• आश्विन ५ २०८१, शनिबार

विश्वकै धनाढ्य बन्न सफल इलोन मस्क को हुन् ?

पुष २४ २०७७, शुक्रबार

अन्ततः उद्यमी इलोन मस्क विश्वका सर्वाधिक धनी मानिस बन्न पुगेका छन् । विज्ञान तथा प्रविधिको क्षेत्रमा उद्यमशील प्रगतिमा एकपछि अर्को छलाङ लगाउँदै आएका इलोन मस्क सन् २०१८ देखि निरन्तर विश्वकै धनी बन्दै आएका अमेजन धनाढ्य जेफ बेजोसलाई पछाडि धकेल्न सफल भएका छन् । आज विश्वमै को हुन् इलोन मस्क भनेर चर्चा हुने गरेको छ । मानिसको दिल दिमागमा जेफ बेजोसलाई पछि पार्ने मानिस फेरि पनि बिल गेट्स नै हुने छन् भन्ने थियो । तर इलोन मस्कले यी सबै सोच र अनुमानलाई चमत्कारपूर्ण चक्मा दिएर आश्चर्य चकित पारेका छन् ।

परिवार र बाल्यकाल:

सन् १९७१ मा अफ्रिकाको प्रेटोरियामा जन्मेका इलोन मस्कको सानैदेखि उद्यमशीलताप्रति असाध्यै रुची र चासो थियो । त्यो चासो विशेषतः विज्ञान र प्रविधितिरै बढि केन्द्रित थियो । नयाँ नयाँ कुराको सिर्जनामा उनी निकै विश्वास गर्थे र उत्तिकै रमाउँथे पनि । उनको परिवारिक वातावरणले पनि यसमा साथ दिएको थियो । उनका बुवा इन्जिनियर थिए । बुवाले कोरेका ‘इन्जिनियरिङ डिजाइन’ निकै ध्यान दिएर हेर्ने गर्दथे । उनले बुवाका यी कामलाई कलात्मक सिर्जनाका रुपमा लिन्थे ।
इलोन मस्ककी आमा मातृवात्शल्यले भरिपूर्ण र ममतामयी महिला थिइन् ।

आमाको ममता, हौसला र प्रेरणाले उनको बालोउद्यमी चेतनामा निरन्तर प्रगति भैरह्यो । बावुले पनि इलोनको उद्यमशीलताप्रतिको अभिरुचीमा साथ दिइरहेका थिए । परिणमतः इलोन १० वर्षकै छँदा कम्प्युटरमा उद्यम कार्यक्रम टाइप र सेट गर्न माहिर भैसकेका थिए । १२ वर्ष हुँदा नै ‘ब्लास्टर’ नामक भिडियो गेम निर्माण गरेर ५०० डलरमा बिक्रि गर्न सफल भएका थिए ।

उच्च शिक्षा, खोज र वैज्ञानिक प्रयोग:

यसरी निकै सहयोगी पारिवारिक वातावरणसँगै इलोनले सन् १९८८ मा प्रेटोरियाबाट क्याम्पस शिक्षा सफलतापूर्वक पूरा गरे । त्यसपछि उनी त्यहीँकै विश्वविद्यालयमा भर्ना भए । खोज, अनुसन्धान र नयाँ प्रयोगको भोकले उनलाई पछ्याइरह्यो । खोजीको भोक, आर्थिक समस्या र सफलताको रंगिन सपनासँगै उनी थप अध्ययनका लागि क्यानडाको क्वीन्स विश्वविद्यालयमा गए । त्यहाँ पनि उनको उद्यमशीलताको भोक र प्यास मेटिएन । त्यसपछि उनी अमेरिकाको पेन्सलभेनियाको ह्वार्टन स्कूल अफ बिजनेसमा अध्ययनका लागि रमाना भए ।

त्यहाँ उनले आफूले इच्छाएको विषयसँग सम्बन्धित आईटी (सूचना तथा प्रविधि) कम्पनीसँग सहकार्य गर्ने मौका पाए । त्यहाँ ‘जीप टु’ सफ्टवेयर प्रयोग गरेर उनले पत्रपत्रिका तथा अनलाइनमा चमत्कार नै ल्याए । एक्स डट कम मार्फत् उनले उपलब्ध गराएको सेवा र सुविधाको माग चारैतिर बढ्दै गयो । उनको सेवाप्रदायी सफ्टवेयर सेवाको मूल्य ३४० मिलियन हुन गयो । यो नै सबैभन्दा बढी सेवाप्रदायी सफ्टवेयरका रुपमा अग्रस्थानमा आयो ।

