धर्मको नाउँमा चलाईने धन्दाहरु सबैभन्दा सुरक्षित हुन्छन् । किनभने धर्मद्वारा शासित दिमागहरु धर्म भन्ने वित्तिकै प्रश्न गर्दैनन् । त्यही भएर धर्मको खोलभित्र हुने अपराधहरु खुल्लमखुल्ला हुने अपराधहरुभन्दा कैयौं गुणा व्यापक छन् । तपार्ईं सीधा सीधा दुनियाँलाई ठग्न हिड्नुस् त्यहाँ धेरै खतरा र जोखिमहरु छन् । तर धर्मको रामनामी पहिरेर ठग्न हिड्नुस् त्यहाँ सुरक्षा कवचहरु धेरै भेटिनेछन् । पहिलो कुरा त ठगी गर्ने पक्रिने सम्भावना कम हुन्छ । यदि पक्रिहाल्यो भने सुरक्षित हुने सम्भावना बढि हुन्छ । त्यसैले धार्मिक धन्दाहरु यतिखेर पनि निर्वाधरुपमा चलिरहेका छन् । पूँजीवादी धन्दा र धार्मिक धन्दा अलग होइनन् यतिखेर । ती एउटै सिक्काका दुईवटा पाटाजस्तै हुन् । पूँजीवादले नै धर्मको धन्दा चलाइरहेको छ ।
पौराणिक कथाहरु नै यसका साक्षी छन् कि धर्म र ईश्वरको नाउँमा भैसकेपछि सबै कुरा जायज र लिला हुन्छन् । अरुबाट तिनै कर्महरु भएभने कु–कर्म र अपराध हुन्छन् । कु–कर्म एउटै हो तर त्यही भगवानको लागि सम्भोग हुन्छ, अरुका लागि बलात्कार हुन्छ । अरुले गरे हत्या–हिंसा हुन्छ, भगवानले गरे धर्मको रक्षा हुन्छ । अरुले गरे अपमान–दूर्वचन हुन्छ भगवानले गरे वचन हुन्छ । शासकले गरे ती सबै पवित्र, अवर्जनीय, सु–कर्म, लिला र आचरण हुन्छन् । शासितहरुले गरे तिनै अपवित्र, वर्जनीय, कु–कर्म र दूराचार हुन्छन् ।
वर्तमान समयका शसकहरु नै ईश्वरका अर्का रुप अर्थात् अवतार हुन् । राजालई त विष्णुको अवतार मानिएकै हो ।
ब्राम्हणलाई पनि ईश्वरका प्रतिनिधि मान्दै आएको छ धर्मले । जस्तो कि शासकहरुको स्वार्थमा धक्का लाग्ने सबै कामहरु अधर्म हुन्छन् । व्यवस्था विरोधी हुन्छन् । शासन गर्न रचिने सबै काण्डहरु धर्मभित्र पर्छन् । धर्म र अधर्मको यो मानक आजदेखि रचिएको होइन । युगौं पुरानो हो । त्यसैले धर्मको नाउँमा चल्ने धन्दाको रहस्य खोल्दा धर्मका धन्दावालहरु बौलाउने गर्छन् । धर्मको नाउँमा संसारभरिका मानिसबीच विभाजन, हत्या–हिंसा, मारकाट । कसको धर्म श्रेष्ठ भन्ने नाउँमा वैमनष्यता । एउटै धर्मभित्र पनि अनगिन्ति सम्प्रदायहरु । धर्मकै नाउँमा जात विभाजन । घोर लैंगिक उत्पीडन । कोही जन्मजात श्रेष्ठ, कोही जन्मजात तुच्छ ! धर्मकै आवरणमा तमाम प्रकारका व्यभिचारहरुको स्वीकृति ।
