काठमाडौं । हिजो ललितपुरबाट पक्राउ परेका विप्लव नेकपाका धर्वेन्द्र बास्तोला लगायतका नेताहरुको गिरफ्तारी गैरकानुनी, गैरन्यायिक र षडयन्त्रमूलक भएको भन्दै विप्लव नेकपाले आगामी १० गते नेपाल बन्दको आयोजना गरेको छ ।
सो पार्टीका स्थायी समिति सदस्य धर्वेन्द्र बास्तोला, विवेक र विशाललाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको ग्रामीण इलाकाबाट उनीहरुलाई पक्राउ गरिएको हो । बास्तोला सरकारसित वार्ता गर्ने वार्ताटोलीका सदस्य पनि हुन् भने सो पार्टीका विदेश विभाग प्रमुख पनि हुन् ।
महासचिव विप्लवले विज्ञप्तिमा वार्ता गर्ने नाटक गरेर आफ्ना नेताहरुलाई पक्राउ गर्ने ओली सरकारको कडा निन्दा पनि गरेका छन् । साथै उनले कार्यकर्ताहरुलाई सरकारी रवैयाबाट बचेर काम गर्नपनि निर्देशन दिएका छन् । विप्लले विज्ञप्तिमा आफ्ना नेता पक्राउ परेको विरुद्धमा संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
कार्यक्रम अन्तरगत ३ गते विरोध कार्यक्रम, ५ गते विरोध सभा, ७ गते विरोध जुलस, ९ गते मशाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम रहेको जनाइएको छ । सो पार्टी र सरकाबिच वार्ता गर्नका लागि वार्ता टोली सदस्यको जिम्मा पाएका नेता बास्तोलालाई पक्राउ गर्नु निन्दनीय र सरकार षडयन्त्रमा लागेको प्रस्ट भएको भनिएको छ ।