एक सफल सिइओः

निरन्तर खोज र नयाँ नयाँ प्रयोगमा रमाउने इलोन मस्क एक्स डट कम लाई एक अर्को सफ्टवेयर कम्पनीसँग मर्ज गरेर पे पल निर्माण गरी यसको प्रमुख कार्यकारी (सीईओ) बने । आफूले कार्यकारी अधिकार लिएपछि दिनरात नयाँ नयाँ खोजी र प्रयोगमा उनी निरन्तर लागिरहे । पे पल कम्पनीको मूल्य १.५ बिलियन डलरमा उकालो लाग्यो । यो सफलताले सबैलाई आश्चर्यमा पारेको थियो । त्यसो त विज्ञान र प्रविधिमा अग्रस्थानमा रहेको अमेरिका त्यसमा झन् इलोनको नयाँ नयाँ खोज र प्रयोगले अमेरिकी विज्ञान तथा प्रविधि जगत दिनप्रतिदिन आकाशिइरहेको थियो ।

सफलताको उचाइ चुमिरहेकै बेला सन् २००४ मा इलोन मस्क टेस्ला मोटर कम्पनीमा आबद्ध भए । उनले त्यहाँ चमत्कारी विद्युतीय कार निर्माण गरे । यो विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ प्रयोग थियो । टेस्ला कम्पनीको यस्तो चमत्कारपूर्ण प्रगतिको पछाडिको मुख्य कारक उक्त कम्पनीका सीईओमा इलोन नै थिए । उनको नयाँ आविष्कारपूर्ण सोच र प्रयोग नै यो सफलताको पछाडि लुकेको रहस्य थियो । टेस्ला अहिले अमेरिकाको सबैभन्दा लोकप्रिय, विश्वसनीय र आमरुपमा चिनिने ब्राण्ड कम्पनीमा परिणत भएको छ ।

स्पेस एक्सको नासासँगको सहकार्य:

इलोनको सफलता अब कुनै कम्पनी वा ब्राण्डमा मात्र सिमित रहने अवस्था भएन । उनका खोज र प्रयोगले सिंगो पृथ्वी सानो र साँगुरो हुँदै गयो । उनका आविष्कारले पृथ्वीबाहिर ब्रह्माण्ड विचरण गर्न एकपछि अर्को यात्रा तय गर्न थाले । ब्रह्माण्ड नै उनको खोज र प्रयोगको थलो बन्न थाल्यो । यस अघिसम्म अमेरिकी भूधरातलबाट राष्ट्रिय वैमानिक तथा अन्तरीक्ष प्रशासन (नासा) को एकलौटी पहुँच, अध्ययन र खोज तथा अनुसन्धान भैरहेको अन्तरीक्षमा इलोन मस्कको स्पेस एक्स नामको प्राइभेट खोज तथा अनुसन्धान कम्पनीको प्रवेश भयो ।

यसले अमेरिकी राज्य प्रशासनलाई संभावना र चुनौतीको संघारमा ल्याएर उभ्याइदियो । अमेरिकी प्रशासनले चुनौतीलाई संभावनामा बदल्ने निर्णय लियो । परिणामतः नासाले स्पेस एक्ससँग सहकार्यको हात अघि बढायो । हाल अमेरिकी खगोलीय अध्ययन, अनुसन्धान र प्रयोगमा अमेरिकी प्रशासनले इलोनको स्पेस एक्सलाई नासा सरहको मान्यता र सहकार्यमा अघि बढाएको छ । स्पेस एक्स हालैका दिनमा अन्तरीक्ष भ्रमण र अनुसन्धान कम्पनी खोलेर निरन्तर अनुसन्धानमा जुटिरहेको छ ।

स्पेस एक्स निर्मित विमान र रकेटको खगोलीय चमत्कार:

आश्चर्यजनक आविष्कार र तिनको सफलतम् प्रयोगसँगै इलोनको स्पेस एक्सले अमेरिकी एयर फोर्ससँग सघन सहकार्य गरिरहेको छ । यो भनेको नासाले हाल गरिरहेको कामभन्दा पनि बढि फराकिलो र ठूलो काम हो । भनिन्छ, स्पेस एक्सले नासालाई उछनिसकेको छ । तथापि नासा स्पेस एक्ससँग निरन्तर सहकार्यमा छ । पछिल्लो चरणमा स्पेस एक्सले निर्माण गरेका आधुनिक रकेट नै नासाको खोजी कार्यमा सहयोगीसिद्ध भैरहेका छन् । स्पेस एक्सद्वारा निर्मित यी अत्याधुनिक रकेटहरु हाल मंगलग्रहका बारेमा नयाँ खोज तथा अनुसन्धानका लागि सबैभन्दा भरपर्दा रहेका छन् । स्पेस एक्सका खोज तथा आविस्कार नासाका लागि हाल अतिआवश्यक र अभिन्न हुन पुगेका छन् । हाल अमेरिकामा इलोनको स्पेस एक्स नै विश्वका अति धनाढ्यहरुको सबैभन्दा बढी शेयर जम्मा भएको कम्पनीमा गणना गरिन्छ ।

