बुधवारदेखि घाम लागे पनि आकाश अझै छङ्ग फाटेर सफा भने देखिएको छैन । कोभिड महामारीको कुचक्रसँगै वायुप्रदुषणको घेराभित्र परेको छ सिंगो देश । नेपाल माथिको वायुमण्डल जनस्वास्थ्यका लागि निकै प्रतिकूल बनेको छ अहिले । पश्चिमी वायुका कारण वायुमण्डलीय वातावरणमा ठूलो फेरबल आएको छ ।
यसैका कारण कष्टकर हुन गएको जनजीवन अहिले रुघाखोकी, घाँटी दुख्ने, आँखा दुख्ने र ज्वरो आउने समस्याबाट ग्रस्त हुन पुगेको छ । वायुमा प्रदुषणको मात्रा ८ गुणाले बढ्न गएको स्वास्थ्यकर्मी तथा प्रदुषण मापण यन्त्रहरुले इंगित गरिरहेका छन् ।
वायु प्रदुषणले मानिसको फोक्सो र मुटुमा प्रत्यक्ष असर पार्ने भएकाले बालबालिका तथा बृद्धवृद्धा यसबाट बढि आक्रान्त हुने संभावना बढ्दै गएको छ । वायुमण्डलमा रहेको प्रदुषण पार्टीकुलर म्याटरको मात्रा २१९ दशमलव ३८ माइक्रोग्राम प्रतिघनमिटर रहेको देखिएको छ । यो भनेको जनस्वास्थ्यका लागि निकै नै जोखिमपूर्ण अवस्था हो ।
स्वास्थ्य खतराका हिसावले नेपालका धेरै सहरबजार अहिले ‘रेड जोन’मा परेका छन् । पूर्वमा हेटौडा, जनकपुर, विराटनगर र पश्चिममा चितवन तथा महेन्द्रनगर काठमाडौंपछिका सबैभन्दा धेरै वायुप्रदुषित सहरमा गणनामा आएका छन् ।
यी दिनहरुमा देशमा हावा वेगले बग्न सकिरहेको छैन । तुवाँलो र हुस्सुले बस्ती तथा अन्य क्षेत्र ढाकेको छ । आकाश छंग नफाटेकाले लगातार तीनचारदिनदेखि घाम लागेको छैन । जमिन चिसिएको छ । वायुमा मिसिएका प्रदुषणका कणहरु वायुमण्डलको तल्लो तहमा थुप्रिएर रहेका छन् । स्वासप्रस्वासका क्रममा यी सजिलैसँग मानिसको फोक्सोमा प्रवेश गरिरहेका छन् ।
वायु प्रदुषण दुई कारणले हुने गरिरहेको हुन्छ ः पहिलो प्राकृतिक रुपमा र दोस्रो मानवीय गतिविधिका कारण । प्राकृतिक रुपमा हिउँदमा पानी पर्दैन वा कम पानी पर्छ । यसले गर्दा वायुमण्डलमा रहेका धुलोधुँवाका कणहरु पखालिन र वायु शुद्ध हुन पाउँदैन ।
त्यसैगरी, हिउँदमा हावा पनि कम चल्छ । यसले गर्दा वायुमण्डलमा रहेका फोहरका कणहरु जहाँको त्यही थुप्रिएर रहिरहन्छन् । यसले प्रदुषणको मात्रा बढाउन मद्दत गरिरहेको हुन्छ । त्यसै गरी, यो बेलामा तापक्रम निकै कम हुने भएकाले पनि वायु प्रदुषण हुनमा बल पुगिरहेको हुन्छ ।
वायु प्रदुषण बढाउने मानवीय गतिविधिहरुमा आगो बाल्ने, प्लास्टिक जलाउने, हिउँदे फसलपछि बारीमा आगो लगाउने आदि कामहरु भैरहेका हुन्छन् । हिउँदमा ईटाभट्टा चलाउने काम पनि बढी हुन्छ । यस्तो बेलामा मानिसले लिने हरेक सेकेण्डको स्वासमा धुलो र धुवाँका कण फोक्सोसम्म सजिलै पुग्दछन् । आम मानिसमा अहिले आँखा दुख्ने, घाँटीमा खसखस हुने, घाँटी दुख्ने, स्वासप्रस्वासमा बाधा हुने, आँखा हेर्दा च्यातिए झैं लाग्ने आदिआदि लक्षणहरु देखिइरहेका छन् ।
अहिले नेपालमा वायु प्रदुषणमा यी मानवीय तथा प्राकृतिक कारणहरुले काम गरिरहेका छन् । यस्तो बेलामा तातो पानी खाने, न्याना कपडा लगाउने, अनावश्यक रुपमा बाहिर ननिस्कने र आगो बाल्ने काम नगर्ने गरेमा स्वास्थ्यमा हुनजाने संभावित खतराबाट केही भए पनि बच्न सकिन्छ ।