व्यभिचारकै कुरा गर्ने हो भने पौराणिक ग्रन्थहरुमा वर्णित कथाहरुमा विष्णुले वृन्दासँग उनको पतिकोरुप धारण गरेर व्यभिचार गरे । इन्द्रले गौतम पत्नी अहिल्यासँग व्यभिचार गरे । देवताहरुले कुमारी अवस्थामा कुन्तीसँग व्यभिचार गरे । विश्वामित्रले मेनकासँग, पराशरले सत्यवतिसँग व्यभिचार गरे । कृष्णलाई त एउटा आदर्श व्यभिचारीको रुपमा हिन्दुहरुले स्थापित गरेका छन् । यसर्थ हिन्दु समाजभित्र व्यभिचारको भावनालाई यसरी वैधानिकता दिने काम धार्मिक आवरणमा गरिएको छ । यो समयमा भैरहेका बलात्कारका घटनाहरु पनि त्यही सनातन व्यभिचारकै निरन्तरता हुन् ।
धर्मका ठेकेदारहरु धर्म मानवताको रक्षाकवच भएको दाबी गर्छन् । तर एकचोटि समाजको इतिहासलाई हेर्ने हो भने धर्म मानवतावरोधी अत्याचार र जोर जुलुमहरुको विरुद्धमा किन उभिँदैन ? शक्ति सम्पन्न देशहरुले अर्को मुलुकमाथि आक्रमण गर्छन् । एउटा–एउटा बहानामा युद्धहरु थोरिहन्छन् । लाखौं जनता र बालबच्चाहरुको जिन्दगी तबाह हुन्छन् । रंग, जाति, वर्ग र लिंगको आधारमा एकथरि मानिसहरुमाथि अत्याचारका कथाहरु लेखिन्छन् । रोग, भोक र अभावले श्रमजीवी मानिसहरु खाली पेट, नांगो शरीर र बिना उपचार मर्न बाध्य छन् ।
किसानहरु, गरीबहरु ऋणको भारले थिचिएर आत्महत्या गर्न बाध्य छन् । यस्तो बेलामा धर्म किन बोल्दैन ?
धर्मको रक्षक ईश्वर कुन दुनियाँमा यस्तो रमिता हेरेर बस्छ ? के यिनै दैनिक घटनाहरु साक्षी छैनन ईश्वर र धर्मको धन्दापछाडिको रहस्य खोल्न ? बिना प्रश्न र तर्कको कमजोर धरातलमा खडा भएको धार्मिक र ईश्वरीय सत्ताले दुनियाँलाई उल्लु बनाएर शोषणकारी सत्ताहरुलाई नै मलजल गर्दै आइरहेको छ ।
धर्म र सत्ताको गठजोड आजदेखिको होइन । धर्म हरेक सत्ताधारीहरुको रक्षाकवच बनेर उभिन्छ ।
आफ्नो सत्ता टिकाउनलाई सत्ताधारीहरुले धर्म र धार्मीक भावनाहरुको प्रयोग गर्छन् । यी दुबै संदेह, तर्क र परिवर्तनहरुका विरुद्ध उभिन्छन् । जहाँ प्रश्न उठ्छ, त्यहाँ यिनीहरुले दमनको अस्त्र चलाउँछन् । यतिखेर पनि धर्मले व्यवस्थालाई प्रयोग गरेको छ भने व्यवस्थाले धर्मलाई प्रयोग गरेको छ । शोषण गर्ने मामिलामा यी दुवैको गठजोड छ । जसरी व्यवस्थाले मानवताको नक्कली नकाब पहिरेर अमानवीयताको खेती गर्छ, त्यसरी नै धर्मले मानव कल्याणको रामनामी बस्त्र पहिरेर शोषण औ अत्याचारलाई मलजल गर्छ ।
