दानाको कच्चा पदार्थमा विदेशको भरपर्दा कुखुराजन्य उत्पादनको लागत मूल्य बढी पर्ने गरेको छ । दानाको कच्चा पदार्थ आयात गर्दा नै वार्षिक रु ३२ अर्बभन्दा बढी विदेसिने गरेको हो ।
नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रविन पुरी नेपालमा उत्पादन हुन सक्ने कच्चा पदार्थ पनि भारत र तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताए ।
दानामा ७० प्रतिशत प्रयोग हुने मकै र भटमासको पिना नेपालमा नै उत्पादन गर्न सकिन्छ । मकै ३५ प्रतिशत स्वदेशी उत्पादनले धानेको भए पनि भटमासको पिना पूर्णरुपमा विदेशमा निर्भर हुनु परेको उनले जानकारी दिए । पुरीले भने, “गत वर्ष मात्रै दानाको कच्चा पदार्थमा हामीले रु ३२ अर्ब विदेश पठायौँ । यो वर्ष मूल्य बढेकाले अरु बढ्छ ।”
गत वर्षबाट सरकारले कृषि सुधार शुल्क बढाएपछि दानाको लागत मूल्य अरु थपिएको छ । मकैमा पाँच प्रतिशत र भटमासको पिनामा नौ प्रतिशत शुल्क लाग्ने गरेको छ । आर्थिक वर्ष २०७३÷७४ सम्म यो शुल्क १.६ प्रतिशत मात्रै थियो । पुरी भने, “नेपालमा कच्चा पदार्थको उत्पादन नभएसम्म कृषि सुधार शुल्क लिनु हुँदैन ।”
अनमोल फिड्स प्रालिका प्रबन्ध निर्देशकसमेत रहनुभएका सङ्घका वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेल मकै र भटमासको उत्पादनलाई नेपालमा अभियानको रुपमा सञ्चालन गर्नुपर्ने बताए । यसले कृषकको आयस्तर उकास्ने र कुखुराजन्य उत्पादनको लागत घट्ने उनको तर्क छ । कँडेलले भने, “उत्पादन बढाएर सरकारले मकै र भटमासको दर तोकिदियोस् हामी सबै खरीद गर्न तयार छौँ । ”
कृषि सुधार शुल्क शून्य बनाउनुपर्ने भन्दै उनले सरकारले आत्मनिर्भर कुखुराजन्य व्यवसाय जोगाउनुपर्ने बताए । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेल दानाको लागत मूल्य बढ्दा नेपालमा मासु, अण्डा र चल्लाको मूल्य पनि बढी भएको बताए । दानाको मूल्य घटाउन सके उपभोक्तालाई सस्तो मूल्यमा मासु र अण्डा उपलब्ध गराउन सकिने उनको भनाइ छ ।
स्काइलार्क दाना कम्पनीका सञ्चालकसमेत रहनुभएका पोखरेल कच्चा पदार्थ र तयारी दानाको भन्सार दर एउटै हुँदा नेपाली उद्योग मारमा परेको बताउनुहुन्छ । उनले भने, “मकै, भटमासजस्ता कच्चा पदार्थ नेपालमा उत्पादन गर्न सकिन्छ तर त्यसो नगर्दा कुखुराजन्य पदार्थको लागत मूल्य बढ्यो र धेरै पैसा विदेसिएको छ ।” उहाँको कम्पनीले मात्रै वार्षिक रु एक अर्ब कच्चा पदार्थ खरीदका लागि विदेश पठाउने गरेको छ ।
नेपालमै उत्पादन हुने मकैको भण्डारण उपयुक्त नहुँदा र सीपको अभावमा ढुसी लागेर प्रयोग गर्न अप्ठ्यारो भएको भन्दै उनले सरकारले कृषकलाई भण्डारण प्रविधि उपलब्ध गराउनुपर्ने बताए ।
दाना उद्योग सङ्घ चितवनका अध्यक्ष बालचन्द्र खनाल दानाको लागत मूल्य घटाउन सरकारको सहयोग आवश्यक रहेको बताए । उनले भने, “नेपालमा जमीन बाँझो छ, मानिस बेरोजगार छन्, कृषि उत्पादन विदेशबाट ल्याउनु पर्ने बाध्यता छ ।” यहाँको उत्पादन लागत बढेको कारण भारतबाट चोरी पैठारी गरी कुखुराजन्य पदार्थ आउने गरेको उनले बताए।
किसान दाना उद्योगका प्रबन्ध निर्देशक विनोद पोखरेल आफूले मात्रै कच्चा पदार्थमा एक वर्षमा रु ७० करोडभन्दा बढी रकम विदेश पठाउने गरेको भन्दै नेपालमै कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने बताए । सङ्घका चितवन जिल्ला उपाध्यक्षसमेत रहनुभएका पोखरेल दाना उद्योगमा आवश्यक औजारमा लाग्ने गरेको भन्सारमा सरकारले एक प्रतिशत मात्रै लिनुपर्ने बताए । उनले भने, “सरकारले कुखुराजन्य उत्पादनको खपत बढाउन प्रचारप्रसारमा सहयोग गर्नुपर्ने र विदेशबाट आउने कुखुराजन्य पदार्थ रोक्नु पर्छ ।”
नेपालमा हाल करीब ११८ वटा दाना उद्योग रहेका छन् र तीमध्ये ६० वटा हाराहारी पेलेट दाना उद्योग छन् । पेलेटका दुई भारतीय र दुई चिनियाँ लगानीका उद्योगसमेत रहेका छन् । दाना उद्योगमा मात्रै रु ४० अर्बभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ ।
नेपालमा पहिलो पेलेट दाना उद्योग निम्बस समूह हो । प्रोबायोटेक इण्डष्ट्रिज प्रालिले सन् २००४ बाट यो उद्योग सञ्चालन गर्दै आएको छ । उद्योगका कार्यकारी निर्देशक डा दिनेश गौतम सरकार र निजी क्षेत्र मिलेर दानाको कच्चा पदार्थ उत्पादनमा जुट्नु पर्ने बताए ।
नेपाल अण्डा उत्पादक सङ्घका पूर्वकेन्द्रीय सचिव मदन पोखरेलले दाना सस्तो भएमा अण्डा र मासु सस्तो मूल्यमा दिन सकिने बताए । उनले भने “हेर्दा सामान्यजस्तो देखिए पनि हाम्रो धेरै पैसा विदेसिएको छ । समयमै सरकारले सरकारले सोच्नुपर्छ ।”
दानामा प्रयोग हुने भटमासको पिना, अमेरिका, ब्राजिललगायतका देशबाट ल्याइन्छ भने मकै मुख्यरुपमा भारत र अन्य देशबाट समेत आउने गरेको छ । दानामा मकै, भटमासका अतिरिक्त गोटी ढुटो, तोरीको पिना, क्याल्सियम र औषधि प्रयोग हुने गर्दछ । ती वस्तु पनि विदेशबाटै आयात हुने गर्दछ ।