माघ १ अर्थात् माघी, माघे सगराती वा माघे सङ्क्रान्ति । यो ठूलो चाड हो, थारु, मगर, गुरुङ आदि जनसमुदायका लागि । ब्राह्मण, क्षेत्री तथा अन्य जातिका लागि पनि यो एक ठूलो पर्व हो । माघ १ गतेदेखि ‘उभौली’ वा ‘उभेली’ सुरु भएको मानिन्छ । ‘उभेली’ वा ‘उभौली’ भनेको ठण्डी यामको अन्त्य र गर्मी याम सुरुआत हो ।
माघ १ सांस्कृतिक विविधता रहेको नेपालमा धुमधामका साथ मनाइन्छ । लामो अभ्यास र सद्भावपूर्ण सांस्कृतिक परिपाटीका कारण यो पर्व सामूहिक पर्वजस्तो मानिन्छ । यो पर्व सबै जातजाति र भाषाभाषीले सामूहिक रुपमा मनाउँदै आएका छन् । तर मनाउने तरिकामा केही भिन्नता भने पाइन्छ ।
माघी वा माघे सगरातीका लागि भनेर काठमाडौंका तरकारी पसल तथा अन्य पसलहरुमा तरुलको चाङ लागिरहेको छ । मानिसहरु आफूले इच्छाएको मात्रा र प्रजातिका आधारमा तरुल किनिरहेका छन् । माघको १ गते बिहानपख गएको रातमा उसिनेका तरुल, पिंडालु तथा अन्य गेडागुडी खाने चलन छ । यसो गरेमा गर्मी यामभरि शरीर स्वस्थ रहनुका साथै मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ ।
कलंकीस्थित तरकारी बजारमा पनि तरुल भण्डारण गरिएको छ । तरुल बिक्रेता धादिङका शालिकराम कुँवरसँग कुराकानी गर्दा उनी भन्छन् ः ‘मैले आजैदेखि सुरु गरेको छु । थाँक्रे–१, धादिङ मेरै गाउँबाट यो तरुल लिएर नयाँ व्यवसाय थालेको छु । योभन्दा पहिले म ड्राइभिङ पेसामा आवद्ध थिए । हाल व्यवसाय परिवर्तन गरेको हो ।’
कुराकानीको सिलसिलामा उनी थप्छन् ः ‘हामी घरपरिवारले यो व्यवसाय थालनी गरेका हौं, माघे संक्रान्ति आयो, तरुलको व्यापार गर्दा कसो हुन्छ भनी लागेका छौं । माग भएछ भने हामी अरु थप पनि ल्याउन सक्छौं ।’
माघमा सुरु हुने तरुल व्यवसाय माघ महिनाभरि चलिरहन्छ । माघकै एक गते पर्व मनाउन नपाएका, विदेशबाट आइनपुगेका र काम विशेषले नभ्याएकाहरुले माघ महिनाभर ‘माघी’ वा ‘माघे सगराती’ मनाउने चलन कायम छ । यसले गर्दा पनि माघ महिनाभर तरुल व्यवसाय चलिरहन्छ ।
त्यसो त तरुलको तरकारी खाने चलन पनि व्यापक नै छ । यसका साथै बजारमा पाइएका बेला किनेर खाने प्रचलन नेपालीमाझ निकै लोकप्रिय छ । एकै पटक मात्र पनि तरुल उसिनेर खाइयो भने पनि शरीरले हिउँदभरिको जाडो छल्ने शक्ति पाउँछ भन्ने विश्वास गरिन्छ ।
तरुल पनि विभिन्न प्रतातिका रहने गरेका छन् । तिनलाई मुख्यतः २ प्रकारमा अभिव्यक्त गरिन्छ ः घर तरुल र वन तरुल । आफ्नो पसलमा यी दुई थरिकै तरुल राखेका कुँवर भन्छन् ः ‘हामीसँग घर तरुल र वन तरुल दुवै छन् । यिनमा पनि विविध प्रजातिका छन् । कोही साब्ले, कोही घैंटे, पत्ताले, त कोही हात्तीपाइले जातका छन् । तरुल त छुट्याउँछौं, तर अरु धेरै प्रजाति त हामी पनि चिन्दैनौ ।’
तरुलमा सबैभन्दा बढी खनिज पदार्थ पाइन्छ । शरीरलाई चाहिने खनिज बढी तरुलबाट नै लिन सकिन्छ । यो भोजन न्यानो वा तातो आहाराका रुपमा लिइन्छ । यसले शरीरलाई तातो बनाइराख्न मद्दत गर्दछ ।
तरुल आफैमा प्राकृतिक एन्टिबायोटिक हो । प्रकृतिले हिउँद याममा मानिस लगायत समस्त प्राणीजगतलाई बचाइ राख्नका लागि कतिपय बाहिरी फलका रुपमा त कतिपय जमिन मुनिका फलका रुपमा एन्टिबायोटिकयुक्त फलफूल र सागपात तथा विरुवा उपलब्ध गराइरहेको हुन्छ । तरुलमा चिसोसँग प्रतिरोध गर्न सक्ने इम्युनिटी शक्ति रहेको हुन्छ ।
बिचौलियाका कारणले गर्दा हाल तरुलको बजार निकै महंगो छ । किसानले उत्पादन गर्ने तर बिचौलियाले खरिद गरेर त्यसको दरभाउ उनैले तोकी महंगो बनाउने गरिरहेका छन् । यस्तो बजारलाई तोड्नका लागि किसानहरु मिलेर यो व्यवसाय सुरु गरेको सुनाउँछन् कुँवर ः ‘हामीले किसानहरुबीच सल्लाह गरेर म यहाँ आएको छु, तरुलको भाउ सस्तो छ । ग्राहकहरुलाई होलसेलमा दिइन्छ । बिचौलियाको कुनै पनि स्थान छैन हाम्रो माझमा । सिधै किसानहरु मिलेर यहाँ ल्याई बेच्न राखिएको हो ।’
माघी आएसँगै बजारमा विभिन्न प्रजातिका तरुल हरेक ठाउँमा बिक्रिका लागि राखिएका छन् । ग्राहकहरु नै ठट्यौलो भाषामा बोलिरहेका छन्– ‘माघी आयो, तरुलले लोभ्यायो ।’