विभेद, अवैज्ञानिकता, तर्कहीनताको खेती धर्मको विशेषता हो । जस्तो कि यतिखेर नेपालमा ईशाइकरण बढेको छ । हिन्दुहरुको बीचमा विशेषगरी गरीब, दलित र जनजाति बस्तीहरुमा मानिसहरुलाई उनीहरुले धर्म परिवर्तन गराइरहेका छन् । हिन्दु धर्ममा निहित जातीय विभेद र छुवाछुत पनि उनीहरुको लागि धर्म परिवर्तनका बहाना भएका छन् । तर के यो शोषण–विभेदमा पिल्सिएकाहरुको मुक्तिको बाटो हो ? धर्मान्तरणबाट विभेद, शोषण-उत्पीडनको अन्त्य र मानवीय मुक्ति असम्भव कुरा हो । यो भनेको तावाबाट उम्किएको माछा भूँग्रोमा पर्नुजस्तै हो । आवश्यकता त धार्मिक जञ्जालबाट मुक्त भएर वैज्ञानिक दृष्टिकोणतिरको यात्रा हो । विकल्प हनुमान चालिसा, बाइबल या कुरान जप्नु होइन ।
विज्ञान र सामाजिक न्यायपूर्ण दृष्टिकोणलाई आत्मसात गर्नु नै मावन मुक्तिको सही मार्ग हो । तर ईशाई धर्मका धन्दावालहरुले मानिसहरुलाई भाग्यवादको एउटा खाल्डोबाट निकालेर अर्र्को खाल्डोमा हालिरहेका छन् । आखिर उनीहरुले बाँड्ने भनेको पनि त्यही अन्धविश्वास, अवैज्ञानिकता, सुखी जिन्दगीको नाउँमा मनगढन्ते कथाहरु मात्र हो ।
सम्पूर्ण समस्याहरुको जिम्मा ‘येशु परमेश्वर’लाई सुम्पिदिएर मानिसलाई थप भाग्यवादी र पंगु बनाउँने यो कर्म सर्वथा घृणायोग्य छ ।
त्यसैमा नेपालका हिन्दुवादीहरु रोइलो गाउँछन् कि ईशाइकरण बढ्यो । नेपाली समाजमा हिन्दु लगायत अन्य धर्मको नाउँमा कायम रहेका विकृति या धर्मकै विरोध गर्दा उनीहरुले लगाउँने आरोप एउटै हुन्छ–“यो डलर खाने क्रिश्चयन मिशनरीहरुको काम हो !” यसो भन्नेहरु तिनीहरु हुन् जसले धर्म र संस्कृति, धर्म र विचारधाराको भिन्नतालाई बुझ्दैनन् । जसले सबै धर्महरुको सारतत्व मानिसको विवेकलाई पंगु बनाउँनु हो भन्ने कुरा स्वीकार्दैनन् । जो धर्मको नाउँमा आ–आफ्ना सम्प्रदाय खडा गरेर अन्धयात्रामा सामेल छन् । यसरी हेर्ने हो भने कुनै पनि धर्म साँचो अर्थमा मानवता र मानवीय मुक्तिको पक्षमा उभिएको छैन । हरेकले आ–आफ्ना ईश्वर पुजेर या जपेर मानवीय मुक्ति सम्भव छ भन्छन् । धर्म अत्याचारको साम्राज्य जोगाउने राम्रो अस्त्र हो । यो ठगहरुको ठगी धन्दा चलाउँने गतिलो माध्यम हो ।
यसको ठगी विचित्रको छ । चाहे मानसिक होस् या भौतिक । यतिखेर धर्मका ठेकेदारहरुले धर्म र ईश्वरको औचित्य साबित गर्नको लागि विज्ञानको पनि सहारा लिए झैं गर्छन् । धर्मले स्थापित गरेका हर रुढिवादी, अन्धविश्वासी कर्मकाण्डहरुपछाडि विज्ञान जोडिएका कुतर्कहरुका मनोगत कथाहरु रच्ने गर्छन् । जुन सरासर झूठको खेती हो । हुँदाहुँदा सतिप्रथा वैज्ञानिक थियो, जातीय छुवाछुत वैज्ञानिक छ, लैंगिक विभेद वैज्ञानिक छ भन्ने जस्ता कुराहरु गर्न पछि पर्दैनन् । यहाँ त सीधा सीधा झूठको खेती छ । किनभने विज्ञानको यात्रा त प्रश्न, तथ्य, तर्क, निरीक्षण र अन्वेषणबाट सुरु हुन्छ तर त्यसको अन्त्य कहिल्यै हुँदैन ।
