• मंसिर ११ २०८१, मंगलवार

२९९औं राष्ट्रिय एकता दिवसः नभुलौं पृथ्वीनारायणको योगदान

पुष २७ २०७७, सोमबार

विश्वका विभिन्न देशहरुको एकीकरणको सन्दर्भमा हेर्ने हो भने महारथीहरूको उदय भएको थियो । तिनीहरुमा ग्रीसका अलेकजेन्डर महान्, रुसका पिटर, जर्मनीका बिस्मार्क, बेलायतका एगबर्ट, फ्रान्सका नेपोलियन, चीनका क्विन सेन ह्वाङ, अमेरिकाका जर्ज वासिङटन, जापानका ओडा नोबुन्एजा, टोकुगावा र इएसु, इटलीका क्यामिलो क्याभोर जिसेप ग्यारिबाल्डी थिए ।

त्यसैगरी नेपालमा पृथ्वीनारायण शाहको नियति अमेरिकी महादेशमा क्रिस्टोफर कोलम्बसको जस्तै भएको छ । कोलम्बसले अमेरिकी महादेश सन् १४९२ मा पत्ता लगाएकाले उनको खोज वार्षिकी मनाउने चलन शताब्दियौंसम्म चलेको थियो । कुनै पनि देशको शासन व्यवस्थाको आधारशीला राष्ट्रिय एकता हो । नेपोलियनको आक्रमणका कारण इटालीवासीले एकताको भावनाको अनुभव गर्न पुगेका थिए । कला र विज्ञानले सम्पन्न इटाली त्यस समय विभिन्न टुक्रामा विभाजित थियो ।

त्यसैगरी हाम्रो देशको एकीकरणको महारथीको रुपमा पृथ्वीनारायणलाई लिन सकिन्छ । त्यसैगरी नेपालमा पृथ्वीनारायण शाहको त्यति नै योगदान छ, जति अन्य देश एकीकरण गर्ने नेताहरुको रहेको थियो । मूलतः आधुनिक नेपालको मानचित्र बदल्ने ऐतिहासिक अभियानको प्रारम्भिक इतिहासलाई विसं १८०१ मा प्राप्त नुवाकोटको विजयले आरम्भ गर्यो ।

तत्कालीन छिमेकी देश लमजुङ र कास्कीसँग मित्रताको हात फैलाउँदै  हातहतियार तथा सैनिक सुधार गर्ने रणनीतिको सबल प्रयास थियो । नेपालको इतिहास हजारौँ वर्ष पुरानो हो । हजारौँ वर्षको इतिहासमा नेपालको आकार कहिले निकै ठूलो र कहिले निकै सानो भएको देखिन्छ । यसमध्ये सबैभन्दा पछिल्लो कालखण्डको एकीकरण पृथ्वीनारायण शाहको नेतृत्वमा भएको हो भन्ने कुरामा कुनै विवाद छैन ।

यस हिसाबले उनी आधुनिक नेपालका राष्ट्रनिर्माता हुन् । हामी अहिले नेपालीका रूपमा जसरी गौरवान्वित छौँ यसमा पृथ्वीनारायण शाहको सबैभन्दा ठूलो योगदान छ । मुलुक बनेको एकीकरणपश्चात् मात्र हो । सानासाना राज्य रजौटामा विभाजित देशलाई राष्ट्रिय एकताको एउटै मालामा उन्ने अभियानका नायक पृथ्वीनारायण नै हुन । बाइसी चौबीसे राज्यका टुक्रेटाक्रे, झुप्रेझाप्रे, सुक्रेपाप्रेहरूलाई एकतृत गरेर एउटै नेपाली मालामा उन्ने कोही थियो भने त्यस्ता नायक पृथ्वीनारायण नै थिए ।

‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गराइरहेको छ । मूलतः २६६ वर्षअगाडि पृथ्वीनारायण शाहले उत्तरमा ठूलो राष्ट्र चीन र दक्षिणमा ठूलो भारतको बीचमा कस्तो कुटनीति अवलम्बन गर्नुपर्छ भन्नेकुरा राम्ररी बुझेर भनेका थिए- यो राज्य दुई ढुंगाको तरुलजस्तो रहेछ । चीनको बादशाहसँग राम्रो सम्बन्ध राख्नु, दक्षिणको समुद्रको बादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजन हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन् ।

पृथ्वीनारायण शाह कति दुरददर्शी थिए भन्नेकुरा यी भनाइ र अहिले छिमेकीको चलखेलबाट स्पष्ट छ । पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झन्डा फहराएर टक्रा-टुक्रामा विभाजित हिमवतखण्ड नेपालको एकीकरण गरेर यस क्षेत्रको साना साना राज्यलाई एक सूत्रमा बाँध्न लालयित थिए । यसरी पृथ्वीनारायण शाह नेपालका राष्ट्र निर्माता, युग, पुरुष, राष्ट्रभक्त र सर्वोपरी रुपमा आधुनिक नेपालका निर्माता हुन् । उनको सारा जीवन राष्ट्र निर्माणको निम्ति लगाउने, सरकार एकमात्र ठूला तपस्वी हुन् ।

