यो थारु समुदायको नयाँवर्ष हो । नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएका थारुहरुको पर्व हो । तथापि माघीको महत्व पूर्वभन्दा पश्चिम नेपालमा बढि छ । २०५९ सालमा तात्कालीन नेपाल सरकारले थारु समुदायको पर्वका रुपमा माघीलाई मान्यता दिएर सार्वजनिक बिदा दिएपछि यसले देशव्यापी मान्यता पाएको हो । काठमाडौंमा रहेका पूर्वपश्चिमका थारुहरु सबै मिलेर संयुक्त रुपमा माघी मनाएपछि माघीयले व्यापकता पायो ।
रितिथिति र संस्कृतिः
यो थारुहरुको रितिथिति बाँध्ने ठूलो पर्व पनि हो । प्रत्येक थारुगाउँ सञ्चालन गर्नका लागि बडघर चुनिन्छ । बडघर भनेको गाउँको अगुवा हो । ठाउँविशेष अनुसार यसलाई विभिन्न रुपमा सम्बोधन गरिन्छ । यही बडघर चुनिनुका कारणले नेपालमा लामो समय स्थानीय निकाय जनप्रतिनिधि बिहीन हुँदा पनि थारु गाउँहरुमा थरुप्रतिनिधिले काम गरिरहेका थिए ।
थारु समुदायको आफ्नै प्रतिनिधिः
निर्वाचित सरकारी तथा अन्य संस्थाका प्रतिनिधिका समानान्तरका रुपमा त होइन, तर थारु समुदायको आफ्नै प्रतिनिधि रहने गरेका छन् । यी प्रतिनिधिले थारु समुदायको हित र अहित हुने कार्य छनौट गरि प्रतिनिधिलाई सघाउने गर्दछन् । थारु समुदायको बस्तीमा परेका योजना र आयोजनामाथि बडघरको नेतृत्वमा समुदायको छलफल हुन्छ र आवश्यक निर्णय लिइन्छ । बडघर गाउँको रितिथिति, अर्थप्रणाली, अनुशासन आदि धेरै कुरासँग सम्बन्धित छ । विकास निर्माण बडघरकै नेतृत्वमा हुन्छ । बडघरबिना गाउँमा सिंचाइ प्रणाली संभव हुँदैन ।
गुरुवा चयनः
गाउँको संरक्षकका रुपमा गुरुवा रहन्छ । गुरुवा भनेको धामी हो । गाउँगाउँमा दिवार थान र मरुवा हुन्छ । यसमा पुजाआजाका कामहरु हुन्छन् । गुरुवाको सामुुहिक रुपमा चयन गरिन्छ । यसको टुंगो वृहत् छलफलबाट लगाइन्छ । फाली, हलो, कोदालीका लागि लोहार तथा वर्षभरि कपडा सिलाउनका लागि सूचीकारको छनौट पनि यसै माघीमा गरिन्छ । यसका साथै घरघरमा छुट्टभिन्न हुने काम पनि यसै पर्वमा गरिन्छ ।
विहेबारी :
छोराछोरीको विहेबारीको कुरा पनि यही पर्वमा चलाइन्छ । अरु बेलामा उठाउन नपाइएका घरायसी मुद्दा वा किचलो यसै समयमा उठाइन्छ । घरका मूलीमाझीले छोरोछोरीहरुलाई ‘तिमीहरु ठूला भयौ, हामीले अनाज पनि जम्मा गरेका छौं, पैसा पनि जोगाएका छौं, विहेबारी गरौं’ भनी सरसल्लाह गर्ने गर्दछन् । कविलायी संस्कृतिबाट आएको थारु समुदाय आन्तरिक छलफल र सरसल्लाह गरेर चल्ने चलाउने विधिलाई मान्दछन् । यसमा पनि बडघरको ठूलो महत्व छ । पूर्वी नेपालभन्दा पश्चिम नेपालको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा सुर्खेतमा बडघर प्रणाली निकै प्रचलनमा छ ।