के धर्मले यी कुराहरुलाई स्वीकार्छ ? तथ्य र तर्कहरुले प्रमाणका साथ कुनै पनि कुरालाई औचित्यहीन साबित गरे भने त्यसलाई स्वीकार्छ ? कुनै पनि हालतमा स्वीकार्दैन । यदि स्वकार्छ भने त्यो धर्म नै रहँदैन । किनकि धर्म खडा हुने जग भनेकै आस्था र विश्वास हो । विज्ञानले यी कुराहरुलाई खारेज गर्छ । यदि ग्रहहरुको केन्द्र सूर्य नभएर पृथ्वी हो भन्ने कुरालई विश्वास गरिरहेको भए नयाँ कुरा पत्ता लाग्न सम्भव नै थिएन । त्यसैगरि सूर्यले पृथ्वीको परिक्रमा गर्छ र पृथ्वी चेप्टो छ भन्ने पुरानो मान्यतालाई विश्वास गरिरहेको भए नयाँ कुरा दुनियासामु आउँने थिएन ।
तसर्थ धर्म र विज्ञान विपरित कुरा हुन् । आफ्नो अस्तित्व टिकाइराख्नको लागू धर्मका ठेकेदारहरुलाई विज्ञानको फेर पकड्नु पर्ने बाध्यता मात्र हो । उनीहरु विज्ञानको फेर समातेर विज्ञानकै विरुद्धमा उभिन्छन् । र यो पनि भन्छन् कि विज्ञानको विकास पनि ईश्वरकै कृपा हो । धर्मको निम्ति आजको ईश्वर पूँजीवाद हो किनकि उसले पूँजीको ईसारामा धर्मलाई नचाउँछ र नाफा कमाउँछ । जो कुनै बेला धर्मसँगै जीवन मरणको लडाईं लडेको थियो । मानवजातिको कल्याणको बखान गर्ने धर्मको रवैया कस्तो छ ? “सर्वे भवंतु सुखिनः”को सन्देश दिने धर्म जब नारीहरुलाई ज्यूँदै जलाइन्छ त्यतिखेर कहाँ गएको हुन्छ ? जब गरीबहरु भोकै मर्छन् त्यतिखेर कहाँ जान्छ ? त्यो त उसको नक्कली मुखौटो मात्र हो ।
नारीहरुलाई एकातिर “यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता” भन्ने तर अर्कोतिर “नर्कको द्वार” घोषणा गर्ने ।
पशु, ढोल, गवाँर, शूद्र र नारीहरुलाई समकक्षमा राखेर ताडना दिनुपर्छ भन्ने । एकातिर “ईश्वरको नजरमा समस्त प्राणी समान छन्” भन्ने तर अर्कोतिर मानिसलाई कथित पूर्वजन्मका पापहरुको हकदार बनाउँदै प्रायश्चितका विधि विधानहरुभित्र कैद गरिराख्ने । मानव कल्याण र समानताका नक्कली कुरा गर्र्ने त्यही धर्मले एकथरि मानिसहरुलाई सहस्र मुख भएका पुरुषको पैतालाबाट जन्मिएको घोषणा गर्दै नारकीय जीवन व्यतित गर्न बाध्य बनाउने । यस्तो धर्म अनि ईश्वरको लागि कसरी सबै प्राणी र मानवजातिको समान भयो ? यसरी हेर्दा सबै खाले विभेद, अन्याय, असमानता र शोषणहरुलाई मलजल गदै आएको त धर्मले नै छ । धर्मको वास्तविक अनुहार भनेको यही हो । उसको दृष्टिमा आँखा चिम्लिएर त्यो अमानवीय सत्ताप्रति विश्वास गर्नु धर्म हो ।
