सुदूरपश्चिम प्रदेशमा माघे संक्रान्तिलाई नरहरी पर्व भनिन्छ भने यहाँका थारु समुदायले माघी पर्वको रुपमा मनाउँछन् । यस पर्वलाई नरहरी, माघे संक्रान्ति, मकर संक्रान्ति, काग तिहार, किराँत समुदायको नयाँ वर्ष, भुवा पर्व, तोल लोसार लगायत विविध नामले पुकारिने भएकोले विविधतामा एकताको रुपमा मनाइने भएकोले पवित्र नरहरी पर्वको रुपमा लिइन्छ । नरहरी भन्नाले नरं हरी हुन्छ, भने नर भन्नाले मानव र हरी भन्नाले भगवान विष्णुलाई जनाउने भएकोले मानव भगवानमा विलिन हुने भएकोले नरहरी हुन गएको हो । नरहरी पर्व वा माघे संक्रन्तिदेखि माघ स्नान शुरु हुन्छ ।
यस दिनमा पवित्र तिर्थ स्थलको भ्रमण गर्ने नदी, कुण्ड, तलाउ, कुवा, पँधेरो लगायतको स्थानमा गई गंगास्नानको रुपमा स्नान गरिन्छ । यस दिनमा गंगास्नान गर्दा पाप नास भई पुण्य कमाइन्छ भन्ने धार्मिक मान्यता रहेको छ । यस दिन नुहाउँदा खेरी ‘नरहरि नरहरि, पाप प्रहरी’ मन्त्र उच्चारण गरिन्छ । यसको अर्थ नरहरिले पाप जति सबै नास गरी पुण्य प्राप्त गर्दछ भन्ने हो । यस महिनालाई महात्म्य महिनाको रुपमा लिइन्छ । पशुवली निषेध गरिन्छ । माछा, मासु, मदिरालाई बर्जित गरिन्छ र शुद्ध साकाहारी भोजन गर्ने गरिन्छ ।
नरहरी पर्वलाई चेली तिहारको रुपमा पनि लिइन्छ । यस पर्वमा विवाहित छोरी बहिनीहरु माइत आउने मिठामिठा परिकारहरु पकाउने खाने गरिन्छ । बझाङ्ग, बाजुरा, डडेल्धुरा, डोटी जिल्लामा छोरी बहिनीहरुलाई भेट्न जाने (भिटौलो गर्ने) चलन रहेको छ । बैतडी, दार्चुलामा भने चैत्र महिनामा भिटौलो मनाइन्छ । आज भन्दा ३०–४० वर्ष अगाडि पुष मासान्त सम्म चामल पिस्ने, कुट्ने सबै तयारी गरी सक्ने साथै पशुवस्तुको लागि घाँस तथा डालेघाँस समेत मसान्तको दिन काटेर थन्क्याएर राख्ने गरिन्थ्यो ।
ज्योतिष शास्त्र अनुसार सूर्य धनु राशिबाट मकर राशिमा संक्रमण गरेको दिन भएकोले मकर संक्रान्ति रहन गएको हो ।
माघे संक्रान्तिको दिनदेखि सूर्य उदयविन्दु दक्षिणबाट उत्तरतर्फ सर्ने भएकोले यस दिनलाई उत्तरायण संक्रान्ति पनि भनिन्छ यस दिनदेखि दिन लामो तथा गर्मी मौसमको प्रारम्भ भएको मानिन्छ । यस दिनमा कुनै पनि रुख विरुवा काट्नु हुँदैन । ताकि लसुन, धनियाँ, केराको पात समेत विरुवाबाट भाँच्नु वा लिनु हुँदैन भन्ने मान्यता थियो । यसबाट के बुझिन्छ भने कुनै पनि सजिव वस्तुको ज्यान लिनु महापाप हो ।
पौष मासान्तको दिनमा सबै जनाले घरघरमा सेलरोटी तथा सेल पुरी पकाउने र पहिला पकाएको सेलपुरी कागको भाग लगाएर राख्ने गरिन्छ । कागको लागि पकाएको सेलरोटी माघे संक्रान्तिका दिन बिहानै केटाकेटीहरुलाई नुहाई धुवाई गरेर ती केटाकेटीहरुले घरको छानामा गएर ‘काँ कौवा काँ’ सेलरोटी खा वा ‘काँ कौवा काँ, मेरी रोटी खाँ’ भनेर काग बोलाउने गरिन्छ । कागलाई यमराजको दूतको रुपामा लिन्छ । कागलाई अशुभ मान्ने गरिए ता पनि पुस १५ मा काग तिर्थस्थलमा गई स्नान गरी संक्रान्तिको दिनमा फर्केर सेलरोटी खाने गरेको जनविश्वास रहेको छ ।