ख्याला वा सभाः
माघीको पहिलो हप्तामा ख्याला वा गाउँसभाको आयोजना हुन्छ । ख्याला नै यो समुदायको सामुहिक अधिकार प्रयोग अभ्यासको थलो हो । यहाँ उपस्थित सबैले विचार, विमर्श, मत, अभिमत राख्ने र स्वतन्त्रतापूर्वक छलफलमा भाग लिन अधिकार पाउँछन् । यसमा हरेक घरका गन्यमान्य तथा प्रतिनिधि सहभागी हुन्छन् । राम्रो काम गर्ने बडघर ३० देखि ४० वर्षसम्म निरन्तर उक्त जिम्मेवारीमा रहेका पनि पाइन्छन् । तर ख्याला प्रत्येक वर्षमा आयोजना भैरहन्छ ।
पुस पकावा माघ खावाः
पौष मसान्तका दिन हामीले सुंगुर काट्छौं । त्यसदिन थारु गाउँमा कति धेरै सुंगुर बली चढ्छन्, त्यो अनुमान गर्न सकिन्न । माघको १ गते रगत नदेखाउने चलन भएकाले पनि पौसको अन्तिम दिन सुंगुर काटिएको हो । त्यसदिन मासु लगायतका अन्य कन्दमूल पनि पकाइन्छ र माघमा खाइन्छ । यसलाई ‘पुस पकावा माघ खावा’ भनिन्छ । पुस महिना बिहानै नुहाउन जाँदा पानीमा ढ्याक फ्याँकेर जलदेवतासँग परिवार र समुदायको शान्ति, सुरक्षा र प्रगतिको कामना गरिन्छ ।
मिस्राउः
नुहाएर आएपछि हातले निशाना पर्ने गरि छुनका लागि परिवारका प्रत्येक सदस्यको नाममा दाल, चामल नुन राखिएको हुन्छ । त्यसलाई सबैले आआफ्नो भागमा छोएपछि एकठाउँमा मिसार राखिन्छ । यही दालचामलमा थप गरेर बनाइएको मिस्राउ चेलीबेटीलाई दिइन्छ ।
ढोगभेट एक आपसी सद्भावः
बिहानका यी सबै कार्य घरघरमा गरिसकेपछि बूढाबूढीहरुको समूह, युवाहरुको समूह र बालबालिकाको समूह थारु समुदायको बस्तीमा रहेका घरघरमा ढोगभेटका लागि जाने गर्दछन् । एकआपसमा आशीर्वाद र सौहाद्र्रता साटासाट गर्ने गर्दछन् । यो भेटघाटले एकआपसमा भएको वैरभावको पनि अन्त्य गर्दछ । वर्षभरि बोलचाल नभएको भए पनि त्यस दिनको भेटघाट र सौहाद्र्रताले मेलमिलाप गराउँछ । त्यस दिनको भेटघाटमा आधा दिनको समय व्यतित हुन्छ ।
हिसाब किताबः
माघीमा वर्षदिन भित्रको लेनदेनको हिसाब किताब गरिन्छ । यस अवसरमा आय तथा व्ययको पनि लोखाजोखा हुन्छ । यो आफैमा अर्थिक वर्ष पनि हो । माघीमा ऋण फछ्र्यौट पनि गरिन्छ । यस दिन ऋण मुक्ति र उन्मुक्तिको दिन पनि हो ।
वार्षिक समीक्षाः
यस दिन वार्षिक समीक्षा पनि हुन्छ । राम्रो काम गरेकालाई धन्यवाद र नराम्रो काम गरेकालाई सुझाव पनि दिइन्छ । दाङ जिल्लामा नयाँ दुलादुलही छन् भने नव दुलाहाले सासु र ससुराका लागि एक भारी दाउरा लिएर जाने चलन छ । यसको अर्थ हो बूढाबूढी सासुससुरा दाउरा बालेर चिसोबाट बच्न सकून् ।
तरुल र खिच्रीः
माघीमा तरुल, घ्यु चाकु आदि खाइन्छ । माघको २ गतेलाई ‘खिच्रवा’का रुपमा मनाइन्छ । खिचडी थारु समुदायको विशेष परिकार नै हो ।