त्यसलाई विश्वास नगर्नु अधर्म हो । धर्मलाई स्वीकार नगर्नु अपराध हो । धर्म कति महिलाद्वेषी छ भन्ने कुराका धर्मग्रन्थहरु नै प्रयाप्त साक्षी छन् । ऐतरेय ब्राम्हणमा आफ्नो पतिलाई सन्तुष्ट राख्ने, छोरा जन्माउँने र पतिको आज्ञाकारी भएर बस्ने नारीलाई उत्तम नारीको रुपमा चर्चा गरिएको छ । यसको ठीक विपरित गर्नेलाई अधम नारीको संज्ञा दिइएको छ । ‘शतपथ ब्राम्हण’ मा सुन्दर पत्नीले पतिको प्रेम प्राप्त गर्ने बताइएको छ । तर जो पत्नी सुन्दर छैन ऊ पतिको प्रेमबाट बञ्चित रहने बताइएको छ । ‘वशिष्ट धर्मसूत्र’ मा लेखिएको छ-“पिता रक्षति कौमारे पति रक्षति यौवने । रक्षति स्थविरे पुत्रा, न स्त्री स्वातन्त्र्यमअहर्ति ।”(कुमारी अवस्थामा नारीको रक्षा पिताले गर्छन्, यौवनावस्थामा पति र बृद्धावस्थामा पुत्रले गर्छन् । नारी स्वतन्त्रताको योग्य हुँदैनन् ।) धर्ममा उल्लेखित स्त्री धर्म नै पराधीनताको धर्म हो ।
आफ्नो विरुद्धमा हुनेलाई धर्म र मानवताविरोधी र आफ्नो पक्षमा गरिने हत्या, हिंशा र अमानवीय कर्तुतहरुलाई धर्मरक्षाको लागि भनेर चोखो बन्ने काम धर्मका व्यापारीहरुले गर्दै आएका छन् । धार्मिक र साम्प्रदायिक धृणा र हत्या–हिंसा मानव जातिको इतिहासमा कलंक हुन् । जहाँ धार्मिक दंगाहरु भड्काइन्छ, निर्दोष मानिसहरुको अनाहकमा ज्यान जान्छ र कैयौं घाइते हुन पुग्छन् । सन् १९८४ अक्टोबर ३१ मा शिख अंगरक्षकबाट भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि शिखविरोधी दंगा भड्किएको थियो । जसमा कैयौं सिखहरुको हत्या भएको थियो । कैयन शिखहरु दिल्लीबाट विस्थापित भएका थिए । सन् १९९६ को राम जन्मभूमिस्थित बाबरी मस्जिद भत्काइयो । यसपछाडि देशभरि हिन्दु मुश्लिम दंगाहरु भड्किए । जसमा निर्दोष मानिसहरुको ज्यान गयो । यस्ता हिंस्रक घटनाहरु अनगिन्ती भएका छन् । यस्ता धार्मिक–साम्प्रदायिक दंगाहरुमा सबै धर्मका मानिसहरुको आक्रोशको निशाना सबै धर्मका मानिस बनेका छन् ।
आखिर मानिसहरुको बीचमा विभाजन, घृणा र हत्या हिंशाको खेती गर्ने काम बाहेक धर्मले अरु केहि गरेको छैन ।
धर्म सधैंभरि विज्ञान र वैज्ञानिक चिन्तनविरोधी रहँदै आएको छ । १६औं १७औं शताब्दीमा वैज्ञानिकहरुलाई त्यतिखेरका धार्मिक शासकहरुद्वारा कसरी सताइएको थियो भन्ने कुरा चर्चा आवश्यक छ । विज्ञानका पिता मानिने ग्यालिलियोलाई तत्कालीन पोपको आदेशमा आजीवन काराबासको सजाय दिइएको थियो । अर्का वैज्ञानिक तथा ग्यालिलियोका साथी जोर्डानो ब्रुनोलाई चौराहामा ज्यूँदै जलाइएको थियो । उनीहरुका खोज र आविष्कार त्यतिखेरका धार्मिक शासकहरुको नजरमा बाइबलको विरुद्धमा थिए । त्यतिखेरका वैज्ञानिकहरुको विचार र आविष्कार झूठको खजानाले भरिएको बाइबल र पोपहरुको नजरमा अपराध लाग्नु स्वाभाविक थियो । खगोलशास्त्री तथा दार्शनिक ग्यालिलियोलाई विश्वविद्यालयबाट हटाइएको थियो ।
