• बैशाख ९ २०८२, मंगलवार

प्रदेश प्रहरीद्वारा टेलिभिजन कार्यक्रम

माघ २ २०७७, शुक्रबार

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रहरीले गरेको गतिविधिलाई जनतासामु सार्वजनिक गर्न पाक्षिकरूपमा टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ सञ्चालनमा ल्याएको छ ।

प्रदेश राजधानी हेटौँडाबाट सञ्चालनमा आएको पहिलो स्याटेलाइट टेलिभिजन नेशनल गोल्ड एचडीमार्फत हरेक महिनाको १ र १५ गते प्रसारण हुने गरी कार्यक्रम प्रसारण आरम्भ गरेको हो । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडामा बिहीबार आयोजित टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ शुभारम्भ कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले टेलिभिजनको प्राविधिमार्फत कार्यक्रमको शुभारम्भ गरे ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेशभित्रका सबैखाले सुरक्षा संयन्त्रलाई हरेक प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार गरेको जानकारी दिए । वाग्मती प्रदेशअन्तर्गतका प्रहरी एकाइबाट सम्पादित काम कारवाहीको सम्बन्धमा आम नागरिकलाई जानकारी गराउने र शान्तिपूर्ण समाज निर्माणमा नागरिक दायित्वलाई प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन थालिएको हो ।

पाक्षिकरूपमा आधा घण्टाको ‘प्रहरी दर्पण’ कार्यक्रम नेशनल गोल्ड टेलिभिजनबाट बेलुकी ७ः३० बजे नियमित प्रसारण हुनेछ । उक्त कार्यक्रम वाग्मती प्रदेशअन्तर्गत कार्यरत प्रहरी कर्मचारीहरुबाट नै निर्माण तथा सञ्चालन गरिनेछ । शान्ति सुरक्षा कायम राख्ने तथा अपराध रोकथाम गर्ने सन्दर्भमा आम नागरिकलाई सजग गराउन विभिन्न रचनात्मक तथा सन्देशमूलक सामग्री प्रसारण गर्ने र प्रहरी काम कारवाहीको सम्बन्धमा नागरिकबाट राय सुझाव सङ्कलन गर्न टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ सञ्चालनमा ल्याइएको प्रहरीको भनाइ छ ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले शान्ति सुरक्षा कायम राख्ने तथा अपराध रोकथाम गर्ने सन्दर्भमा आम नागरिकलाई सजग गराउन विभिन्न रचनात्मक तथा सन्देशमूलक सामग्री प्रसारण गरिने योजना रहेको जानकारी दिए । प्रहरी काम कारवाहीको सम्बन्धमा नागरिकबाट राय सुझाव सङ्कलन गर्नुका साथै शान्तिपूर्ण समाज निर्माणमा नागरिक दायित्वलाई प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

भेट्रान्स कप राष्ट्रिय फुटबल प्रतियोगता

हेटौँडामा आगामी माघ ५ गतेबाट १० गतेसम्म हेटौँडा भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको छैटाँै संस्करण २०७७ हुने भएको छ । हरेक वर्ष हेटौँडा भेट्रान्स क्लबको आयोजनामा हुने प्रतियोगितामा यो वर्ष देशभरिका करिब २० टिमले सहभागिता जनाउनेछन् । प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

हेटौँडाको हुप्राचौरमा आयोजना गरिने प्रतियोगितामा चालिस वर्षमाथिका उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीको सहभागिता रहने क्लबका उपाध्यक्ष नवराज बज्राचार्यले बताए । छैटौँ संस्करणको प्रतियोगितामा विजेता टिमले क्रमशः प्रमाणपत्र, शिल्डसहित नगद रु एक लाख एक हजार १११, उपविजेताले नगद रु ५१ हजार १११ रहेको जनाइएको छ ।

त्यस्तै सर्वश्रेष्ठ खेलाडीले रु १० हजार, खेलको सर्वश्रेष्ठ मिडफिल्डर, फरवार्ड, डिफेन्स, गोलकिपर र समूह कोचलाई जनही रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचको पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । गत वर्ष पाँचौँ राष्ट्रिय भेन्ट्रान्स कपको विजेता बगर भाइखलक पोखरा बनेको थियो ।