सत्रसय ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कालीकोट जिल्ला ९ स्थानीय तह र ८३ वटा वडाहरुमा विभक्त छ । समुद्र सतहदेखि ७३० मिटर (खुलालु) देखि ४,७९० मिटर उचाई (चुलिमालिका लेक) सम्मका विभिन्न भू-भागहरु समेटेको भौगोलिक विविधताको धनी जिल्ला कालीकोटमा उपोष्ण प्रदेशीयदेखि शितोष्ण प्रदेशीय बाली र वस्तुहरुको उत्पादनहुँदै आएको छ । भौगोलिक विशिष्टता तथा हावापानी अनुकूलताको आधारमा बाली र वस्तुहरुको छनौट गर्ने र तीनको उत्पादन गर्न प्रविधिको विकास तथा प्रचार-प्रसार अहिलेको प्रमुख आवश्यकता हो ।
सँगै यो ठाउँमा भएका पर्यटकीय स्थलको पनि उचित व्यवस्था हुन जरुरी छ । म सानै उमेरदेखि थाहा भएको कुरा हो की, ‘नजिकको तीर्थ हेलाँ’ भने झैं हामी कहिल्यै पनि आफ्नो ठाउँलाई चिनाउन र त्यसको संरक्षण गर्न सकेनौं, आफ्नै वरपर घुम्न र चिन्नलायक ठाउँहरु हुन्छन् तर हामी अरूकै ठाउँमा घुम्न जान्छौं । यद्यपी अरूको ठाउँ घुम्न हुँदैन भन्न खोजेको होइन । बरु हामी जहाँ घुम्छौं त्यो ठाउँको केही न केही कुरा सिक्ने अवसर मिल्छ र नयाँ कुरा पत्ता लगाउन हामी नै अग्रसर हुनुपर्दछ ।
यति कुरा लेखिरहँदा यो पंक्तिकार कालीकोटको खाँडाचक्र नगरपालिका-११ बरातुको लेकखर्क गोरेकाँडामा छु । यहाँ अनौठो पूजा हुँदोरहेछ । यस्तो पूजा गर्ने कुराको सुरुवात त धेरै शताप्दी अघिदेखि भएको हो । यस्ता धेरै कुराहरु खोज खबर गर्दा पत्ता लाग्दै आएका छन् । लाग्दै जाने पनि छन् । किनकी सबैको आफ्नो आफ्नो-आफ्नो पहिचान र अस्तित्व छ ।
पहिले पहिले यस्ता ठाउँहरुलाई पूजाआजा गर्नको लागि मात्र महत्व दिइन्थ्यो भने पछिल्लो समयमा त्यस्ता ठाउँहरुलाई धार्मिक र साँस्कृतिक मात्र नभई पर्यटकीय स्थलकोरुपमा पनि चिनाउन थालिएको छ । खर्क त्यो भेगका गिरी, भारती र रोकायाहरुको बर्खाको समयमा रुख र ओडारको छानो हालेर बसोबास गर्ने ठाउँ हो ।
खर्क विशेषगरि गोठाला जाने र गाई, गोरु, भैंसी, बाख्रा र भेडा पाल्नका लागि बनाइने ठाउँ हो । यस्ता खर्कहरुले वस्तुभाउ पाल्न धेरै सहयोग मिलिरहेको स्थानीयहरुको भनाई रहेको छ ।
साउने पुन्हीको कुनै वास्ता नगरेका कारण माई रुष्ट भएर चदर्तुशीको राति बाघ आएर सम्पूर्ण वस्तु मार्न र तर्साएर जङ्गलतिर लखेट्न थाल्यो । हामीले केही गल्ती गर्यौं की भनेर १९८९ सन (१९३२) सालमा भाद्र १ गतेदेखि अहिलेसम्म पनि गरिन्छ । पूजा गरेपछि वनदेउता खुसी हुन्छन् भन्ने मान्यता रहेको छ । खासगरि वन्यजन्तु, रोगव्याधी, हावाहुरी तथा विभिन्न प्राकृतिक प्रकोपहरुबाट बच्नका लागि ती तत्वहरुलाई शक्तिको श्रोत मानेर पुज्ने चलन धेरै पुरानो हो ।
यसै कारणले गोरेकाँडा माई भवानीको पनि पूजा गर्न सुरु गरियो स्थानीय पुजारीको अनुभव रहेको छ । पूजा गर्न थालेपछी बाघले खर्कमा सताउन छोडेको भन्ने पुर्खाहरुको भनाई छ । यस्ता कुराका प्रसंगहरु स्थानीयस्तरमा धेरै छन् । यस्ता कहानी र इतिहासहरु लेखिसकिँदैन, किन भने यो ठाउँमा यस्ता प्रसंगहरु धेरै नै छन् । लेखिहालेमा पनि अधुरै रहन्छन् ।
