• मंसिर ११ २०८१, मंगलवार

हजार सपनाहरु….

पुष २३ २०७७, बिहीबार

सुजता लिम्बु

मध्यरात । चिसो मौसम । सपनाका रापले तातिएको मन । बन्द कोठाभित्र यत्रतत्र छरिएका किताब । भित्तामा टाँसिएका निर्जिव तस्विरका फ्रेमले पनि तँ किन टोलाएकी ? भन्दै प्रश्न गरेझैँ आभास हुन्छ । त्यतिमात्रै होइन, कैयौँ दिनदेखि नमिलाएको ओछयानले पनि मलाई अल्छीको उपनामले बोलाईरहेको भान हुन्छ ।

आज भोली म शारिरीक थकानले भन्दा पनि मानसिक थकानले गलेकी छु । तर पनि सपनाको रणभुमिमा ढलेकी मलाई घरीघरी त्यही अधुरो सपनाले झस्काउँछ ।

हिजोआज फुर्सद भएर पनि होला । थुप्रै यादहरु आइरहन्छन् । सक्रिय पत्रकारिताबाट केही दिनयता टाढै छु । विगतमा गरेका कामको समिक्षा गर्दै, वर्तमान समयलाई अब कुन दिशा तर्फ लैजाने भन्ने विषयमा घोत्लिएकी छु । जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने भनाईलाई सार्थकता दिन नयाँ योजना बनाईरहेकी छु । हो आज भोलि यसैगरी समय विताइरहेकी छु ।

म कार्यक्रमतिर कमै उपस्थिति जनाउन थालेकी छु । प्रायले भन्ने गर्छन तिमी कता हरायौ ? मुसुक्क मुस्कुराउदै, जवाफ दिने गर्दछु, ‘अँ म हराएकी नै छु, आजभोली नयाँ बाटोमा हिड्ने प्रयास गर्दै गन्तव्यको खोजीमा भौतारिहेकी छु ।’

कतिले त मेरो भविष्यको चिन्तासहितका प्रश्न गर्छन् । जागिर छाडेर अब के गर्छौ ? कसरी जीवन चलाउँछौ ? जस्ता प्रश्न सोध्नेको कमी छैन् ।
यस्ता धेरै प्रश्न झेलेर होला, जवाफ दिनभन्दा पनि म मौन बस्न रुचाउँछु ।

म विगतलाई भुलेर, वर्तमानसँग रमाउन चाहन्छु, ताकी भविष्य सुन्दर होस । अभावले नया सिर्जनाको थालनी गर्न प्रेरित गर्दछ भने शुन्य दिमागले नयाँ सोच विचार उत्पादन गर्छ । यो समय वेरोजगार तर शुन्य मस्तिष्कमा नयाँ सिर्जना, सोच, विचार उत्पादन गर्नतर्फ लागि परेकी छु ।

यहि अन्तरालमा केही दिन अगाडी लामो समयपछि आत्मीय साथीसँग मोबाइलमा कुराकानी भयो । पछिल्लो समय भौगोलिक वा भौतिकरुपमा टाढा भए पनि प्रविधिले नजिक बनाएको छ ।

उनको पहिलो प्रश्न थियो, के गर्दै छस ? ‘म सानो तिनो काममा व्यस्त थिए । तर अचेल फूर्सदमै छु ।’

‘जागिर छाडिस ?’ उसले दोहोर्याएर सोध्यो । मैले हो भने । उसले फेरि भन्यो, ‘अब के गर्ने विचार छ ? कि पैसा भएको केटा हेरेर बिहे गर । एक्लै छोरी मान्छेलाई गाह्रो हुन्छ ।’

म मौन भए । उसलाई जवाफ दिन आवश्यक ठानिन् । मेरो जवाफ नपाएपछि सधैँ लामो कुराकानी गर्ने उसले सिधै बिदा माग्यो । फोन काट्यो ।
जसरी समय फेरिन्छ । त्यसरी फेरिन्छ मान्छेको सोच । मान्छेप्रतिको धारणा । कामप्रतिको बुझाई । मान्छेहरुको आत्मसम्मानको उचाई र अपमानको गहिराई पनि प्रष्ट हुन्छ । बस समय आउँछ । समयले सबैको औकात देखाईदिन्छ ।

हामी धेरै समानताका नारा भजाउँछौ । धेरै महिला अधिकारका कुरा गर्छौ । महिलाले भोगेका पीडाहरु सम्झिएर भावुकता पोख्छौ । तर हामी स्वयंम महिलाका कुरा महिलाले बुझ्दैनौ । बुझेपनि भावुकतालाई कम, फुक्र्याई र घुक्याईलाई मात्रै महत्व दिन्छौ ।
आफ्नो हैसियतभन्दा तल भए हेप्न थाल्छौ । थोरै सम्पन्न भए ईष्र्या गर्छौ । जति नै आदर्श गफ दिएपनि हाम्रो सामाजिक प्रवृत्ति यसभन्दा माथि उठ्न सकेको छैन् ।

केही नमूनायोग्य उदाहरण छाड्ने हो भने पुरुष र महिलाबीचको सम्बन्धमा आज पनि ठूलो खाडल छ । आफ्ना आवश्यकता पूरा होलान, तर सोच र स्वार्थ धेरै फरक छ ।

अहिले पनि बराबरको सम्बन्धमा समानता, स्वतन्त्रता र आर्थिक आत्मनिर्भरता हुँदैन, केहीको सम्बन्ध अहिले मालिक र दासजस्तो छ । जो श्रीमान श्रीमति हुन् । तरु मलाई दासी बन्नु छैन् । म आत्मनिर्भर भएर आफ्नै स्वाभिमानमा बाँच्नु छ ।

मैले घरको संघार नाघ्नु अगाडी धेरै ठुलो सपनाको पोका बोकेर निस्किएकी हुँ । मैले अङगालेको पेसामा सफलता हाँसिल गर्नुछ । कलममार्फत समाज परिवर्तन गर्नु छ । मेरो परिवारले दिएको स्वतन्त्रतालाई मैले सहि ठाँउमा सदुपयोग गर्नु छ । मलाई केहि समय म भएर जिउनु छ ।

मलाई पत्रकारिता पेसाबाट धन कमाएर महल बनाउनु छैन् । पाठकको मन जितेर स्वाभिमानका साथ आफ्नै खुट्टामा उभिनु छ । सपना बोकेर हिँड्ने मान्छे थाक्छ तर हार्दैन । मैले केहि समय विश्राम मात्रै लिएकी हुँ, हारेकी छैन् । थोकेकी होइन् ।

समाजमा हुने कुरिती कुसंस्कारलार्ई कलमको माध्यमबाट परिवर्तनको मार्गमा ल्याउनु छ । आवाज विहीनहरुको आवाज बनेर अझै धेरै गर्नु छ । म हराएकी होईन, थाकेकी छैन । खाली मस्तिष्कमा नया सोच, योजना, विचार भर्दैछु ।

सोचेजस्तो सहज छैन् भोगाई । तर पनि जीवनमा आउने हरेक चुनौतीलाई स्विकार्दै अगाडी बढ्नु छ । घर छोडेर जागिरको दौरानमा निस्किएपछि रातभर जागेका आँखाले देखेका हजारौँ अनिदो सपनाहरु छन, जुन मैले पुरा गर्नु छ । अहिले केही सयमका लागि ब्रेक लिएकी छु । तर पनि मलाई ती “हजार सपनाहरुको माया लागेर आउछ… ।”

(लिम्बु पत्रकार हुन् ।)