काठमाडौं । नेपालमाथि भारतीयहरुको दादागिरी धेरैवर्ष अघिदेखिको हो । यसैबिच भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा क्षेत्रको सडक प्रयोगमा रोक लगाएको छ । भारतीय नागरिकले प्रयोग गर्दै आएको भए पनि नेपाली नागरिकलाई रोक लगाएपछि कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटका बासिन्दा समस्यामा परेका छन् ।
नेपालको सडकघाट र भारतको टिल्ला नम्बर ४ बिचको दशगजा क्षेत्रमा निर्माण भएको सडक दुवै देशका बासिन्दाले प्रयोग गर्दै आएका थिए । केही दिनयता एसएसबीले नेपालीलाई प्रयोगमा रोक लगाएको स्थानीय बासिन्दा चक्रबहादुर कठायतले बताए ।
‘यो सडकमा वर्षौंदेखि हिँडडुल गर्दै आएका थियौँ । खेतबारीमा जाने यही बाटो हो,’ कठायतले भने, ‘अहिले आएर एसएसबीले हामीलाई एकाएक रोक लगाएको छ । तर, भारतीय नागरिक निर्वाध प्रयोग गरिरहेका छन् ।’ स्थानीय किसान भन्छन्, ‘सडक प्रयोग गर्न नदिएपछि खेतमा जान पाएका छैनौँ । अन्नबाली खेतमै छ, ल्याउन पाएका छैनौं ।
दशगजा क्षेत्रको सडक स्थानीय बासिन्दाले ०३५ देखि प्रयोग गर्दै आएको स्थानीय बासिन्दा बताउँछन् । उनीहरूका अनुसार यही सडक भएर खेतमा पुगिन्छ । अहिले एसएसबीले रोकेपछि खेतमा पनि जान नसकिएको उनीहरूको भनाइ छ । ‘सडक प्रयोग गर्न नदिएपछि खेतमा जान पाएका छैनौँ । अन्नबाली खेतमै छ, ल्याउन पाएका छैनौँ,’ स्थानीय किसान कठायतले भने ।
खेतमा जान खोज्दा पनि एसएसबीका जवानले यो बाटो नआउनुहोस् भनेर फर्काउने गरेको उनले दुःखेसो गरे । स्थानीय बुद्धिजीवी विवेक लम्सालले भारतीय एसएसबीको ज्यादतीका कारण नेपालीले आफ्नै खेतमा उत्पादन भएको अन्नबाली भित्र्याउन नपाएको बताए ।
‘मैले खेतमा तोरी लगाएको थिएँ, एसएसबीले सडक प्रयोग गर्न नदिएपछि भित्र्याउन पाएको छैन । सुक्न लागिसक्यो,’ लम्सालले भने । अहिलेसम्म यो सडक दुवै देशका नागरिकले प्रयोग गर्दै आएको बताए । नागरिक स्तरमा कुनै विवाद पनि नभएको उनको भनाइ छ ।
‘दुवै देशका नागरिकले प्रयोग गर्दै आएका थियौँ, नागरिकस्तरमा कुनै विवाद पनि भएको थिएन,’ उनले भने, ‘तर, एकाएक एसएसबीले हामीलाई रोक लगाएपछि समस्यामा परेका छौँ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।