• मंसिर ११ २०८१, मंगलवार

ल्होसार एक, तिथिमिति किन अनेक ?

पुष १५ २०७७, बुधबार

नेपालको सन्दर्भमा ल्होसार (तमू ल्होछार) मान्ने परम्परा अलगअलग भएको हुँदा ल्होसार पर्व पनि अलगअलग मितिमै मनाइने गरिन्छ । त्यसले गर्दा ल्हो फेर्ने मितिमा पनि एकरूपता देखिँदैन । हाम्रो मुलुक विश्वमा संस्कृतिको अथाह भण्डार रहेको छ । राष्ट्रको संस्कृतिको भण्डारलाई पूर्णता दिने स्रोत ल्होसार जस्ता प्रभावशाली पर्वले साँस्कृतिक महिमा निर्वाह गरिरहेको देखिन्छ । ल्होसार वा ल्होछार, वर्ष, साल वा संवत् फेरिनु अर्थात् ल्हो भनेको वर्ष तथा छार भनेको नयाँ अर्थात् नयाँ वर्षको पहिलो दिन हो ।

नेपालका गुरुङ, तामाङ, शेर्पा तथा डोल्पाली, ह्योल्मो, लोमी, लामाभोटे आदिले महोत्सवसाथ मनाउने अत्यन्त प्रिय पर्व हो यो । नेपालका पहाडी–हिमाली धेरै समुदायको आ–आफ्नो जातीय परिचयको पर्व भए पनि केही वर्ष अगाडिदेखि भने नेपाल सरकारले राष्ट्रिय पर्वकारूपमा सम्मान दिई विविध कार्यक्रमसाथ सम्पन्न हुँदै आज विश्वव्यापी भइरहेको तीन समुदाय गुरुङ, तामाङ र शेर्पाका अग्रणी स्थानमा रहेका परम्परागत अस्तित्वका पुरातन पर्व हुन् क्रमशः तोला, सोनाम र ग्याल्पो ल्होसार हुन ।

अतः ल्होसार परम्परा कहिलेदेखि सुरु भयो भन्ने बारेमा फरकफरक भनाइहरू पाइन्छन् । यो परम्परा संसारकै अनेक परम्परामध्ये सबैभन्दा पुरानो या जेठो परम्परा मानिन्छ । यो चन्द्रपात्रोमा आधारित परम्परा हो । चीनमा चन्द्रपात्रो परम्परा २,६३७ ईस्वीपूर्व अर्थात् आजभन्दा ४,६५६ वर्ष पहिलेदेखि चलेको भनिन्छ, जुनबेला चीनको सम्राट ह्वान चीले आफ्नो शासनकालको ६१औं वर्षमा ‘प्रथम चक्र’ सुरुवात गरेको चिनियाँ इतिहासमा पढ्न पाइन्छ । मूलतः ल्होसार परम्परा चन्द्रपात्रोमा आधारित छ अथवा चन्द्रमाको गतिको आधारमा समय गणना गरी यो पात्रो बनाइएको हुन्छ ।

विक्रम संवतमा ३६५ दिनलाई एक वर्ष मानिन्छ भने ल्होसार परम्परामा आधारित पात्रोमा ३५४ दिनलाई एक वर्ष मानिन्छ । यसलाई चन्द्रवर्ष (लुनार इयर) भनिन्छ । यस हिसाबले सौर्य वर्षको तुलनामा चन्द्रवर्षमा एक वर्षमा ११ दिन कम हुन्छ । सौर्यपात्रोको तुलनामा चन्द्रपात्रोलाई पुरानो मानिन्छ । हाम्रो देशभित्र विभिन्न आदिवासी जनजाति समुदायले यो पर्व मनाउँदै आएका छन् ।

देशमा ल्होसार मनाउने सबैभन्दा ठूलो समुदाय तामाङ हो । त्यसपछि गुरुङ, शेर्पा, सिङसा, ल्होमी, ह्योल्मो, दुरा, लेप्चा, थकाली समुदायले पनि ल्होसारलाई पौराणिक सांस्कृतिक पर्वका रूपमा धुमधामले मनाउने गर्छन् ।

यसबाट ल्होसार परम्परा विभिन्न हिमाली समुदायबीच अत्यन्तै लोकप्रिय पर्व बनेको बुझ्न सकिन्छ । एकभन्दा बढी समुदायले ल्होसार मनाउने गरे पनि उनीहरूले एकै समय र दिनमा ल्होसार मनाउने गरेको पाइँदैन । संसारमै सम्पदा-संस्कृतिमा नेपालको अग्रणी स्थान रहेको सन्देह रहन्न । मूर्त तथा अमूर्त संस्कृतिको अथाह भण्डार नै हो नेपाल । राष्ट्रमा वर्षभरिका धेरै दिन कुनै न कुनै जातजातिहरुको साँस्कृतिक मान्यता वा पर्व-उत्सवले रंगिएका र खुसी–उमंगले भरिएका देखिन्छन् । नेपाली संस्कृतिलाई निरन्तरता दिई जीवन्त राख्न अभिप्रेरणा दिइरहने पनि हाम्रा चाडपर्व नै हुन् । विश्व मानचित्रमा नेपाल चाडपर्वको घर नै भनी सम्बोधन हुनु हाम्रा लागि गर्वको विषय पनि हो ।

