• मंसिर ११ २०८१, मंगलवार

राष्ट्रपति भण्डारी र प्रम ओलीले संविधान भ्वाङ पारेः खनाल

पुष २४ २०७७, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले लोकतन्त्रको रक्षाको निम्ति संसद पुनःस्थापना अनिवार्य सर्त भएको बताएका छन् । काठमाडौँमा आयोजित एक मिडियाको सातौं वार्षिकोत्सवको कार्यक्रलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले सो कुरा बताएका छन् ।

राजनैतिक स्थिरता नभए देशले विकास गर्न नसक्ने भन्दै जनताले चुनेको संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले अस्थिरता निम्त्याएको धारणा व्यक्त गरे । जनताले दिएको पाँचवर्षको जनादेशलाई प्रधानमन्त्री र राष्ट्रपति मिलेर लत्याएको बताउँदै संविधानको रक्षा गने जिम्मेवारी लिएका उनीहरुले नै संविधान विरोधी काम गरेको आरोप लगाए ।

उनले अगाडी भने,‘संविधानको रक्षा गने दायित्व लिएका राष्ट्रपति र प्रधानमन्त्रीले नै ३ करोड जनताले बनाएको संविधानलाई भ्वाङ्ग पारे ।’ बोस्टर मिडियाको सातौं वार्षिकोत्सवको अवसरमा ‘पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका’ विषयमा धारणा व्यक्त गर्दै खनालले नेपाललाई घेरेर बसेका चीन र भारत महाशक्ति हुनुका साथै नेपाली पर्यटनका बजार समेत भएको बताए ।

कार्यक्रममा पूर्वमन्त्री रामकुमार श्रेष्ठले आजसम्मका नेपालका सरकारहरुले पर्यटनमैत्री बजेट कहिल्यै ल्याउन नसकेको धारणा व्यक्त गरे । श्रेष्ठले नेपालले आफूमा भएको पर्यटको सम्भावना समेत बेच्न नसक्नु दुःखद भएको बताए । कार्यक्रममा पूर्वमन्त्री लालबाबु पण्डितले हाम्रो मुलुकमा विदेशबाट आउने पर्यटकबाट हुने आम्दानी भन्दा देशबाट बाहिर घुम्न जानेहरुबाट खर्च हुने गरेको भएकोले बाहिर घुम्नुभन्दा आन्तरिक पर्यटनको विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सांसद कल्पना नेपालीले हामी व्यक्तिहरुले आफूलाई सिङ्गारे जस्तै यो देशको आन्तरिक पर्यटनलाई सिङ्गार्नु पर्ने विचार व्यक्त गन् ि। कार्यक्रममा पूर्वसांसद गीता राणा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे लगायतले मिडियाको वार्षिकोत्सवको अवसरमा शुभकामना दिएका थिए ।

मिडियाको वार्षिकोत्सवको उपलक्षमा समाजमा र सो मिडियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अवसरमा पानी विशेषज्ञ रामशरण थापाले कस्तो पानी स्वास्थ्यको लागि लाभदायक हुन्छ भनेर पानीको बारेमा प्रदर्शन गरेका थिए ।

वार्षिकोत्सव कार्यक्रम बोस्टर मिडिया समूहका अध्यक्ष मुकुन्द ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सञ्चारकर्मी शोभा त्रिपाठीले गरेकी थिइन् । कार्यक्रममा उपस्थितहरुलाई सो मिडियाका सल्लाहकार तथा ग्रीनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले स्वागत मन्तव्य राखेका थिए ।