नाचगानः
माघीमा नाचगान गरिन्छ । दीपावलीमा झैं यस पर्वमा राम रमाइलो गरिन्छ । माघीमा सिंगो थारु समुदाय रमाउने गर्दछन् । नाचगानबाट केही पैसा पनि आर्जन पनि हुन्छ । यसको केही अंश खानपिनमा खर्च हुन्छ भने केही अंश सामाजिक कममा पनि लगाइन्छ ।
थारु संवतः
थारु संबत यही माघबाट फेरिन्छ । थारु संबत असिहले २६४३ बाट २६४४ मा प्रवेश गर्र्दैछ । यो संबत निर्माणका लागि गौतम बुद्धको जन्म वर्षलाई आधार मानिएको छ । नेपालमा थारु सम्बत् सुरु भएको ७ वा ८ वर्ष भएको छ ।
कम्लहरी प्रथाको अन्त्यः
अहिले कम्लहरी प्रथाको अन्त्य भएको देखिन्छ । २०५७ साल साउन २ गते सरकारी तहबाट कम्लहरी प्रथा अन्त्य भएको घोषणा गरिएपछि यसको प्रभावकारिता बढ्दै गएको देखिन्छ । बालश्रमको अन्त्य गर्नु पर्ने अवस्था सिर्जना भएपछि यसले कम्लहरी प्रथा अन्त्यमा ठूलो टेवा दिएको छ । कम्लहरी प्रथा रहँदा यही माघीका अवसरमा उनीहरुलाई कुन जमिन्दारको घरमा बस्ने भनेर रोजाइन्थ्यो । तर हाल यसको अन्त्य भएकाले यो पर्वमा यसको कुनै छलफल गरिंदैन । तथापि अपवादका रुपमा यो प्रथा अझैं पनि कतै रहेको हुन भने सक्छ ।
सरकारी विभेदः
थारु समुदायको पर्व र संस्कृति संरक्षणका लागि सरकारले विभेदकारी नीति लिएको देखिन्छ । हिन्दुका मन्दिर बनाउन करोडौं रुपैयाँ खर्चगर्दा थारु समुदायका दिवारथान संरक्षणार्थ एक सुक्को पैसा खर्च गरेको पनि देखिंदैन । देशको संविधानमा धर्मनिरपेक्षता, समावेशिता र सहभागिताका कुरा राखिएका छन् । तर त्यसको व्यवहारिक कार्यान्वयन छैन । बरु उल्टै थारुका दिवारथानका जग्गा कब्जा गरिएको छ । धनगढी सहरमा रहेको धेरै पुरानो थारुको दिवारथान मिचेर प्रज्ञा प्रज्ञाप्रतिष्ठानको हल निर्माण गरिएको छ । तर दिवारथानको जमिन मिचेर छेवैमा बनाइएको प्रतिष्ठानको नजिकै रहेको उक्त थान जीर्ण अवस्थामा छ ।
ढिक्री :
ढिक्री थारु जातिको विशेष परिकार हो । अन्य परिकारमा माछा नै विशेष मानिन्छ । ढिक्री विभिन्न प्रकारका हुन्छन् । दिदी बहिनीले दाजुभाईको दीर्घायुका लागि लामा आकारमा ढिक्री बनाउने गर्दछन् । ढिक्री दियो आकारमा पनि बनाइन्छ ।
गौरा पार्वतीको दुहाइः
थारुहरुले जेजति मन्त्रोच्चारण गर्दछन्, ती सबैमा गौरा पार्वतीको नाम उच्चारण हुन्छ । भारतबाट आउने जोगी बाबाहरुसँग गुरुवाले सिकेको मन्त्रमा बंगालीपन पाइन्छ । गुरुवाले उच्चारण गर्दा ती बंगाली बोली नै सुनिन्छन् । यस अतिरिक्त रामको वर्णन, सखियामा कृष्णको वर्णन र बर्किमारमा कृष्णको वर्णन हुन्छ । हिन्दुहरुले अर्जुनलाई माने पनि थारुले भीमलाई ठूलो र पराक्रमीका रुपमा लिन्छन् ।