[अभिषेक]
इतिहासमा दुई वटा कुरा मात्रै सम्झनामा रहन्छन्, एउटा अति राम्रो र अर्को अति नराम्रो । राजनीतिक रुपमा सफल, परिवर्तन र युगान्तकारी शासक मात्रै होइन, इतिहासमै निरंकुश शासकको नाम पनि स्वर्णिम अक्षरले लेखिन्छ । नेपालको सन्दर्भमा राम्रा भन्दा नराम्रा अर्थात निरंकुश शासकको नाम धेरै नेपालीको जिब्रोमै झुण्डिएको छ ।
निरंकुश शासकमध्ये पहिलो नम्बरमा श्री ३ जंगबहादुर राणाको नाम आउँछ । त्यसपछि राजा महेन्द्रको नाम आउँदा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम पनि त्यही इतिहाससँग जोडिन थालेको छ । जसरी निरंकुश शासकका रुपमा विश्वमा हिटलरको नाम लिइन्छ, त्यसैगरी नेपालमा जंगबहादुरको नाम लिने गरिन्छ ।
तर शासकका रुपमा निरंकुश शैलीको नेतृत्व भने राजा महेन्द्रले गरेका थिए । २०१७ साल पुस १ गते तत्कालिन जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई जेल हालेर सत्ता हातमा लिएका महेन्द्रले झण्डै ३० बर्ष शासन गरे । अहिले पुस ५ गते संसद विघटन गरेका ओलीले गरेको तीन बर्षको शासन पनि नेपालीका लागि घातक साबित भैरहेको छ ।
निरंकुश शासक रहेकै बेला राजा महेन्द्रले देहत्याग गरेपनि उनले आफुलाई अब्बल शासकका रुपमा उभ्याए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई बहुमत दिलाएको संसद विघटन गरेर निरंकुशता लाद्न खोजेका बेला उनको तुलना श्री ३ भनेर चिनिएका जंगबहादुर र पञ्चायत चलाउने राजा महेन्द्रसँग तुलना भइरहेको छ । जुन तुलना अरुले होइन, ओलीलाई प्रधानमन्त्री बनाउने प्रचण्ड र माधव नेपालले गरिरहेका छन् । यो आफैमा लाजमर्दो विषय हो ।
तत्कालिन राजा महेन्द्रले दुई तिहाई बहुमत ल्याएका प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्त गरेका थिए । बीपीलाई अपदस्त गरेर जेल हालेका महेन्द्रले ३० बर्ष शासनसत्ता हातमा लिएर नेपालको विकास गरेका थिए । तर त्यही सन्दर्भमा नेपालको शासन व्यवस्था परिवर्तन गरेको संसद विघटन गरेर ओलीले कति विकास गरे ? यसको तुलना गर्नु नै असान्दर्भिक हुन्छ । तर यी घटनाक्रमलाई भने फरक ढंगबाट नियाल्न आवश्यक छ ।
महेन्द्रभन्दा ओली कसरी शक्तिशाली ?
राजा महेन्द्र शाहबंशीय राजाको एक सन्तान मात्रै हुन् । त्रिभुवनका छोरा महेन्द्रले पुर्खाको बिडो थामे । उनले बाबुकै आशीरवाद लिएर बाबुकै टाउकोमा राखेको श्रीपेच लगाएर राजाको कुर्सीमा बसे । उदार राजाभन्दा उनी निरंकुश बने ।
सत्ता हातमा लिएर जनतालाई डरपोक बनाएर राजा महेन्द्रले न सत्ता परिवर्तन गरे । न त शासन व्यवस्था परिवर्तन गरे । मात्रै उनले पुर्खाको राजकाज चलाए । तर राजा महेन्द्रभन्दा ओली नेपालको इतिहासमै स्थानीय तह, प्रदेश र संघीय सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री बने ।
संघीयता लागु भएपछि पहिलो प्रधानमन्त्री बनेका ओली इतिहासमै सर्वाधिक बहुमत ल्याएर प्रधानन्त्री बन्ने सौभाग्य पनि प्राप्त गरे । नेपालको इतिहासमा पहिलोपटक कम्युनिष्ट सरकारको शक्ति आर्जेका ओलीले शक्तिशाली नेता प्रचण्डलाई सारथी बनाउन पाए ।
ंसंसारकै सबैभन्दा उत्कृष्ट सिद्धान्त पछ्याउने प्रजातन्त्रको हिमायती कांग्रेसलाई प्रतिपक्ष बनाए । यो ओलीका लागि धेरै शक्ति र अवसरको समय हो । जुन कुरा राजा महेन्द्रले पाएका थिएनन् । ओली नेपालमा गणतन्त्र ल्याएपछि शक्तिशाली प्रधानमन्त्री बने । गणतन्त्रपछिको पहिलो प्रधानमन्त्री प्रचण्ड बनेपनि शक्तिशाली भने ओली नै रहे ।
संघीयता लागु भएपछि पनि नेपालको पहिलो दुई तिहाई बहुमत प्राप्त शक्तिशाली प्रधानमन्त्री बने ओली । जो राजाभन्दा धेरै शक्ति र सत्ता अनि व्यवस्थाको हिमायती बने । जुन अवसर प्रचण्डले पाएनन् । साच्चै पञ्चायतको डरमा बाँचेका जनताका लागि पनि ओलीको शासनकालमा रहेको लोकतान्त्रिक संघीय गणतन्त्र नै प्यारो थियो, छ ।
जसको श्रेय ओलीले पाए । १० बर्ष युद्ध लडेर लोकतन्त्र, गणतन्त्र र संघीयता ल्याएका प्रचण्डले भन्दा यसको सिधा श्रेय अनि जस ओलीले पाइरहेका थिए । त्यो पनि शक्तिशाली दुई तिहाई बहुमतको प्रधानमन्त्री बनेर । तर त्यो शक्तिलाई ओलीले विकासमा परिणत गर्न सकेनन् ।
ओलीभन्दा महेन्द्र किन फरक ?
