अध्यक्ष मानबहादुर बुढामगरद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन पास गर्दै रिडी ग्रुप लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।
विश्व व्यापार केन्द्र त्रिपुरेश्वरको हलमा भएको साधारण सभामा अध्यक्षद्वारा प्रतिवेदन प्रस्तुत गरिएको थियो भने कार्यसमिति सदस्य दलबहादुर आले मगरद्वारा लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो । नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकामगरको प्रमुख आथित्यतामा साधारण सभा सम्पन्न भएको थियो । साधारण सभालाई ग्रुपका संचालक समिति सदस्य झकेन्द्र घर्ती मगरले संचालन गरेका थिए ।
‘समृद्धिको लागि सामूहिक आर्थिक अभियान’ मूल नारा सहित २०७५ बैशाख ७ गते कम्पनी रजिस्टार कार्यालय त्रिपुरेश्वरमा दर्ता भएर अस्तित्वमा आएको रिडी ग्रुप लिमिटेडको खास उद्धेश्य समुदायमा छरिएर रहेको पूँजीलाई संकलन गरि व्यापार व्यवसायमा लगानी गर्ने तथा सामूहिक उद्धमशिलता मार्फत यही देशमा रहेर पनि केही गर्न सकिन्छ भन्ने र स्वावलम्बी सोंचको निर्माण गर्नु रहेको छ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले २०७६ साल जेठ २३ गते विधिवत रुपमा उदघाटन गरेको रिडी ग्रुप लिमिटेडले २०७६ साल असाढ २१ गते प्रथम वार्षिक साधारण सभा गरेर सोही वर्षको पौष ५ गते दोस्रो वार्षिक साधारण सभा गरिसकेको थियो भने हालै तेस्रो वार्षिक साधारण सभा पनि सम्पन्न गरेको हो।
रिडीको उद्धेश्य
रिडी ग्रुप लिमिटेड स्थापना भएको कम्तिमा एक दशकभित्र देशका प्रत्येक प्रदेशमा प्रदेशको स्थानीय आवश्यकता अनुसार कल कारखाना, उद्योग, होटेल, महाविद्यालय, आदीको स्ठापना र व्यवस्थापन गरि शिक्षित बेरोजगार युवाहरुको लागि रोजगारीको अवसर सिर्जना गरि व्यवसायिक क्षेत्रमा लिमिटेडलाई देशको एक प्रतिष्ठित कर्पोरेट व्यापारिक ग्रुपको रुपमा स्थापित गराउने उद्धेश्य रहेको छ। जसलाई लिमिटेडले ‘रिडीका रहरहरु’ नारा दिएको छ।
रिडीका क्रियाकलापहरु
-रिडी ग्रुप लिमिटेडको अधिकृत पूँजी १ अर्ब रहेको छ भने जारी पूँजी ३१ करोड ३० लाख र चुक्ता पूँजी ३ करोड ३८ लाख ५० हजार रहेको छ। ६०७ जना यो ग्रुपका शेयर धनि रहेका छन् । कोरोना महामारीको समयमा ग्रुपले विभिन्न व्यवसायिक कम्पनीहरुसँग बैठक र परामर्शहरु सम्पन्न गरेको छ।
-अन्तरराष्ट्रिय मगर सम्मेलन तथा गैरआवासिय नेपालीहरुको सम्मेलनमा सहभागी हुन आएका मगरहरुको स्वागतको लागि २०७६ साल असोज २७ गते ग्रुपको प्रमोशन गर्ने हेतुले ग्रुपले काठमाडौँको होटेल एम्बेसडरमा फेलोशीप डिनर आयोजा गरेको थियो । सो डिनर कार्यक्रममा विभिन्न देशबाट आएका मगर अथितिहरुको उपस्थिति उत्साहजनक रहेको थियो।
ग्रुपले कोरोना महामारीको जोखिमलाई ध्यानमा राखेर ग्रुपका संचालकहरु र कर्मचारीहरुको लागि ‘कोभिड बीमा’ गराएको छ ।
-कर्पोरेट सामाजिक जिम्मेवारी अन्तर्गत ग्रुपले ५ लाख बराबरको समाजसेवा कोष स्थापना गरेको छ , जुन कोषबाट गरिब असहायहरुलाई उद्दार गरिने छ।
