अभव्यिक्ति भन्नु ईश्वर हो, हेर्नेहरुले अलग अलग रुपमा हेरे पनि ईश्वर पृथक हुन्न एउटै हो, गन्तव्यमा पुग्ने पृथक बाटाहरु हुन सक्छन् । अक्षर ब्रह्मको रुपमा उसलाई प्राप्त गर्न सकिन्छ । जुन कुरा कहिल्यै नाश हुन्न त्यो अक्षर हो, अभय हो । अक्षर ब्रह्मबाट आकाश, आकाशबाट, जल र जलबाट पृथ्वी बनेको हो । पृथ्वीबाट पार्थिव हाम्रो शरीर बनेको हो । पृथ्वी नभए पार्थिव हुँदैन ।
पार्थिव शरीर जलमै लय हुन्छ । जलबाट यो अग्निसम्म पहुँच हुन्छ, अग्निबाट वायुसम्म र वायुबाट आकाशसम्म पहुँच हुन्छ । आकाशबाट परमात्मा सम्म लीन हुन पुग्छ । अर्थात जहाँबाट आएको त्यही फर्कन्छ । स्थायी घर त्यही हो । यहाँको घर अस्थायी हो भनौं जीव पाहुना हुन् पृथ्वीका क्षण भरका, समय भरका, काल भरका । परमात्मा प्राप्ति भैसकेपछि पुनर्जन्म हुँदैन । त्यो परमात्मा कस्तो होला एक पटक चिन्तन गरौं । परमात्मा न ठण्डा छ न गरम । ऊ कठोर छैन, कोमल छ । तीतो, पिरो, टर्रो, नुनिलो ऊ केही होइन, माधुर्यता उसको गुण हो । शब्द, गन्ध, रुपबाट पनि ऊ रहित छ । त्वचाले स्पर्शको, जिभ्रोले रसको, नाकले बास्नाको, कानले आवाजको, नेत्रले रुपको अनुभव गरे झैं परमात्माको अनुभव त्यसरी हुँदैन । जीव र शिवको भिन्नता नै त्यही हो । शरीरधारी देखिए पनि ईश्वरको शरीर हाम्रो जस्तो हुँदैन ।
दिव्य हुन्छ, लीला दिव्य, धाम दिव्य, काम दिव्य भएझै ईश्वरको शरीर देहधारीझैं अवतार विशेषमा देखिए पनि त्यो दिव्य नै हुन्छ ।
अध्यात्म ज्ञानबिना परमात्माको ध्यानमा मन जाँदैन । अध्यात्मज्ञानबाट योगमा समाहित भएपछि परमात्माको दर्शन आपैm हुन्छ । परमात्मा ज्ञानको श्रोत हो, र विज्ञानको । ज्ञानबिनाको, अध्यात्मबिनाको विज्ञान लंगडो हुन्छ, त्यसैले त हिरोसिमा र नागासाकीमा ठोक्किन्छ, त्यसैले त ट्विन टावरमा ठोक्किन्छ, त्यसैले त १० वर्षे जनयुद्धका नाममा बुद्धको देशमा ठोक्किन्छ, हिटलर शाकाहारी थिए, मतपेटिकालाई साक्षी पनि बनाए तर उनको मनमा शान्ति भएन, गान्धीले हतियार बिना नै समाजको परिवर्तन गरे । मस्तिष्कको दाता ईश्वर हो, विज्ञानको श्रोत मानव हो भने ज्ञानको श्रोत ईश्वर हो । पुस्तक पढेरै मान्छे ठूलो हुने होइन, अन्तरमुखी बन्नलाई ध्यानले मद्दत गर्छ । बहिरर्मखी मात्र हुँदा विज्ञानको श्रोत बुझ्न सकिन्न । बिजुली बन्न पानीको आवश्यकता छ ठीक त्यस्तै विज्ञानको ज्ञाता र सदुपयोगी बन्न अध्यात्मकोे आवश्यकता छ । अध्यात्म ज्ञानको परिचय दिने धेरै मार्गहरु छन् । त्यसमध्ये एउटा मार्ग हो- योग र ध्यान, अस्तु ।