• बैशाख ९ २०८२, मंगलवार

एआईजी पोखरेलको नेतृत्वमा केन्द्रीय निर्वाचन तयारी समिति

पुष २९ २०७७, बुधबार

काठमाडौं । नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ ।

पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षकसहित ३७ सदस्य रहेको र आवश्यकताअनुसार अन्य प्रहरी अधिकृत तथा कर्मचारीसमेत परिचालन हुने प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

प्रहरी प्रवक्ता कुँवरका अनुसार समितिले निर्वाचनमा चाहिने साधन, स्रोत, आर्थिक व्यवस्थापनदेखि आवश्यक सुरक्षा रणनीतिको विषयमा तयारी गर्नेछ । यही समितिको प्रतिवेदनको आधारमा प्रहरीले नेपाल सरकारसँग निर्वाचनका लागि अपुग साधन–स्रोत माग गर्नेछ ।

एक सदस्यका अनुसार समितिले हाल मौजुदा जनशक्ति, साधन–स्रोतको मूल्याङ्कन, व्यवस्थापन र परिचालनका काम गर्नुका साथै थप आवश्यकता पहिचान गरेर सरकारलाई ध्यानाकर्षण गराउनेछ ।

यस्तै, निर्वाचनमा प्रहरी परिचालन नीति बनाएर अघि बढ्ने जनाइएको छ । अपुग साधन–स्रोतको विषयमा सरकारको ध्यानाकर्षणसमेत गराउनेछ । प्रहरीका निर्वाचनसम्बन्धीका हरेक गतिविधि यही समितिमार्फत हुने प्रहरीले जनाएको छ ।

यसअघि, गृह मन्त्रालयले निर्वाचनको सुरक्षा रणनीति बनाएर आवश्यक तयारीमा जुट्न तीनओटै सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ । सोहीअनुसार नेपाल प्रहरीले आवश्यक तयारीका काम थालेको हो ।