• मंसिर ११ २०८१, मंगलवार

सोती घटनाका हत्यारा लुकाउने जनार्दन शर्मालाई ओलीले कारवाही गर्न सक्लान ?

पुष २० २०७७, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुकुम पश्चिमको सोतीमा जाजरकोटका ६ जना युवाको हत्या गर्नेलाई हदैसम्म कारबाही गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बलुवाटारमा आइतबार अपराह्न भएको मृत्तक युवाका परिवारसँगको भेटमा प्रधानमन्त्री ओलीले दोषीलाई कारबाही गर्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने दाबी गरे ।

गत १० जेठमा अन्तरजातीय बिहेको नाउँमा भएको उक्त घटनामा नवराज विक र उनका पाँच जना साथीको हत्या भएको थियो । उक्त मुद्दा अदालतमा विचाराधीन रहेको छ । हत्यामा संलग्न पक्राउ परेका ३४ जनामध्ये ६ जनालाई अदालतले थुनामुक्त गरेको छ । अन्य ६ जनालाई छोड्ने विषयमा उच्च अदालत सुर्खेतमा मत बाझिएपछि सर्वोच्चसम्म आइपुगेको छ ।

प्रधानमन्त्रीसँगको भेटमा मृतक नवराज विकका बुबा आमा मुनलाल र उर्मिला, लोकेन्द्र सुनारकी आमा लक्ष्मी, टिकाराम नेपालीका बुबा सोभे, गणेश बुढाका बुबा पदमबहादर, गोविन्द शाहीकी आमा भीमकुमारी र सञ्जु विककी आमा सविता उपस्थिति भएका थिए ।

भेटमा मृतकको अभिभावकले अहिलेसम्म अदालतले घाइतेहरुको वयान नलिएकोभन्दै प्रधानमन्त्रीसमक्ष दुखेसो पोखेका थिए ।

सोती घटनाका हत्यारा लुकाउन पूर्व गृहमन्त्री जनार्दन शर्माले भुमिका खेलेको आरोप छ । तर उनी त्यतिबेला प्रधानमन्त्री ओलीकै संरक्षणमा चुपचाप रहे । अहिले दोषी हिराशतमा छन् । केही छुटेका पनि छन् । अब प्रश्न छ, पार्टी फुटेपछि जनार्दनलाई कारवाही गर्न ओलीले सक्लान त ? सबैले यही प्रश्नको उत्तर अब ओलीबाट खोजेका छन् ।