काठमाडौँ । विभाजित भएको नेकपाका नेताचहरुबिच निकै घोचपेच चलेको छ । यसैबिच नेकपा प्रचण्ड माधव समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले आफैले हस्ताक्षेर गरेको संविधानलाई बलात्कार गरेको बताएका छन् । सो पार्टी निकट सम्पर्क समन्वय कमिटीद्वारा राजधानीमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।
उनले नेपालको संविधानमा कसैले पनि संसद विघटन गर्न सक्ने प्रावधान नभएको उल्लेख गर्दै प्रधानमन्त्रीको कुर्सीमा पुगेको दिनदेखि नै ओलीले यो संविधानलाई असफल बनाउने काम गर्दै आएको आरोप लगाए । समाजवाद उन्मुख संविधान भनिए पनि ओलीले समाजवादको लागि सिन्को समेत भाँच्ने काम गर्न नसकेको बताउँदै भने,‘ओलीले दलाल पूँजीवादको निर्देशनमा मात्र चल्ने काम गरे ।’ ओलीले आफ्नो एस म्यानलाई सभामुख बनाई राष्ट्रघाती एमसीसी परियोजना पास गर्ने इच्छा पूरा गर्न खोजेको समेत खुलासा गरे ।
खनालले ओली सरकारले राजा महेन्द्रको जति पनि सोच राखेर विकास गर्न नसकेको समेत आरोप लगाए । सर्वत्र अल्पमतमा परेपछि नयाँ तानाशाहको रुपमा हिँड्न खोजेका केपी ओली गणतन्त्र विरोधी र दक्षिणपन्थी भएको पनि खनालले आरोप लगाए । ओली गुट पार्टीबाट छुट्टिएर गएकोमा पार्टीलाई हाइसन्चो भएर पार्टी अघि बढाउन सजिलो भएको बताउदै उनले भने,‘ओली गुट पार्टीको पिलो हो फुटेर गयो ।’
भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीको कदम संविधान विरोधी हो भन्नेकुरा संसारलाई थाहा भएको बताए । संसद विघटन गर्न खोजेर ओलीले केवल संविधानलाई मात्रै नभएर सिङ्गै नेपालको राजनैतिक प्रणालीलाई नै आक्रमण गर्न खाजेको धारणा व्यक्त गरे ।
केपी ओली कम्युनिष्ट नभएर पूँजीवादी भएको आरोप लगाउँदै उनले नेपालको कम्युनिष्ट आन्दोलनमा केही विजातीय तत्व पसेको बताए । श्रेष्ठले ओली समूहप्रति कटाक्ष गर्दै भने ‘केपीको रुपमा आन्दोलनमा घुसेको विजातीय तत्व बाहिर जाँदा ठिकै भयो ।’
कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ओली रुसका गोर्वाचोभ र यल्तसिन जस्तै कम्युनिष्ट आन्दोलन विरोधी भएको आरोप लगाए । पेरिसमा ७१ दिनमा, रुसमा ७१ वर्षमा सरकार ढलेको र नेपालमा कम्युनिष्टको खोल भिरेका कम्युनिष्ट विरोधी ओलीले ७१ वर्ष भएको बेला कम्युनिष्ट सिध्याउन लागिपरेको आरोप लगाए ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्यहरु डिलाराम आचार्य, झक्कु सुवेदी, विजय गुरुङ, सत्या पहाडी लगायतले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगामी कदम भन्दै चर्को विरोध जनाए ।
कार्यक्रमको अवसरमा वैदेशिक रोजगार व्यवसायी हंसराज वाग्ले नेपाली कांग्रेस परित्याग गरि सो पार्टीमा प्रवेश गरे । पार्टी प्रवेस गरेका वाग्लेलाई वरिष्ठ नेता खनालले स्वागत गरेका थिए ।