जब राजनीति पतनको दिशातिर जान्छ त्यसपछि धर्मको बैसाखी लिएर चल्न थाल्छ । आज भारतमा त्यही भइरहेको छ । नेपालमा पनि त्यसकै भद्दा नक्कल गरिँदैैछ । केहि समय अगाडि नेपालका प्रधानमन्त्री केपी वलीकै अगुवाईमा रामजन्मभूमि अयोध्या चितवनको माडीमा भएको हो भन्ने दाबीसहित रामन्दिरको निर्माणको अभियान सुरु गरिनु धार्मिक राजनीतिकै नमूना थियो । कम्युनिष्ट नामधारी प्रतिक्रियावादी शासकहरु जनतालाई उल्लु बनाएर शासन सत्तामा कायम रहिराख्नको लागि कसरी दिउँसै रात पारिरहेका छन् भन्ने कुराको गतिलो दृष्टान्त हो यो ।
समाजमा धार्मिक उन्माद र साम्प्रदायिक वैमनस्यताको आडमा सत्ता हासिल गर्नु उनीहरुको असली उद्देश्य हो । आज धर्मको उपादेयतमाथि झनपछि झन प्रश्न खडा भइरहेको छ । यसकारण कि यसलाई राजनीतिको हतियार बनाइँदैछ । यी सबै कुराहरुबाट प्रष्ट हुन्छ कि धर्मको उद्देश्य मानव कल्याण होइन । बरु मानिसहरुको दिमागमाथि शासन जमाउनु हो । जब यो शासनको विरुद्ध आवाज उठ्छ त्यसपछि यसले जन्मदेखिको बल लगाएर जाइलाग्छ ।
आज धर्मको नाउँमा मठ, मन्दिर, अनुष्ठानहरुमा भैरहेका खर्च र साधन स्रोतहरुमाथिको दुुरुपयोग मात्र हुन्नथ्यो भने त्यो मानवीय हितका अन्य क्षेत्रहरुमा ठूलो योगदान पुग्थ्यो । धर्मको नाउँमा मानिसहरुले पैसासँगै जीवन पनि लुटाइरहेका छन् । बुद्धि विवेक लुटाइरहेका छन् । यहाँसम्म आफू बसेको थातथलो पनि लुटाउन बाध्य छन् । धर्मका धन्दावाजहरुले आश्रम स्थापना र विस्तारको नाउँमा आदिवासीहरुको जमिन हडपेर बेघरबार बनाइरहेका छन् । समाचारमा आए अनुसार कर्पोरेट धार्मिक व्यापारी जग्गि सदगुरुले इशा योगाकेन्द्र स्थापनाको लागि तमिलनाडुको क्वाइम्बटोरमा बस्ने आदिवासीहरुलाई विस्थापित गरेर इशा फाउण्डेशन खडा गरेका छन् ।
आदिवासीहरुले त्यहाँको उच्च न्यायालयमा दर्ज गरेको मुद्धा अहिले पनि विचाराधीन छ । तसर्थ धर्म शोषणको औजारमात्र होइन, शोषणलाई वैधानिकता दिने औजार पनि हो । शोषक–लुटेराहरुले मन्दिर, आश्रमहरुको लागि सहयोग उपलब्ध गराउँछन् । धार्मीक अनुष्ठानहरुमा लाखौं पैसा चढाउँछन् । यसरी उनीहरु जिन्दगीभरि असामाजिक काम गरेर पनि सबैभन्दा बढि ‘सामाजिक’ र ‘धार्मीक’ हुनपुग्छन् ।
