• चैत्र २० २०८१, बिहीबार

के मिल्न सक्लान् नेकपाका दुई समूह ?

पुष १६ २०७७, बिहीबार

गोलमिडिया टिप्पणी ।  संसद विघटनपछि छिमेकी देश चीनको भ्रमण र उसले ‘नेकपा फेरि एक हुनु पर्छ’ भनी दिएको सन्देशसँगै राजनीतिक वृत्तमा के विभाजित सत्ताधारी नेकपा फेरि एक हुनसक्ला भनी आशंका व्यक्त हुन थालेका छन् ।

विगत हेरयौं भने नेपाली कांग्रेसबाट फुटेका देउवा र एमालेबाट फुटेका वामदेव पुरानै आधिकारिक पार्टीमा फर्किएका नजीर कायम छन् । नेकपा एक हुन नसक्ने संभावना पनि टरिसकेको छैन र एक हुन सक्ने असंभावना पनि नरहेको देखिँदैन । एकले अर्कालाई सकेजति खुइल्याउन थालेको राजनीतिक गतिविधि हेर्दा एक हुनसक्ने संभावना टरेको देखिन्छ । तर पार्टी फुटेको आधिकारिक मान्यता नपाउँदासम्म एक हुन सक्ने संभावना पनि प्रवल रहेको नै देखिन्छ ।

किनकि, तीनतीन वर्षसम्म सांगठनिक रुपमा मोर्चा वा गठबन्धनकै रुपमा रहनसक्ने यी खेमाहरु फेरि पनि नयाँ गठबन्धनमा नआउलान् भन्न सकिने अवस्था छैन । आखिरमा मिल्छन् होला वा फुटेर जान्छन् होला भन्ने आँकलनको नजिक पुग्न हामीले यी दुई खेमाको वर्तमान अवस्थाबारे घोत्लिनु जरुरी छ ।

पहिले मिल्ने संभावनाका कुराहरु नियालौंः

पहिलो कुरा, यी दुई विचारमा भिन्न वा वैचारिक रुपले विभक्त छैनन् । यी दुवैमा विचार माक्र्सवाद-लेनिनवाद-माओविचार नै छ ।

दोस्रो कुरा, यी दुवैको न्यूनतम कार्यक्रम जनताको जनवाद रहेको छ । अधिकतम कार्यक्रम समाजवाद र साम्यवाद नै रहेको छ ।

तेस्रो कुरा, यी दुवै खेमाको सर्वोच्च निकायका रुपमा रहेको पार्टी (एकता) महाधिवेशन सम्पन्न हुन बाँकी छ ।

चौथो कुरा, महाधिवेशनमा पूर्व एमालेको बहुदलीय जनवाद र पूर्व माओवादीको एक्काइसौं शताब्दीको जनवादबारे छलफल हुन बाँकी छ ।

पाँचौ कुरा, महाधिवेशनमा यी दुई भिन्न दस्तावेजमाथि छलफलपश्चात् ‘जनजताको जनवाद’ निर्माण हुन बाँकी छ, केवल पार्टी एकता घोषणाका बखत शब्दावली मात्र संयोजन गरिएको छ ।

छैंठौं कुरा, दुई खेमा विधानतः विभाजित भैसकेका छैनन् । यी दुई खेमाको विधान यी दुवै एक रहँदाको नै छ । यी दुईलाई, अझैसम्म पनि, एउटै पार्टी विधानले जुम्ल्याहा बच्चाबच्चीसरह संरक्षण र निर्देशन गरिरहेको छ ।

सातौं कुरा, यी दुईले एकअर्कालाई बेलाबेलामा सच्चिएर आउन अनुरोध पनि गरिरहेका छन् । यसले नेता, कार्यकर्ता तथा समर्थक र शुभचिन्तकका बीचमा केही दुरीमै भए पनि आत्मीयता कायम गर्न अप्रत्यक्ष सघाउ पुर्याइरहेको छ ।

आठौं  कुरा, यी विभाजित हुँदा इतिहासको विवादलाई लिएर पनि विभाजित भएको देखिँदैनन् । यहाँ कसैले पनि ‘मेरो २०२८ सालको झापा विद्रोह’ वा ‘मेरो २०५२ सालको जनयुद्ध’ भनेर विवाद खडा गरेको पनि देखिँदैन ।

नवौं कुरा, आश्चर्यको कुरा त के छ भने सिंगो हुँदा मिल्न र सँगै बस्न नसकेका यी दुई खेमा विभाजित भएपछि मज्जासँग एकअर्कामा टाँसिएर बसेका छन् । जनतामा भ्रम पनि पैदा भएको छ कि ओली खेमामा पनि पूर्व एमाले र पूूर्व माओवादी नै छन् र प्रचण्ड-माधव खेमामा पनि पूर्वएमाले र पूर्व माओवादी नै छन् ।