एकीकरणका दौरानमा विविध संघर्ष र पराजयको सामाना गर्नु परे तापनि क्रमशः एकएक खुड्किला पार गर्दै जानु मौसूफको अदभ्य साहस र तीब्र देशभक्तिको परिचायक हो । यस्ता राष्ट्रप्रेमी युग पुरुषको चर्चा गर्दा हामी नेपालीहरुको मनमस्तिष्कमा सर्वप्रथम राष्ट्रिनिर्माता पृथ्वीनारायण शाह तर्फ उन्मुख हुन्छ । उहाँको विराट व्यक्तित्व र उनका अमूल्य भावनाहरुको चर्चा नेपालीहरुले जति गरे पनि थोरै नै हुन्छ ।

पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणमा साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेका थिए । राष्ट्रिय एकीकरणमा सम्पूर्ण क्षेत्रका बासिन्दालाई जागृत गराउन पृथ्वीनारायण शाहबाट राती फेरि लगाउने कानफट्टा गोरखनाथका जोगीलाई दुनियाँका घर-घरमा पठाएर शंखध्वनी गराएर शत्रुलाई त्रसित बनाउन र शत्रुबाट कही खतरा पाइएमा उनीबाटै खबर बुझ्ने नीति थियो ।

अर्को कुरा जनताका घर-घरमा विवाह कार्यक्रममा सम्राज्यवादी विरुद्ध जनमानसलाई सचेत गराउन खाँडो जगाउने प्रसस्ति गाउने गरिन्थ्यो । अतः विश्वको नक्सामा सानो नेपाललाई खोज्न लाग्दा सगरमाथाको चुम्बकीय शक्तिले ध्यान खिच्छ । आज विश्व समुदायले इतिहासका यस्ता अमर नामलाई स्यालुट गर्दै छ भने यो गौरवसँग हामीले रमाउन पाउनु अवसर होइन र ?

एकीकरण र दूरदर्शी पौरखको गर्विलो विगत छ । उनले २६ वर्षसम्म अनवरत युद्धभूमिमा होमिएका एक पुर्खाको जीवनीसँग नेपाली माटोको अटुट नाता छ । उनका प्रजा योग्य भए दरबार बलियो हुन्छ । नेपालीका हृदयसम्राट् नेपालका राष्ट्रनिर्माता सुन्दर, शान्त नेपालका जन्मदाता यस्ता वीरपुरुषको चोलाले विसं १८३१ को माघे सङ्क्रान्तिका दिन ५२ वर्षको अल्पायुमै नेपाल आमाको काखलाई रित्यायो । छोटो आयुले अमिट इतिहास रच्यो ।

अमूल्य दिव्यापदेश तथा उपदेशले भरिएको पृथ्वीनारायणको वाणी शक्तिले राष्ट्रिय एकताको खम्बा गाड्दैमा बिदा माग्यो । तर पृथ्वीनारायण शाहले बेलायती उपनिवेश विरुद्ध उभिएर अखण्ड नेपाल बनाए । तर भारतका ५३६ राजाहरू आफ्नो देश जोगाउन नसकेर बेलायती उपनिवेशमा परिवर्तित भए । नेपाल विश्वका २ सय बढी देशमध्ये २४औं पुरानो मुलुक हो, जो भारतभन्दा २ सय वर्ष जेठो छ । यसको जस पृथ्वीनारायण र उनका सहयोगीलाई जान्छ । त्यसैले ती सबै महान् हुन्, जसले एकीकृत र अखण्ड नेपाल बनाए ।

समग्रमा भन्नुपर्दा पृथ्वीनारायण शाहका दिव्य उपदेश एकाइसौं शताव्दीमा आएर पनि त्यतिकै लोकप्रिय तथा सान्दर्भिक  छन । पृथ्वीनारायणको जन्म पुस २७ गते भएकाले त्यो दिन सालिन्दा पृथ्वीजयन्ती मनाइँदै आएकामा सरकारले दिँदै आएको बिदा गणतन्त्र आएपछि कटौती भएको र यो उत्सव पनि मात्र छोडेकाले केही उत्साही राष्ट्रवादीलाई छोडेर दुनियाँको नजरमा यो उत्सव ओझेल पर्दै गएको थियो ।

त्यसमाथि यस अवधिमा पृथ्वीनारायणको सालिक तोडफोड गरी उनलाई प्रतिनायक अर्थात् आजभोलिको भाषामा खलनायकको रूपमा चिनाउने काम निकै मात्रामा भयो । यसर्थ, मौसूफले छिन्नभिन्न अवस्थामा रहेको मुलुकलाई एक सूत्रमा बाँधेर आज तीन करोडभन्दा बढी नेपालीले विश्वमा नै आफ्नै छात्ती फुलाउने अवसर प्राप्त गर्ने श्रेय नै मौसूफको दूरदृष्टि मान्न सकिन्छ । यस्ता परमभक्त, योद्धा, लडाकु, कुशल राजाको यस धर्तीमा बिराजमान भएको हुनाले नेपाल र नेपालीले विश्वमान चित्रमा आफ्नोे देशको नाम सुनौला अक्षरमा देख्न पाएका छन् ।

यस्ता महान् पुरुषलाई दिलैदेखि हर्षित भई  २९९औं राष्ट्रिय एकता दिवस यहि पौष २७ गते नेपाल अधिराज्यभरि धुमधामसाथ मनाउने गरिन्छ । अतः यस्ता महान् पुरुषको रुपमा अङ्गीकार गरी सदैव मन मन्दिरमा सजाउनु सम्पूर्ण नेपालीको परम कर्तव्य हो ।