नास्तिक हुनुको अर्थ ‘धार्मीक’ हुनुजस्तै होइन । अर्को कुनै मत या सम्प्रदाय खडा गर्नुपनि होइन । जस्तो मानिसहरुलाई लाग्ने गर्छ कि बरु यो त धार्मीक शोषणको जगमा पैदा भएको प्रतिक्रिया हो । यो विवेक र तर्कको पक्षमा उभिनु हो ।
यो श्रमजिवी वर्गको पक्षमा उभिनु पनि हो । जसले उनीहरुलाई भाग्यवादी बनाएर लड्नुपर्ने वास्तविक लडाईंबाट विमुख बनाउँछ । धर्मभन्दा ईश्वरको मान्यता पहिले नै जन्मिसकेको थियो । जुन प्रकृतिमा घट्ने घटनाहरुप्रतिको मानिसको अज्ञानताको परिणाम थियो । तर धर्मले त्यसलाई आफूभित्र समेट्दै प्रचलित सत्ताहरुलाई मजबुत बनाउने अस्त्रको रुपमा प्रयोग गर्दै गयो । धर्मले मानिसको लालच र भयको मनोविज्ञानलाई प्रयोग गर्छ । “धर्म नमान्नुको परिणाम यस्तो हुन्छ । धर्म मानेपछि यो प्राप्त हुन्छ ।” यसले तर्कविहीन मानिसहरुलाई सहजै प्रभावित पार्न सक्छ । तसर्थ नास्तिकता अज्ञानताको खण्डन गर्ने एउटा माध्यम हो । धर्मले अज्ञानता फैलाइरहेको छ, जसको खण्डन जरुरी छ । धर्म भ्रम हो । नास्तिकता वास्तविकता हो ।
ईश्वरलाई संस्थागत र स्थापित गर्ने काम धर्मले नै गरेको हो । त्यसैको परिणाम हो विज्ञानले जुन कुरालाई भ्रम प्रमाणित गरिसकेको छ धार्मिक वचनको नाउँमा मानिसहरु अहिले पनि तिनै भ्रमहरुलाई ‘सत्य’ मानेर पुजिरहेछन् ।
ईश्वरलाई अगाडि सारिसकेपछि त्यसलाई नै ब्रम्हाण्डको चालक शक्ति देखाउँदै मानिसहरुको शोषण गर्न शासकहरुलाई धेरै सजिलो भयो । तर नास्तिकहरुले यही प्रश्न उठाइरहेका छन् कि धर्मले आजसम्म मानव जातिलाई दिएको के हो ? धर्मले दिने यसको जवाफ स्वरुप कुतर्कभन्दा अरु केहि हुँदैन । अज्ञानताले कहिल्यै पनि तर्कको सहारा लिँदैन । भ्रम, कुतर्क, रहस्यमयता र अन्ततः मानिसको विवेकमाथि अंकुश लगाउनु यसको विशेषता हो ।
अतः धर्मको बारेमा हामीले निकाल्न सकिने निश्कर्ष यही हो कि यो जुनसुकै हिसाबले पनि मानवीय मुक्तिको साधन होइन । धार्मीक संसारको केन्द्रमा अज्ञानता र भ्रम छ । विभेद, शोषण र उत्पीडन छ । बेइमानी र अपराधको धन्दा छ । यदि कुनै पनि व्यक्तिले ‘महिला मुक्तिको पक्षधर’ या ‘नारीवादी’ सँगसँगै आफूलाई ‘धार्मीक’ पनि घोषणा गर्छ भने त्यहाँ विरोधाभाष छ । किनभने धर्म न कहिल्यै महिला मुक्तिको अस्त्र थियो न हुन सम्भव छ । जुन धर्म शोषणकारी पितृसत्ताको भयानक अस्त्र हो उसकै फेर समातेर मुक्ति खोज्नु सर्वथा भ्रम मात्र हो ।
