नेपालमा कोरोनाको नयाँ संस्करण भित्रिएको आशंकासँगै जनजीवन फेरि त्रासमय हुन पुगेको छ । अहिलेसम्मको संक्रमणका विविध स्वरुपहरु सापेक्षतामा पचाइरहेका नेपालीले अबको संक्रामक स्वरुप पचाउन सक्लान कि नसक्लान भनेर जनस्वास्थ्यविदहरुबाट चिन्ता पनि जाहेर भैरहेका छन् ।
पछिल्लो समयमा बेलायतबाट फैलिएको भनिएको कोरोनाको नयाँ स्वरुप नेपालमा भित्रिएको हो वा होइन भनी शंकास्पद स्वाव विदेशी ल्याबमा परीक्षणका लागि पनि पठाइसकिएको कुरा सार्वजनिक भएको छ । तथापि ढिलो होस् वा चाँडो कोरोनाका नयाँ संस्करण संसारभर फैलने क्रम रोक्न सकिने अवस्था भने छैन ।
यसका लागि केवल रोकथामका नयाँ-नयाँ प्रक्रिया र औषधि तथा स्वास्थ्योपचारका विधिहरु जरुरी छन् । हाल विश्वमा विश्व स्वास्थ्य संगठनद्वारा सिफारिस गरिएका औषधिहरु प्रयोगमा आइसकेका छन् । कोरोना संक्रमित व्यक्तिमा रोग प्रतिरोधात्मक शक्ति ‘इम्युनिटी पावर’ बढाएर रोगबाट निको हुन मद्दत गर्ने यी औपधि समयमै देशमा भित्र्याए जनतामा केही शान्ति र विश्वासको स्वास फेर्ने वातावरण निर्माण हुने थियो ।
कोरोना र यसको नयाँ संस्करणलाई निस्तेज पार्न औषधि निर्माण हुँदै र प्रयोग हुँदै जाँदा यसले पनि झन् थप नयाँ स्वरुपहरु ग्रहण गर्दै गैरहेको छ । यसको पछाडिको कारण भनेको मानवमा हुने विविध प्रकारका अनुवांशिकीय जीन र ती जीनमाथि कोरोनाको संक्रमण र विजय हो । जीनको विविधता अनुसार कोरोनाको संस्करणमा पनि विविधता आउने गरिरहेको छ ।
अध्ययन-अनुसन्धानबाट यो पुष्टि हुन गएको छ कि पछिल्ला चरणहरुमा विकसित हुँदै गरेका कोरोना भाइरसका प्रजाति कुनै पनि मानव समुदायको जीनको प्रकृति अनुसार फरक फरक रहने गरेका छन् । यो प्रकृतिलाई नियाल्दा नेपालमा आएको हुनसक्ने कोरोनाको संस्करण कुन जीनप्रभावी संक्रमण हो सोको जानकारी हुन जरुरी छ । ताकि उक्त भाइरसको प्रकतिअनुसार उपचारको व्यवस्था नेपालमा गर्न सकियोस् ।
विश्वमा भैरहेको महामारी-अध्ययन अनुसार कोरोना भाइरसको म्युटेशन वा नयाँ–नयाँ प्रजातिमा विकास निकै छिटोछिटो हुँदै गैरहेको छ । किनकि विश्वमा रहेको वातावरण परिवर्तन र मानव जीनको विविधता अनुसार कोरोना भाइरसले आफूलाई निरन्तर ‘अपडेट’ गरिरहन्छ । विशेषज्ञ चिकित्सकका अनुसार कोरोना भाइरसले विश्वमा अहिलेसम्म चारहजार पटकभन्दा बढी आफूलाई परिवर्तित गरिसकेको छ ।
नेपालजस्तो देशमा अहिले कोरोना संक्रमितका लागि केवल रेम्डेसिभिरजस्ता मलेरिया नियन्त्रणका लागि बनाइएका पुराना औषधि प्रयोगमा ल्याइएका छन् । यसले नयाँ संक्रमणलाई थेग्नसक्ने पनि देखिँदैन । यसका साथै हाल निर्माण भएका नयाँनयाँ खोपहरु देशमा भित्र्याइनु जरुरी छ ।
त्यसमा पनि नेपालमा भित्रिएको आशंका गरिएको कोरोनाको नयाँ प्रजाति कुन हो, सोको पहिचान जरुरी छ ।
उक्त संस्करणको पहिचानपछि मात्र तदनुरुपको औषधिको प्रकार नेपाल भित्र्याएमा बढी प्रभावकारी हुने देखिन्छ । यसबारेमा सरकारसहित सम्बन्धित पक्षको बेलैमा ध्यान पुगोस् ।