यसमा विभिन्न १२ वटा पशुपन्छीको नाममा ल्हो या वर्ष गणना गरिने प्रचलन हुन्छ । हरेक वर्ष एउटा जीवको नाममा ल्होको सम्बोधन गर्ने गरिन्छ । जीवा (मुसा) लाई पहिलो वर्ष मानिन्छ भने अन्तिममा रहेको फाग (बँदेल) लाई १२औं वर्ष मानिन्छ । ती १२ जीवजन्तुहरूमा जीवा (मुसा), लाङ (गोरु), ताग (बाघ), ह्योअी (खरायो), डुक (गरुड), डुल (सर्प), ल्हुक (भेडा), ता (घोडा), टे (बाँदर), ज्या (चरा), खी (कुकुर) र फाग (बँदेल) हुन् । चन्द्र पात्रोअनुसार हरेक वर्ष एउटा जीवजन्तुको नाममा ल्हो या वर्षको नाम रहन्छ ।

१२ वर्षको चक्र पूरा भएपछि फेरि सुरुकै ल्हो (वर्ष) दोहोरिन्छ । त्यस्ता १२ ल्होलाई एउटा चक्रमा राखिएको हुन्छ । त्यसलाई ल्होखोर (वर्ष चक्र) भनिन्छ । ल्होसार कुनै एउटा देशमा मात्रै मनाइने पर्व होइन । नेपालका हिमाली र पहाडी भेगमा बसोबास गर्नेले मात्रै नभएर एसियाका झन्डै दुई अर्ब जनताको साझा पर्व बनिसकेको छ । यो मंगोल मूलका विभिन्न देशमा मनाइने गरिन्छ ।

मंगोलिया, चीन, लाओस, थाइल्यान्ड, सिंगापुर, तिब्बत, भियतनाम, ताइवान, मलेसिया, भुटान, फिलिपिन्स, कोरिया, बर्मा, इन्डोनेसिया, हङकङ, भारतको उत्तरी तथा पूर्वी राज्यहरू (दार्जिलिङ, सिक्किम, अरुणाञ्चल, हिमाञ्चल, लद्धाखलगायतका ठाउँमा व्यापकरूपमा मनाइने गरिन्छ । चिनियाँहरूले यसलाई वसन्त उत्सवका रूपमा मनाउँछन् । एसियाका अन्य मंगोल मूलका देशमा पनि धुमधामले ल्होसार मनाइन्छ । अतः ल्होसार संसारकै समस्त मंगोल समुदायको साझा पर्वका रूपमा स्थापित भइसकेको पाइन्छ ।

समग्रमा भन्नुपर्दा ल्होसार (लोसार)को शाब्दिक अर्थ नयाँ वर्ष या नयाँ साल भए पनि यो सांस्कृतिक पर्व पनि हो । पौराणिक कालमा मानवजातिले जीवन निर्वाह गर्ने क्रममा स्थापित गरेको परम्परा हो । यो परम्परालाई थप व्यवस्थित र परिष्कृत गर्ने क्रममा धार्मिक पद्धतिसँग यसको सम्बन्ध जोडिन पुगेको देखिन्छ । अहिले बुद्धधर्मसँग यसको अन्योन्याश्रित सम्बन्ध देखिए पनि बुद्धधर्मको विकासभन्दा अगाडिदेखि नै ल्होसार संस्कृति अस्तित्वमा रहेको दाबी गरिन्छ ।

चिनिया सभ्यता निर्माणको क्रममा (इपू २१००-१६००) स्हीया राजवंशको शासन कालमै सुरु भएको विश्वास गरिएको यो चन्द्रमास पात्रोमा आधारित नयाँ वर्षको परम्परा संसारकै सांस्कृतिक परम्परामध्ये जेठो परम्परा मानिन्छ ।

यो धार्मिक आस्थासँग गाँसेर आएको ज्योतिष मतमा आधारित धर्म मिसिएको सांस्कृतिक चाड हो । ल्होसार परम्परा मान्ने समुदायमा ल्होसारकै आधारमा मान्छेको वर्ष या उमेर गणना गर्ने गरिन्छ । पौराणिक कालमा अहिलेको जस्तो समय सूचक विभिन्न वस्तुको विकास भएको थिएन । अहिले गणितीय संवतको आधारमा मिति तोकिन्छ । जस्तो वि.सं. २०७७, सन् २०२०, नेपाल संवत् ११४१ आदि । ययसर्थ ल्होसार मुलुकमा विभिन्न जाति र समुदायले मनाउँदै आएको पर्व हो ।

यस पर्वले आफ्नै किसिमको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक महत्व बोकेको छ । तर ल्होसार मान्ने जाति र समुदायमा भने एकरूपता नभई फरक–फरक समय र नामले ल्होसार पर्व मनाउँदै आएका छन् । यसको साथसाथै सांस्कृतिक रूपमा विभिन्न शुभअशुभ कार्यहरू जस्तै: विवाह, छेवार, पुटपुटे, अर्घौ आदि जन्मदेखि मृत्यसम्मका सबै संस्कार र कार्यहरू गर्नका लागि यसै ल्हो (वर्ष) लाई नै आधार मानेर गरिएको हुन्छ । त्यसैले ल्होसार पर्व गुरुङ जातिको सामाजिक, सांस्कृतिक, आर्थिक र धार्मिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व हो ।

त्यसैले गुरुङ समुदायमा तमु ल्होसार पव महत्वपूर्ण रहेको छ । यसरी हिजोआज ल्होसार पर्व मौलिक रूप हराउँदै गएको छ । पश्चिमा संस्कृतिको प्रभावले भविष्यमा यो संस्कृति नै धरापमा पर्ने हो कि भन्ने आम चिन्ता छ । त्यसैले गुरुङ समदायको सामाजिक, सांस्कृतिक, आर्थिक र धार्मिकरूपले प्रतिनिधित्व गर्ने यस पर्वलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवा पुस्ताको काँधमा आएको छ ।