काठमाडौं । गोरखा दरबारबाट गत मङ्गलबार शुरु भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आइबार साँझ हनुमान ढोका दरबार आइपुग्दैछ । नुवाकोटको ककनी गाउँपालिका–५ बसपार्कमा आइतबार बिहान नेपाली सेनाको जबरजङ्ग गणले शम्शेरदल गणलाई गोरखा दरबारदेखि ल्याइएको राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाको पहिलो पटक गठन भएका पाँच युनिटका झण्डा लिएर पदयात्रामा निस्केको सैनिक टोलीलाई तीनपिप्लेमा स्थानीयले भोलि नै पञ्चेबाजासहित स्वागत गर्ने छन् । उक्त पदयात्रा त्यसपछि मुडिखुगढीरथानागढी हुँदै बालाजु बाइपास–सोह्रखुट्टे–पकनाजोल–नरदेवी हुँदै हनुमानढोका दरबार पुग्ने कार्यक्रम रहेको उक्त निर्देशनालयले जानकारी दिएको छ ।
हनुमानढोकामा पदयात्रा टोलीलाई स्थानीय निकायका प्रतिनिधि, गुठी, क्लब, सर्वसाधारणलगायत स्वागत गरेपछि शम्शेर दल गणले हनुमान ढोकामा तैनाथ श्री शार्दुलजंङ्ग गुल्मलाई झण्डा हस्तान्तरण गर्नेछ । सैनिक ड्रिल प्रदर्शनसहित टर्च तथा ती पाँच प्रथम युनिटका झण्डा हस्तान्तरण गर्ने कार्यक्रम पनि हुनेछ ।