थबाङ, १८ पुस ।
अघिल्लो वर्ष सात सय २७ विद्यार्थीले वीर बलभद्र नमुना माध्यमिक विद्यालय थबाङमा अध्ययन गरेका थिए । यो वर्ष आठ सय ५० विद्यार्थी पुगेको विद्यलयका प्रधानाध्यापक कुलबहादुर ओलीले जानकारी दिए । उनका अनुसार विद्यार्थीको चाप सोचे भन्दा बढि छ ।
उनी सहायक प्रधानाध्यापक उदय घर्तीसँगै कार्यकक्षमा व्यस्त थिए । अरु विद्यालयबाट आएका विद्यार्थीका कागजातका बारेमा दुवैबिच छलफल चलिरहेको थियो । त्यसैबेला ‘मेरो मसी सकियो सर’ भन्न विद्यार्थी कार्यालयमै पुग्थे । स्टाप कार्यकक्षमा हरेकजसोका कुर्सी अगाडि ल्यापटपका झोला थिए । त्यसले शिक्षकहरु प्रविधिप्रति चासो लिएको बुझाउँथ्यो ।
चार वर्ष अघि ओलीले प्रअ पद सम्हाल्दा पाँच सय ९६ जना विद्यार्थी थिए । उनलाई छ सय भन्दा बढि विद्यार्थी रहेको सुनाइएको थियो । पछि थाहा भयो दरबन्दी थाम्नका लागि विद्यार्थी संख्या बढाइएको रहेछ ।
यतिवेला साविक थबाङ गाविसका सबै बस्तिबाट विद्यार्थीहरु पढ्न आउँछन् । पढाइका लागि अहिलेको थबाङ गाउँपालिकाका धेरै विद्यालयका विद्यार्थी त्यहीँ आएका छन् । पूर्वीरुकुमका गुनाम, महत धरमशाला र लाबाङतिरका विद्यार्थी पनि आउन थालेका छन् । भुमे गाउँपालिकाका वडाअध्यक्षले समेत पढ्नका लागि बच्चा पठाएका छन् । आफ्नै गाउँको विद्यालय छोडेर घण्टौ टाढाको थबाङमा हिँडेरै पुग्छन् उनीहरु ।
उनले प्रअ पद सम्हाल्दा १९ लाख ५० हजार रकम विद्यालयको खातामा थियो । अहिले करीब ८१ लाख अक्षयकोष पुगेको छ । ३ शिक्षक एक कर्मचारी र एकजना कार्यालय सहयोगीले काम गर्दा आवश्यक पर्ने सबै समाग्री उपलब्ध गराउन सक्ने आर्थिक श्रोत प्रशस्तै रहेको वलीले बताए । कक्षा एक सम्मका बालबालिकाहरु गलैँचामा बस्ने व्यवस्था छ । माथिल्लो कक्षामा झोला राख्ने गोजी सहितका डेस्क–बेञ्च छन् । त्यहाँ अन्तका विद्यालयबाट अभिभाक तथा विद्यार्थीहरु अवलोकन गर्न आउँछन् ।
छात्र र छात्राका १२ वटा र दुईवटा स्टाप शौचालय छन् । हात धुनका लागि चार ठाउँमा छुटै बेसिन सहितका धारा राखिएको छ । मार्कर, साबुन लगायत सामग्री किन्न अभाव छैन । विद्यालय आफैले विद्युत उत्पादन गर्न लागेको वलीले जानकारी दिए । पिउने पानीका आठवटा धाराहरु छन् । सजिलोका लागि कक्षाको अगाडिका खम्बामा धारा राखिएको छ । शुद्ध गरेको पानी धारामा आउने व्यवस्था छ । विद्यालय क्षेत्र निकै सफा छ ।
एउटा कक्षामा शिक्षकका हातमा मादल थियो । विद्यार्थी त्यही तालमा स्वर मिलाई मिलाई गाउँदै थिए । केहिले चौरमा परीक्षा गरिरहेका थिए । खेलेको विद्यार्थी र बियाँलिएको शिक्षक देखिएन । नेपालमा विद्यार्थी छिल्लीने, शिक्षकले सूर्तीमिच्ने, स्वीटर बुन्ने, खुट्टा हल्लाउँदै गफिने धेरै विद्यालय छन् ।
तर त्यहाँ भने न शिक्षकलाई फुर्सद थियो, न त विद्यार्थी खेल्न छुट ।
