• जेष्ठ २६ २०८२, आईतवार

नेपालका लागि सेटेलाइट राख्न ९ कम्पनी इच्छुक

पुष २८ २०७७, मंगलवार

काठमाडौं । नेपालका लागि स्याटलाइट राख्न नौवटा अन्तर्राष्ट्रिय कम्पनी इच्छुक देखिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १ मा सूचना जारी गर्दै स्याटलाइटको स्थापना, सञ्चालन र व्यवस्थापनका लागि आशयपत्र माग गरेको थियो ।

आशयपत्र माग गर्ने अन्तिम दिन सोमबारसम्म विभिन्न देशका नौ वटा कम्पनीले प्रस्ताव पेस गरेको प्राधिकरणले जनाएको छ । आशयपत्र पेस गर्नेमा चीनको बेइजिङ स्पेसकी टेक्नोलोजी, फ्रान्सको युरोकन्सल्ट, बेलायतको लन्डन इकोनोमिक लिमिटेड, भारतको केपीएमजी एग्रो जेभी र अमेरिकाको स्पेस पार्टनरसिप इन्टरनेसनलले प्रस्ताव पेस गरेका छन् ।

यस्तै दुबईको एसथ्री टेल, बेलायतको किस्पेटिमको जेभी, सिंगापुरको सेलेस्टियल कन्सल्टिङ र जर्मनीको स्पेसटेक पार्टनर्सले प्रस्ताव पेस गरेका छन् । प्राधिकरणले चार वर्षअघि पनि अन्तर्राष्ट्रिय कम्पनीबाट यस्तै खालको आशयपत्र मागेको थियो ।

तर पनि मंसिर २२ मा उक्त प्रक्रिया रद्ध गर्दै नयाँ प्रस्ताव आह्वान गरेको हो । प्राधिकरणले माग गरेको नयाँ आशयपत्रमा ४० प्रतिशत योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा कम्पनी छनोट गरिने उल्लेख छ ।