• चैत्र २७ २०८१, बिहीबार

स्थानीय तहबाट कैदीबन्दीलाई खाट उपलब्ध

पुष २२ २०७७, बुधबार

सुत्ने खाट अभावमा दमौली कारागारका कैदीबन्दी चिसो भूइँमा सुत्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीय तहले खाट सहयोग गर्न थालेका छन् । स्थानीय तहबाट खाट उपलब्ध हुन थालेपछि चिसो भूइँमा सुत्नुपर्ने बाध्यता हटेसँगै यहाँका कैदीबन्दी खुशी भएका छन् ।

कारागारमा बजेट अभावका कारण खाट राख्न नसकेपछि यहाँका कैदीबन्दी केही समय चिसो भूइँमा समेत सुत्न बाध्य भएका थिए । केही समयअघि राससमा ‘चिसो भूइँमा सुत्छन् कैदीबन्दीहरु’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि स्थानीय तहले सहयोगको लागि चासो देखाएका हुन् ।


Advertisement

सो समाचार प्रकाशित भएलगत्तै ब्यास नगरपालिकाले ४० थान एकल, म्याग्दे गाउँपालिकाले दुई जना क्षमताको ११ थान, बन्दिपुर गाउँपालिकाबाट पाँच थान, कास्की निवासी कृष्टिना गुरुङले दुई क्षमताको छ थान खाट सहयोग गरिसकेका छन् ।

जिल्लाका १० पालिकामध्ये अन्य सात पालिकाले पनि सहयोग गर्ने गरी प्रतिबद्धता जनाएको कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिए । कारागारमा स्थानीय तहले सहयोग गरेपछि कैदीबन्दीलाई सुत्न सहज भएको उनको भनाइ छ ।

महिला बन्दीगृह बनाइँदै

कारागारको पुरानो प्रशासन र सुरक्षा ब्यारेक भवनको बाहिरी भागमा घेरबार गरी महिला बन्दीगृह बनाउन लागिएको छ । सो कारागारमा महिला बन्दी गृह नहुँदा कास्की कारागार पठाउनुपर्ने बाध्यता रहिआएकाले त्यसको अन्त्य गर्न लागिएको कारागारका निमित्त जेलर अधिकारीले जानकारी दिए ।

ती दुई भवनलाई व्यवस्थित गरी महिला बन्दीगृह बनाउँदा ४० देखि ५० जनासम्म राख्न सकिने क्षमताको हुने उनले बताए,“हाल सो भवनलाई क्वारेन्टिन बनाइएको छ भने क्वारेन्टिनमा छ जना बस्दै आएका छन् ।” नयाँ आएका कैदीबन्दीलाई १० दिनसम्म क्वारेन्टिनमा राखेपछि कुनै पनि लक्षण नदेखिए मात्रै कारागारमा पठाउने गरिएको छ ।

महिला बन्दीगृहको लागि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालय र कारागार व्यवस्थापन विभागलाई समेत जानकारी गराइसकिएको कार्यालयका निमित्त जेलर अधिकारीले बताए । हाल कारागारमा कैदी १८७ र थुनुवा ८२ गरी कूल २६९ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।

हराएको मोबाइल फेला

जिल्ला प्रहरी कार्यालय तनहुँले हराएको सात थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा फेला पारेका मोबाइल सम्बन्धित धनीलाई कार्यालयमा नै बोलाएर हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।

विभिन्न मिति र स्थानबाट हराएका तथा चोरी भएका मोबाइलको खोजी गरी पाउँ भनी प्रहरी कार्यालयमा निवेदन आएको थियो । निवेदन आएपछि प्रहरीले खोजतालास कार्यलाई तीव्रता दिँदै गएपछि हराएका तथा चोरी भएका करिब रु एक लाख २९ हजार ५०० बराबरको मोबाइल फेला परेको उनले बताए ।