बुधवार अमेरिकी संसद क्यापिटल हिलमाथि रिपब्लिकनहरुले गरेको आक्रमण र कब्जाको प्रयाससँगै अमेरिकी हतियार कम्पनीहरुको शेयर मार्केट निकै आकाशिन पुगेको छ । विश्वमा यो आक्रमणको निन्दा र भत्र्सना भैरहेकै दिन बुधवारदेखि हतियार कम्पनीमा शेयर मार्केट उकालो लाग्दै गरेको थियो ।
अघिपछिभन्दा बुधवार धेरै हलचल आएको र कम्पनीको शेयर वृद्धि हुँदै गैरहेको छ । हतियार कम्पनीको शेयरमा एकै क्षण र एकै दिन ‘डबल डिजिट’ १८ प्रतिशतले सेयर बढ्दा हतियार कम्पनीका सञ्चालकहरु आश्चर्यमा परेका देखिन्थे । उता त्यसै दिन क्यापिटल हिलमाथि रिपब्लिकनहरुले कब्जा गरी झण्डा फहराइरहेका थिए । घटनामा पाँच जनाको मृत्यु भैसकेको थियो ।
हतियार कम्पनीहरुको तथ्यांकमा सन् २०२० मा ८४ लाख अमेरिकी नागरिकले नयाँ बन्दुक खरिद गरेका थिए । हतियार खरिदकर्तामा श्वेतभन्दा अश्वेत नागरिकको संख्या बढी थियो । तर क्यापिटल हिलमाथि आक्रमण हुँदा ती नयाँ खरिद गरिएका बन्दुक प्रयोग भए वा भएनन् त्यसको एकिन हुन बाँकी छ ।
अमेरिकामा भएका तीनवटा ब्राण्डेड कम्पनीहरुमा बढेको शेयर नै अमेरिकी हतियार बजारमा बढेको शेयर जस्तो हुन जान्छ । किनकि यी तीनवटाको देशव्यापी र अन्तर्राष्ट्रिय बजार रहेको छ । यी हतियार कम्पनीमा ह्वात्तै शेयर बढेपछि देशमा केही गडबड भएको भनेर आर्थिक बजारमा गर्मागर्मी बहस चलिरहेको थियो ।
ब्राण्डेड हतियार कम्पनीमा स्मिथ एण्ड वेसन ब्राण्ड र स्ट्रम रगर पहिलो र दास्रो छन् भने यी कम्पनीले बनाएका हतियार तथा निर्मित नयाँ हतियारमा लाग्ने गोली विस्टा आउटडोरले बनाउने गर्दछ । यी तीनै कम्पनी अमेरिकी सेयर बजारमा सुचीकृत छन् र यिनैमा शेयर आकाशिन पुगेको थियो ।
बढेको डबल डिजिट सेयरमा स्मिथ एण्ड वेसनको १८ प्रतिशत, विस्टा आउटडोरको १५ र स्ट्रम रगरको १२ प्रतिशत रहेको थियो । यसले अमेरिकी हतियार बजारमा निरन्तर बढिरहेको सेयरलाई गति दिएर विस्टाको सेयर मुल्य ५०, स्मिथको ३७ र स्ट्रम रगरको २८ प्रतिशतभन्दा माथितिर उकालो चढाउँदै लगिरहेको छ ।
नयाँ वर्षको आगमनसँगै अमेरिकी राजनीतिक रंगमञ्चमा देखिएको स्पष्ट विभाजन र विभाजितका बीचमा बढ्दै गैरहेको दुरी र कब्जा तथा झडपले सन् २०२० को अमेरिकी हतियार बजारलाई उछिन्ने देखिएको छ । हालसम्म हाते बन्दुक र राइफलसहित २.१ करोड बन्दुक बिक्रि भैसकेका छन् ।
तुलनात्मक अध्ययन गर्दा सन् २०१९ को तुलनामा बन्दुक बिक्रिको यो अनुपात ६० प्रतिशतले बढी हो । विगतका ठूला रेकर्डमा सन् २०१६ मा १.६ करोड बन्दुक बिक्रि भएको तथ्यांकमा उल्लेख छ ।
विश्वमा प्रतिव्यक्ति बन्दुक बोक्नेमा अमेरिकी नागरिक नै पहिलो श्रेणीमा आउँछन् । यहाँ व्यक्ति भन्दा बन्दुक धेरै छन् । हतियार र नागरिकको अनुपातमा हेर्ने हो भने अमेरिकामा हरेक १०० जनाले १२० वटा बन्दुक राख्ने गरेका छन् ।
सन् २०२० मा मात्र ८४ लाख अमेरिकी नागरिकले पहिलो पटक नयाँ हतियार खरिद गरेका थिए ।
(एजेन्सीको सहयोगमा)