धर्मलाई इन्कार गर्ने कुराले वास्तविक रुपमा महिलाहरुलाई मुक्तिको दिशातिर लैजान सक्छ । हजारौं वर्षदेखि महिलाहरुको विश्व दृष्टिकोण निर्माण गर्नमा आधारभूत प्रशिक्षण धर्मले नै गर्दै आएको छ । यदि कुनै पनि दलितले आफूलाई ‘जातीय मुक्तिको पक्षधर’ र धार्मीक पनि सँगसँगै भन्छ त्यो पनि पाखण्ड सिबाय अरु केहि होइन । भारतका दलित आन्दोलनका अगुवा डा.भीमराव अम्बेडकरले यही गल्ती गरेको थिए । उनी जीवनको उत्तरार्धसम्म हिन्दु नै रहे । धर्म परिवर्तन गर्नलाई दलितहरुलाई आव्हान पनि गरे । तर दलित मुक्तिको बाटो धर्म परिवर्तन होइन नस्तिकताको बाटो हो ।
हिन्दु धर्मको कुरा गर्ने हो भने यसले राजा र ब्राम्हणहरुलाई ईश्वरका प्रतिनिधि मानेको छ । उनीहरु र उनका वचनहरुलाई अकाट्य रुपमा स्थापित गर्नुपर्ने आवश्यकता थियो ।
त्यही प्रक्रियामा जन्मिए मनुस्मृति र पुराणकथाहरु । मानसिक शासन कायम गर्न धार्मिक भाष्यहरु निर्माण गरिएका छन् । त्यसैगरि भौतिक शासन कायम गर्न त्यही धर्मलाई शासकहरुले प्रयोग गरेका छन् । सगम्रगमा भन्दा धर्म अज्ञानताको साम्राज्यमा भ्रमको राहत हो । विज्ञानको बाटोमा प्रगतिको तगारो हो । पूँजीवादी बजारमा बिकाउ पसल हो । इतिहासमा शोषण-उत्पीडनको विरोधमा उभिनेहरु, समाज सुधारकहरु, तर्क र समानतामा विश्वास गर्नेहरु, आफूलाई भौतिकवादी र कम्युनिष्ट भन्नेहरुले धार्मीक पाखण्ड र शोषणको विरोध गर्दै आएका छन् । हाम्रो समाजको वर्तमान अवस्था के छ त ? धर्मको मामिलामा अहिले पनि समाजमा तर्क र प्रश्नहरुको कम्जोर स्थान छ । दृष्टिकोण र जीवनशैली दुवै हिसाबले धर्मले शासन गरिरहेको अवस्था छ ।
पहिलेको तुलनामा यसका पेच, किलाहरु अवश्य फुक्लिएका छन्, तर प्रचारात्मक तहमै भए पनि कसैको आन्दोलनको एजेण्डा बनिरहेका अवस्था छैन । यस सम्बन्धमा संगठित प्रयास र आन्दोलनहरु चल्न पनि सकेका छ्रैनन् । धार्मिक सवालमा आफूलाई समाजका सबैभन्दा बढि क्रान्तिकारी दाबी गर्ने ‘कम्युनिष्ट’हरुले देखाउँने व्यवहार पनि विचित्रको छ । उनीहरु विचार परिवर्तन, आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका कुरा गर्छन् ।
तर यसको लागि धर्म कहाँनेर बाधक छ भनेर दीर्घकालीन आन्दोलनकै रुपमा सही आफ्नै संगठनभित्र पनि बहस चलाउँदैनन् । न त समाजमा नै यसलाई बहसको विषय बनाउन जाँगर देखाउँछन् । आफूलाई नास्तिक घोषणा पनि गर्न रुचाउँदैनन् । कसैको हकमा दर्शन र समाजको सम्यक अध्ययनको कमी र दृष्टिकोण विहीनताले काम गरेको छ । कतै घुमाउरो धार्मिक आस्था, भयले काम गरेको छ भने कसैको हकमा भोटको लालचले काम गरेको छ ? यो प्रश्नको बारेमा पनि छलफल चलाउनुपर्ने त्यत्तिकै आवश्यकता छ ।