यस्तो आश्चर्यको विषयलाई नियाल्दा यी दुई खेमा सँगै पनि त हुन सक्थे ! तर किन हुन सकेनन् । यी कुरा सबै बेमेल र विभाजनका कारक बनेका छन् । सामान्यतः सबैले महसुस गरेको कुरा भनेको यी दुई खेमाबीचमा लामो समयदेखि खिचातानी, अविश्वास, संश्रय र संघर्ष चल्दै आएको छ ।
त्यो पूर्वएमालेभित्र नेता केपी ओली, माधव नेपाल र झलनाथका बीचमा चलिरहेको थियो । पूर्व माओवादीमा प्रचण्ड, बादल आदिका बीचमा थियो । त्यो आज आएर दुई खेमामा अभिव्यक्त भएको छ । हेर्दा यो पार्टीभित्रको आन्तरिक अन्तरविरोध नै थियो ।

त्यो आन्तरिक अन्तरविरोध पार्टी थोत्रोहुँदै जानु, नेतामा नैतिक-वैचारिक स्खलन आउनु, स्वाभिमानमा आँच आउँदै जानु र वैदेशिक हस्तक्षेप बढ्दै जानुका कारण बाह्य तथा वैदेशिक अन्तरविरोधसँग जोडिन पुगेको छ । त्यसैले राजनीतिक वृत्तमा चर्चा पनि छ, चीनले भनेपछि मिल्छन् कि त ! तर यसका पछाडि अमेरिकी रणनीतिक क्यालेण्डर पछ्याइरहेका ओली खेमा र भारतीय रणनीतिक क्यालेण्डर पछ्याइरहेका प्रचण्ड-माधव खेमा एक ठाउँमा आउनसक्नु नवौं आश्चर्यको कुरा हुने राजनीतिक विश्लेषकहरुको आँकलन छ ।

यो बेलामा नेपाली राजनीतिमा चिनियाँ पकड निकै कमजोर छ । चीन र नेपाल बीचको जीटुजी (दुई सरकारबीचको) दुईदेशीय सम्बन्ध बाहेक अन्य कुनै संस्थागत सम्बन्ध वा पकड न्यून छ ।
तर अमेरिकी र भारतीय पकड भने निकै प्रवल रहेको छ । खुला कुरा गर्ने हो भने प्रचण्डको पार्टी नेकपा (माओवादी केन्द्र) नेपाली कांग्रेससँग नङ र मासुको सम्बन्ध बनाएर स्थानीय निर्वाचनमा गएका बेला संघीय तथा प्रादेशिक निर्वाचनमा कांग्रेससँग सम्बन्ध टुटाएर एमाले तथा माओवादी केन्द्रको गठबन्धन जुन वैदेशिक शक्तिले बनाइदियो, त्यसैले अहिले दुईतिहाई मतप्राप्त नेकपालाई सहजै च्याति दियो ।

नेकपा सिसा फुटे झैं होइन, कपडा च्यातिए झैं च्यातिएको छ । यसलाई कुनै बाह्य शक्तिले लाज छोप्ने बस्त्र बनाउनका लागि सिलाएछ भने यो फेरि पनि काम चलाउ धागोले सिलाइन सक्ने संभावनालाई नकार्न सकिने ठाउँ छैन ।

यसको आन्तरिक र वस्तुगत आधार भनेको यी दुईका बीचमा वैचारिक, सांगठनिक, नीति, विधि र कार्यक्रमिक भिन्नता छैन । बाह्य शक्तिका हिसाबले अमेरिकी र भारतीय शक्ति समान रेखामा एकआपसमा छन् ।

मात्र फरक पार्ने र पारिने कुरा एउटै छ, त्यो हो, नेपालको माइक्रो म्यानेजमेन्ट वा सरकार निर्माणमा अमेरिका हाबी रहने कि भारत ? यसको फैसला हुन केही महिना मात्र लाग्ने विश्लेषकहरुको दाबी छ । शायद विभाजित खेमाहरुबाटै आइरहेको बैसाख (चुनावी बैसाख वा सरकार परिवर्तनको बैसाख ?) नै यसको केन्द्रविन्दु हुनसक्छ । यसपछिको समय सरकार परिवर्तनको वा संकटकालको बैसाख हुनेमा धेरैको आशंका एक ठाउँमा रहेको पाइएको छ ।