राजा महेन्द्रले निर्वाचित सरकार अपदस्त गरेपनि नेपालको विकासका लागि ठूलो अवसरको ढोका खोलेका थिए । दलीय व्यवस्था हटाएका महेन्द्रले शिक्षाको ज्योतीका रुपमा त्रिभुवन विश्वविद्यालय बनाए । उनले बल्खुको डाँडो पुरै विश्वविद्यालयका लागि छुट्याए र नेपालकै पहिलो विश्वविद्यालय बनाए ।
नेपाली खेलक्षेत्रको एक मात्रै ऐतिहासिक रंगशालाका रुपमा दशरथ रंगशाला निर्माण गर्न लगाए । जसका लागि चीनबाट सहयोग ल्याए । तत्कालिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँगै सिधै वार्ता गर्ने हैसियत बनाएका राजा महेन्द्रले वैदेशिक हस्तक्षेप शुन्यमा झारे ।
थुप्रैपटक उनले विदेशीका प्रलोभन र धम्की नखेपेका होइनन्, तर उनले कसैलाई स्वीकार गरेनन् । नेपालमा पहिलोपटक स्थानीय तहको चुनाव गरेर संघीयताको अभ्यास लाग गरेका महेन्द्रले नेपाललाई ५ विकास क्षेत्रमा बाँडफाँड गरेका थिए ।
उनकै पालामा नेपाल १४ अञ्चलमा मात्रै होइन, ५ विकास क्षेत्रमा बाँडिएको थियो । अहिलेको प्रदेश सरकारको संरचना नभएपनि त्यतिबेला उनले विकास क्षेत्रमार्फत नेपालमा संघीयता अनुरुप विकास शुरु गरेका थिए ।
नेपालको वनक्षेत्र संरक्षण गरेर उनले थुप्रै प्राकृतिक सम्पदालाई जोगाए । राणाकालमा बनेका भौतिक संरचना र सम्पदालाई उनले आकर्षक मात्रै होइन, त्यसमा थपथाप गरे । मलजल गरे । शासनकालमा स्थिरता कायम गरेका महेन्द्रले दलहरुबाट ठूलो आलोचना खेपेपनि देशको विकासका लागि कुनै कसुर बाँकी राखेनन् ।
तर ऐतिहासिक गणतन्त्रमा प्रधानमन्त्री ओलीले भने जनताले बनाएको चुनेको संसद नै विघटन गरिदिए । जनताको बोल्ने र आफ्नो कुरा राख्ने थलो संसदकै घाटी थिचेर संविधानको मर्ममाथि प्रहार गर्ने ओली इतिहासकै खराब शासकका रुपमा दर्ज भएका छन् ।
यसकारण ओली तुच्छ शासक !
नेपालमा राणाकालको बेला सिंहदरबार बन्यो । ऐतिहासिक सम्पदा बने । मल्लकालिन सम्पदाहरुको संरक्षण रह्यो । त्यसलाई जोगाउने र विकास गर्ने काम राजा महेन्द्रले गरे । महेन्द्रको बेलामा नेपालमा थुप्रै विकास भयो ।
शैक्षिक संस्थाको विकास गरेका राजा महेन्द्रले प्राकृतिक र संघीयताको अभ्यासका रुपमा विकेन्द्रीकरणलाई पनि आत्मसाथ गरे । तर राजा महेन्द्रको तुलनामा धेरै सहज, व्यवस्थित र परिवर्तन भएको शासन व्यवस्थामा प्रधानमन्त्री बनेका ओलीले भ्रष्टाचार मात्रै गरिरहे ।
राजा महेन्दको पालामा नेपालमा विकास भएका संरचना धेरै छन् । तर अहिले ओलीको पालामा नेपालमा कुन संरचना विकास भयो ? कुन अस्पताल बन्यो ? कहाँ विश्वविद्यालय बन्यो ? कहाँ रंगशाला बन्यो ? कहाँ वन क्षेत्रको विकास र संरक्षण भयो ? यसको उत्तर छैन् ।
ओलीले गणतन्त्र र संघीयता कार्यान्वयन गर्ने अवसर पाए । तर उनले भ्रष्टाचार र गुण्डागर्दीको संरक्षण बाहेक अरु केही गरेनन् । सोही कारण पनि ओली इतिहासमै राजा महेन्द्रभन्दा शक्तिशाली भएर पनि तुच्छ शासकका रुपमा गनिएका छन् । जसको हिसाब किताब इतिहासमा सुरक्षित रहनेछ ।