• चैत्र १९ २०८१, बुधबार

असंवैधानिक कदम सच्चाउनै पर्छः विवेकशील साझापार्टी

पुष १५ २०७७, बुधबार

विवेकशील साझापार्टीले आज काठमाडौँको वसन्तपुरमा विरोध कार्यक्रम गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यस कदमको विरुद्ध सो पार्टीले आज काठमाडौँको वसन्तपुरमा विरोध कार्यक्रम गरेको हो ।

सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्र लगायतले सम्बोधन गरेका थिए । सभामा बोल्ने वक्ताहरुले केपी ओलीले सदन भंग गरेर निरकुंश कदम चालेको आरोप लगाएका थिए । अध्यक्ष मिश्रले ओलीले चालेको असंवैधानिक कदम तत्काल सच्चिनुपर्नेमा जोड दिए ।

अर्का वक्ता रञ्जु शर्माले ओलीको कदमले प्रतिगमनतिर देशलाई लैजाने भएकाले उनका विरुद्ध आन्दोलन चर्काउनु पर्नेमा जोड दिइन् । कार्यक्रममा कलाकारहरुले ओली सरकारले गरेका नराम्रा कामलाई समेटेर व्यङ्य नाटक पनि प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको स्वीकृतिमा चालेको कदम विरुद्ध भर्खरै विभाजित भएको प्रचण्ड (नेपाल समूह), जनता समाजवादी पार्टी लगायतले पनि देशमा विरोध प्रदर्शन गरिरहेका छन् । हिजो मात्र नेकपा (दाहाल-नेपाल) समूहले काठमाडौँमा सभा गरेर प्रम ओलीले चालेको सो कदमको विरोध गरेका थिए ।