यस दिनमा कागले धेरै सेलरोटीहरु संकलन गर्ने र ती लुकाएर राखेको वा लैजाँदै गर्दा खसेको वा कागले बिटुलेको (जुठो गरेको) सेलरोटी ब्याउने गाईलाई खान दिएमा तिनबाट जन्मेका बाच्छाबाच्छी सेतोकालो रंगको (माली र माले) तथा राम्रो बलियो जन्मने विश्वास गरिन्छ । यस दिनमा तिलको लड्डु खाने, घ्यू गुड खाने, घ्यू चाकु खाने, रिउडी खाने, तिलकुटी खाने, साथै वन वा घर तरुल, तेकना, गिठा, सखरखण्ड, पिडालु, पाकेको फर्सी आदि कन्दमुलहरुलाई उसिनेर खाने तथा प्रसादको रुपमा छरछिमेकमा बाँड्ने चलन छ । साथै पाकेको काँक्रालाई संचय गरी राखेर यस महिनामा काँक्रो बाँडेर खाँदा जतिजनाले काँक्रो बाँडेर खाएको हो ती सबैको मृत्युपछि स्वर्गमा भेट हुन्छ भन्ने पनि विश्वास रहेको छ ।
‘बाडेर खाऔं स्वर्ग जाऔं, एकलै खाऔं नर्क जाऔं’ भन्ने कुराको मानवलाई शिक्षा दिन खोजेको छ ।
यस दिन ब्रह्मणलाई खिचडीको समाग्रीहरु दान गरिन्छ भने योगी, सन्त महन्त, सन्यासीहरुलाई खिचडीको भोक लागेमा पुण्य हुने जनविश्वास रहेको छ । कन्याहरुलाई मिठो भोजन गराउने तथा दान दक्षिणा दिने समेत गरिन्छ । न्यानो तथा ऊनीको लुगा दान गर्ने समेत गरिन्छ । भजन किर्तन गर्ने मठमन्दिरमा पूजाआजा तथा भगवानको आरधाना गरिन्छ ।
यो पर्वले प्रकृतिको पूजा गर्नु पर्दछ । प्रकृतिसँग मित लागाउनु पर्दछ वा प्रकृति सित प्रेम भाव जगाउनु पर्दछ भन्ने देखाउँदछ । एक आपसमा मिलेर बस्नु पर्ने आफुसँग भएको कुरालाई सबैलाई बाँडेर खानु पर्दछ । सबै सधैं हाँसी खुशी भएर बाँच्नु पर्दछ । मानव तथा जनावरको त कुरै नगरौं वनस्पतिलाई समेत काट्नु हुँदैन भन्ने शिक्षा दिन्छ । हामी सबैले सबैको रक्षा गर्दा मात्र हाम्रो रक्षा हुन सक्दछ ।
मानव विवेकशील प्राणी भएकोले सबैलाई प्रेमभाव राख्नु पर्दछ । हरेक काम गर्दा विवेकी बन्नु पर्दछ यसले मात्र पुण्य प्राप्त हुन्छ । धर्म गर्ने शुरुवात महिनाको रुपमा यस महिनालाई लिइन्छ । यसै महिनामा एक महिना भरी पूजा गरिने स्वस्थानी माताको वर्त समेत गरिन्छ । देशप्रदेश गएका परिवारका सदस्यहरु घर फर्कने गर्दछन् भने अरुबेला माइत आउन नसक्ने विवाहित छोरी, दिदी बहिनीहरु माइती सम्झेर माइती घर आउने गर्दछन् । पुस महिनामा रात लामो र चिसो हुने भएकोले रातीमा मुडाको आगो ताप्ने झोडा गाउने (भगवानको स्तुति गान) कथाहरु सुनाउने जस्तैः नौलाहितकी बातै रामायण, महाभारत गिता लगायतका धार्मिक ग्रन्थहरु पढ्ने सुनाउने गरिन्छ ।
हाल आएर यस्ता कुराहरु लोपहुँदै गएका छन् । यसको संरक्षण संवद्र्धन गर्न आवश्यक छ । अवका दिनमा स्थानीय सरकारले यस्ता किसिमका नैतिक शिक्षा दिने खालका संस्कार तथा संस्कृतिको जगेर्नाको लागि विभिन्न प्रतियोगिताहरु तथा कृयाकलापहरु सञ्चालन गर्नु आवश्यक छ । धर्मो रक्षति रक्षितः । पवित्र नरहरी तथा माघे संक्रान्ति पर्व २०७७ को उपलक्षमा हार्दिक मंगलमय शुभकामना ।