विश्वका सबैभन्दा बढी धनी व्यक्तिः

चमत्कारी व्यवसायी, उद्योगी डिजाइनर तथा अद्वितीय इन्जिनियर इलोन मस्क अहिले विश्वकै नम्बर एक धनी व्यक्तिका रुपमा उदाएका छन् । उनी धनदौलतमा विश्वमा अद्वितीय छन् । यति मात्र होइन, विज्ञान तथा प्रविधिको आविस्कार र प्रयोगमा पनि उनी संसारमा नम्बर एक नै छन् । उनीसँग हाल १८५ बिलियन डलरभन्दा बढीको सम्पत्ति छ । हामीले गणना गर्दा एक, दश, सय, हजार, दशहजार, लाख, दशलाख, करोड, दशकरोड, अर्ब, दशअर्ब, खर्ब, दशखर्ब, निल, दश निल, शंख, दशशंख, पद्म, दशपद्म आदि भनेर गणना गर्दछौं । हाल उनीसँग त्यति नै बढि पैसा छ । तर साधरण मानिसलाई बुझ्न बुझाउन सजिलोका लागि खर्बौं डलर भनेर अंक मापण गरी लेखिन्छ ।

प्रेरणादायी अभिव्यक्तिः

१.यदि कुनै कुरा निकै महत्वपूर्ण छ भने धेरैपटक असफलता हात किन नलागोस्, त्यसमा सफलता प्राप्तिका लागि निरन्तर लागि पर ।
२. सफलताको विकल्प हुन्छ । कुनै पनि प्रयास असफल नै नहुने भए खोज अनुसन्धानले कसरी पूर्णता आउने थिए र ?
३. यदि तिमी बिहानै उठ्दा भविष्य राम्रो हुँदै गैरहेको देख्छौ भने यो तिम्रो उज्यालो दिन हो ।
४. बिहानै उठ्नु र बाँच्नुको अर्थ छ । किन बाँचिन्छ, कारण खोज्नु पर्छ । केले काम गर्न प्रेरित गर्छ ? भविष्य भनेर केलाई माया गरिन्छ ? यदि भविष्य भनेर आकाशका ती तारामण्डल र ग्रहहरुको श्रृंखलालाई देखिँदैन भने म निकै तनावमा रहिरहन्छु ।
५. जब हेनरी फोर्डले सस्तो र भरपर्दो कार बनाए, मान्छेले भने ‘होइन, घोडो चढ्दा के नै पो बिग्रिएको थियो र ?’
६. दृढता निकै ठूलो कुरा हो । तिमीलाई बाध्य नपारिँदासम्म यसलाई नछोड ।
७. परिस्थितिलाई नियन्त्रण गर्न सकिँदासम्म आफ्नो अधिनमा राख ।
८. तिमी जति विगतभित्र पसेर कुराहरु बुझ्न र घटमा लिन सक्छौ, त्यति नै देववाणीजस्ता लाग्ने पुराना तथ्य जान्न, परिकल्पना थाहा पाउन, अथाह तथ्यांक संकलन गर्न र आश्चर्यजनक कुराहरु थाहा पाउन सक्छौ । ती सैयौं वर्ष अगाडि चामत्कारिक कथाजस्ता थिए ।
९. पहिलो पाइला नै संभाव्यता स्थापित गर्ने पाइला बन्यो भने त्यसपछि संभावनाको लहर नै आउँछ ।
१०. सामान्य मानिसका लागि आफू असाधरण बन्ने बाटो चयन गर्न संभव छ ।
११. कि त म रमिते बन्न सक्छु कि त म यसमा अभिन्न भएर सहभागी हुनसक्छु ।

अन्तिम इच्छा:

यतिका धेरै धन कमाउन सफल इलोन मस्कको अन्तिम इच्छा के होला ? यो सबैका लागि चासोको विषय हुनु स्वभाविकै हो । जन्म, विवाह र मृत्यु मानवजातिका सबैभन्दा ठूला र सबैमा समान रुपमा लागु हुने संस्कारगत कुराहरु हुन् । जन्ममा इच्छा अभिव्यक्त हुन सक्दैन । तर विवाह र मृत्युमा भने इच्छा अभिव्यक्त हुन सक्छ । विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कको अन्तिम इच्छा भने संसारमा रहेका सबै मानिसको भन्दा निकै फरक छ । उनको अन्तिम इच्छा भनेको मंगल ग्रहमा पुगेर मर्न पाउनु हो । उनका अत्याधुनिक आविष्कार पनि मंगल ग्रहको खोज तथा अनुसन्धानमा नजिक नजिक पुगिरहेका छन् । हामी सबैको कामना, उनको इच्छा पूरा होस् ! त्यो समग्र मानव जातिका लागि नयाँ पाइला हुने छ ।