आज म यस क्षेत्रमा रहेका दृश्यहरुको कुरा गर्नेछु । घनघोर जङ्गलको बीचमा एउटा सानो टाकुरो छ । त्यो टाकुरो समुन्द्री सतहबाट करीब २,००० मीटर उचाईमा रहेको छ । जहाँबाट कालीकोटको रास्कोट, सान्नी, मान्म, लालु, कोटबाडा,र भर्ता लगायतका दैलेख, अछाम र गोठीकाँडा लगायतका मनोरम दृष्यहरु अवलोकन गर्न सकिन्छ । त्यहाँ पुगेपछी चुलीका फाँट, छाँटाका छहरा लगायतका ठाउँहरु देखन सकिनछ ।
साथै त्यहाँ कतै घनघोर जंगल तथा बाक्ला बुट्यानहरु रहेकाले कालिज, झारल, मिर्ग, तिथ्रा र थार जस्ता धेरै जंगली जनावर देख्न पाइन्छ । पछिलो समयमा आउँदा त्यो ठाउँलाई धार्मिक, साँस्कृतिकसँगै पर्यटकीय स्थलपनि बनाउनु पर्छ भन्ने हेतुले गाउँका सबै जनता र त्यही गाउँका वडाध्यक्षको पहलमा प्राविधिक जलबहादुर शाहीको योजनामा निर्माण कार्य अघि बढेको छ । निर्माण कार्य सम्पन्न गर्नका लागि ५ जनाको उपभोक्ता समिति पनि बनाइएको छ ।
२०७४ जेठमा गठन गरिएको हरिचन्द्र गिरीको नेतृत्वमा रहेको सो समितिले कालीकोट जिल्लाकै ठूलो र आकर्षक मन्दिर निर्माण गरिरहेको छ ।
यसकार्यबाट गाउँका जनताहरू खुसी भएका छन् । यी र यस्ता कार्यहरुले जिल्ला र स्थानीय ठाँउहरुलाई पनि चिनाउने छन् । पहिला ढुङ्गा मात्र चाँजेर पूजा गर्दै आएकोमा अब भने मन्दिर बन्दा स्थानीयहरु धेरै नै खुसी भएका छन् । मन्दिर मानिसले मान्ने र पुज्ने गरेको देवता रहने ठाउँमात्रै होइन त्यससँग संस्कृति र परम्परा पनि जोडिएर आएको हुन्छ । त्यसैगरी स्थानीयस्तरमा रहेका पुरातात्विक र संस्कृतिकारुपमा रहेका वस्तुहरुको पनि संरक्षण गर्नुपर्ने भएको छ ।
त्यसैगरी प्राकृतिकरुपले मनोरम मानिने जंगल तथा त्यससँग जोडिएका वस्तु तथा जडिबुटीहरुको पनि उचित संरक्षण र विकास गर्नुपनि त्यस क्षेत्रको लागि आवश्यक चीज हो । त्यसैगरी कर्णाली प्रदेशमा अवस्थित कालीकोट पनि अरु जिल्ला जस्तै फरक फरक मानव जाति रहेको जिलला हो । त्यसैले रहेक जातिहरुका परम्परा र संस्कृतिकोरुपमा रहेका विभिन्न गुम्बा, मन्दिर, थान तथा विविध कलाहरुलाई पनि जोगाएर विकास गर्दै लैजानु पर्ने आजको आवश्यकता हो ।
त्यहाँ खासगरी खस समुदायको मष्टो संस्कृति, दलितहरुको कला तथा जनजातिहरुको प्रकृतिपूजक परम्परा त्यहाँको लागि र विश्व तथा नेपालका अन्य स्थानका मानिसहरुका लागि अनुसन्धानमूलक विषयहरु हुन् । यसरी त्यसक्षेत्रका सम्पूर्ण मानव जातिका लागि आर्थिक, सामाजिक, साँस्कृतिक लगायत मानवीय धरोहरका रुपमा रहेका वस्तुहरुलाई संरक्षण र विकास गर्दै लैजाने योजना बनाउनु र कार्यान्वयनमा लैजानु आजको टड्कारो आवश्यकता बनेको छ । यसका लागि केन्द्र सरकारको नजर त्यता पुगनु जरुरी छ भने प्रदेश तथा स्थानीय सरकारहरुले निकै नै मेहनतका साथ योजना बनाएर लागु गर्नु पर्दछ ।