-नेपाली समाजका बिभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरुलाई लिमिटेडले सल्लाहकार नियुक्त्त गरेको छ, जसानुसार सो ग्रुपका सल्लाहकारहरुमा फाइनान्स विशेषज्ञ प्राडा.केशरजङ्ग बरालमगर, पूर्व अर्थ, उर्जा तथा सिंचाई मन्त्री वर्षमान पुन, लघु उद्यम विशेषज्ञ डा.लक्ष्मण पुन, पर्यटन विशेषज्ञ कर्ण शाक्य, संस्कृतिकि ज्ञाता तथा महिला उद्यमशिलताकि जानकार बमकुमारी बुढा, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकामगर, कानुन विशेषज्ञ अधिवक्ता मनबहादुर आले, चार्टड एकाउन्टेण्ट स्विटी अग्रवाल, राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन र कृषि विशेषज्ञ डा.मदन कुमार राई रहेका छन् ।
रिडी ग्रुपका परियोजनाहरु
यस ग्रुपले आर्थिक रुपमा युवाहरुलाई रोजगारी सिर्जना गर्न भएर र स्वावलम्बी बन्न र बनाउन भनेर विभिन्न परियोजनाहरु अगाडी सारेको छ जो यसप्रकार छन्।
१)
ग्रुपले धनकुटा जिल्लाको साँघुरीगढी गाउँपालिका-६ नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट संचालन गर्ने गरेर कामहरुलाई अगाडी बढाएको छ। इको रिसोर्टको लागि भवन समेत शिलान्यास गरिसकेको सो रिसोर्टको ३० करोड अधिकृत पूँजी हुनेछ र यसको चुक्ता पूँजी १० करोडको रहेको छ । ८ रोपनी भन्दा बढी जग्गामा बन्ने सो इको रिसोर्टले आन्तरिक तथा अन्तरराष्ट्रिय पर्यटनमा महत्वपुर्ण भूमिका खेल्ने विस्वास ग्रुपले लिएको छ । इको रिसोर्टमा ४ तले भवन सहित पौडी पोखरी, पार्किङ्ग, मनोरंजन पार्क, अत्याधुनिक ४५ वटा कोठाहरु हुनेछन भने सेमिनार हाल र ६० जना सम्म क्षमताको रेष्टुरेन्ट निर्माण हुनेछ । यस रिसोर्टलाई ग्रुपले स्वप्न परियोजनाको रुपमा अघि बढाएको छ।
२)
गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा २० विघा जग्गा खरिद गरिसकेको ग्रुपले सो स्थानमा बहु प्राविधिक महाविद्यालय साथै एग्रो रिसोर्ट बनाउने गरि काम थालनी गरेको बताएको छ।
३)
चितवन जिल्लामा निकट भविष्यमै ग्रुपको ५१% लगानीमा साबुन उद्योग स्थापना गरिने सो ग्रुपले बताएको छ।
४)
कैलाली जिल्लामा त्यहाँको स्थानिय आवश्यकता अनुसार सम्भाव्यता अध्ययन गरि निकट भविष्यमै कर्पोरेट तहको व्यवसाय शुरु गर्न ग्रुपका शेयरधनिहरु लागिरहेका छन्।
५)
ग्रुपले नेपालमा रहेका तथा बिशेष कारणले नेपाल बाहिर रहेका ब्रिटिश गोर्खा समुदायको ब्राण्डिङ्गमा काठमाडौँ उपत्यकामा पाँचतारे ‘गोर्खाज होटेल’ खोल्ने तयारी गरिरहेको छ। यो होटेल स्थापनाको नेतृत्व पनि यही ग्रुपका अध्यक्ष मानबहादुर बुढामगरले गरिरहेको ग्रुपले बताएको छ। अधिकृत पूँजी २ अरब रहने सो होटेलमा सुरक्षा, इमान्दारिता र बहादुरी जस्ता गोर्खाहरुको अन्तरराष्ट्रिय छवि र पहिचानलाई ब्राण्डिङ्ग गरिनेछ।
६)
यस बाहेक ग्रुपले कृषि, पर्यटन, बहुप्राविधिक महाविद्यालयको स्थापना, लघु उद्यमशिलतामा लगानी, ट्रेडिङ्ग तथा सुपरमार्केट र पानी प्रशोधन उद्योग स्थापना गर्ने लक्ष्य राखेको छ।