काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी सामान्य भएपछि मुलुकको पर्यटन क्षेत्रले उत्साहपूर्ण रुपमा फड्को मार्ने बताएका छन । राजधानीको ठमेलमा स्थापना भएको चेन होटल ‘रमादा अनकोर काठमाडौँ ठमेल’ को आज उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कोभिड पछि नेपालको पर्यटन फस्टाउने भएकाले होटल लगायत पूर्वाधार विकासमा लगानी बढाइनुपर्नेमा जोड दिएका हुन ।
मन्त्री ज्ञवालीले पर्यटनको महत्वपूर्ण पाटो होटल क्षेत्रमा ढुक्कका साथ लगानी गर्न पनि व्यवसायीलाई आग्रह गरेका हुन । अहिलेको राजनीतिक अस्थिरताबाट अत्तालिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले छिट्टै मुलुकमा राजनीतिक स्थिरता कायम भई आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरेका हुन । नेपाल चेम्बरअफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटक आवागमनलाई सहज तुल्याउने ‘अनअराइभल’ प्रवेशाज्ञा भिषाको व्यवस्था गर्न सरकारसमक्ष आग्रह गरेका थिए ।
प्रसिद्ध रमादा ब्राण्ड नेपालमा
हस्पिटालिटी क्षेत्रमा विश्वप्रसिद्ध चेन होटल रमादा ब्राण्ड नेपालमा भित्र्याइएको छ । ‘रमादा अनकोर काठमाडौँ ठमेल’ नामको यो होटलमा विभिन्न उद्योग, पेशा व्यवसायमा संलग्न नेपाली लगानीकर्ता, विदेशमा रहेर व्यवसाय गरिरहेका गैरआवासीय नेपाली एवम् वैदेशिक लगानीकर्तासमेतको संलग्नता छ ।
विश्वमा नै करिब नौ हजार सम्बद्ध समेतको संख्यामा होटल आवद्ध रहेको रमादा ब्राण्डलाई नेपालमा भित्र्याइएको हो । ब्राण्डले निर्दिष्ट गरेको गुणस्तरीयता सम्बन्धी मापदण्डलाई पालना गरेर होटल निर्माण गरिएको छ । नियमितरुपमा गुणस्तरीयताकाबारे प्रशिक्षित गर्ने तथा अनुगमन गर्ने गरी ब्राण्डको सम्झौता भएको कम्पनीले जनाएको छ ।
पर्यटकीय होटलले पाहुनालाई लक्षित सुविधायुक्त कोठा, टेरेशलगायत विभिन्न रेष्टुरेन्ट, सेमिनार हल, पौडीपोखरी, जिम हल आदि होटलमा चाहिने सबै सुविधाको व्यवस्था रहेको छ । रमादा अनकोर काठमाडौँ ठमेल, ठमेल प्लाजा होटल एण्ड सुइट्स् प्रालिको एक युनिट हो ।
होटलमा सहयोगी बैंकका रुपमा नेबिल बैंक लिमिटेडले फाइन्नान्स गरेको छ । शेयरधनी तथा बैंक लगानीसमेत गरी हालसम्म करिब २०० करोड लगानी भइसकेको र निर्धारित योजना अनुरुप यसलाई विस्तार गर्दा कूल लगानी करिब ३५० करोड पुग्ने अनुमान गरिएको छ ।
यस कम्पनीमा ३६ जनाको शेयर लगानी छ । जसमा विदेशी लगानीकर्ताको रुपमा ग्यालेक्सी नेटवर्क लि। हङहकङ रहेको छ । रमादाको सञ्चालक अध्यक्षमा पर्यटन व्यवसायी शान्तिरमण पंगेनी र अन्य पाँच सञ्चालक सदस्य रहेका छन् ।