गत २०६५ सालमा पहिलो पटक थबाङमा बोर्डिङ स्कुल खुल्यो । त्यसलाई जित्न नदिनेगरी नेताहरु हौसिए । त्यहाँका अगुवा जयप्रकाश रोका ‘प्रताप’, हितप्रसाद रोका, अजय घर्ती, अमित घर्ती सहित ठूलै समूहले विद्यालयको भविष्यका बारेमा चिन्ता गर्यो । अंग्रेजी माध्यमको पढाई शुरु भयो । उता बोर्डिङमा जस्तै यता विद्यालयमा झन कम खर्चमा पढाउन थालियो । नेता अजयको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति गठन गरियो ।
त्यसबेला निकै संघर्ष गर्नुपरेको प्रअ वली सम्झिन्छन् । बोर्डिङमा केहि शिक्षकहरुको पनि शेयर थियो । बानी बिग्रेका शिक्षकहरुले गलत आनिबानी त्याग्ने अठोट गरे । अल्छी गर्ने, ठग्ने, टार्ने, आफ्नो नीजिकाममा व्यस्त हुने, मेला पर्व तथा अन्य नाममा हराउने जस्ता बैगुन सबैले छोडे । असली शिक्षक बनेर सबैले पढाउन थालेपछि शैक्षिक गुणस्तर ह्रवात्तै बढ्यो ।
अहिले एउटा कक्षामा ६० जनासम्म विद्यार्थी राखेर पढाउनु पर्ने बाध्यता आएको छ । शिक्षकले बोलेर भ्याउन नसक्ने भएपछि कक्षा फोड्ने कि माइकको व्यवस्था गर्ने भन्ने छलफल शुरु भएको प्रअ वलीले बताए । यो विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने गरेको छ । सरकारले नमुना विद्यालय पनि घोषणा गरेको छ ।
शिक्षक पसेको ठाउँमा जान अफ्ठेरो मानेपछि स्टापको अलग शौचालय छ ।
आफूले पटक पटक अनुगमन गरेको प्रअ वलीको भनाई छ । विद्यालय भवनलाई सुन्दर देखाउन तिस भन्दा बढि फूल सहितका गमला छन् । घाँस भैंसी फारममा दिएर मल लिने गरिन्छ ।
हरेक कक्षामा डस्टि विन (फोहर राख्ने भाँडो) छन् । शुक्रवार पढाइपछि फोहर जलाएर नष्ट गरिन्छ । पानी कमहुँदा काठ र ढुंगा लगेर दिसा पुछ्थे तर अहिले पानी प्रशस्तै छ । घरायसी वातावरणले गर्दापनि शौचालय प्रयोग गर्न जानेका छन् । नर्सरीदेखि कक्षा दुई सम्मको शौचालय र धारा अलग बनाउने योजना छ । गाउँपालिकाले बजेट छुट्याएपछि उनीहरुले टङ्चिएर (खुट्टा फटाएर) पानी खाने समस्या हट्ने आशा गरेको वलीले बताए । कतिपय साना बच्चाले धारा खोल्नै नसक्ने अवस्था छ ।
कालिका मावि बुटवलमा गएर शिक्षकहरुलाई आधारभूत तालिम दिइएको प्रअ वलीले जानकारी दिए । कक्षा कोठाको चारैतिर अध्ययन सामग्रीले सजाइएको छ । कक्षा शिक्षक विद्यालय चल्ने अवधिभर त्यहीँ बसेर पढाउँछन् । नर्सरीदेखि दुई कक्षासम्म बच्चाको पूर्ण हेरचाह हुन्छ । सानोमा दुईजना ग्रेड टिचर पनि छन् । छ वटा प्रोजेक्टर र दुईवटा स्मार्ट बोर्ड मार्फत् आधुनिक तरिकाले अध्यापन गराइन्छ ।
३३ जनाले एकैचोटी पढ्न मिल्ने गरि कम्प्यूटर ल्याव (प्रयोगशाला)को व्यवस्था गरिएको छ । यसले पनि विद्यार्थी थपिन मद्धत गरेको छ । राजनीतिमा जस्तै थबाङले शिक्षा प्रदान गर्ने, असल र महान मान्छे उत्पादन गर्ने थलो बनोस् हाम्रोपनि शुभकामना ।
थबाङबाट फर्केपछि ।