काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्रको पुनःस्थापना र हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताएका छन् । आज राप्रपाले काठमाडौँको शान्तिवाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सबै राजनीतिक दललाई संकटको घडीमा जिम्मेवारी भएर काम गर्न अनुरोध गरे ।
उनले भने,‘यो संकटको घडीमा हामीले जिम्मेवारीबाट काम गर्न सकेनौं भने मुलुकको राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता संकटमा पर्न सक्छ ।’ देश इतिहासकै सर्वाधिक कठिन र संकटपूर्ण घडीमा गुज्रेको भन्दै अध्यक्ष थापाले यस्तो बेलामा राजनीतिक दल र नेतृत्वहरुले जिम्मेवारीपूर्ण ढंगबाट काम गर्न नसके राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता तथा राष्ट्रिय अखण्डता संकटमा पर्ने बताए ।
नेताहरुले जिम्मेवारी निर्वाह गर्न नसके आगामी दिनमा परिस्थिति राजनीतिक दल र नेताहरुको नियन्त्रण बाहिर जानसक्ने प्रारम्भिक संकेत देखिइसकेको पनि अध्यक्ष थापाले बताए ।
थापाले अहिले देशमा अभिभावकको खाँचो रहेको बताए । अध्यक्ष थापाले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको तथा केही राजनीतिक दल र नेताहरुले सर्वसत्तावादी शासन गर्न लागेको बताए ।
राजसंस्था र हिन्दुराष्ट्र राप्रपाको मात्र एजेण्डा नभई आम नेपालीको एजेण्डा बनेकाले जनताको माग र चाहानालाई सम्बोधन नगरे देश द्धन्दमा जानसक्ने अध्यक्ष थापाको भनाई रहेको छ ।
अध्यक्ष थापाले राप्रपा काम नभएर सडकमा घाम ताप्न आएको होइन देश बचाउन, प्रजातन्त्र, राष्ट्रियता बलियो बनाउन तथा आर्थिक समृद्धि ल्याउन राप्रपा सडकमा आएको बताए ।